माध्यमिक शिक्षा परीक्षाको नतिजा सम्बन्धी केही भौगोलिक चित्रहरू

काठमाडौँ /१४ साउन – सार्वजनिक परीक्षामा उत्तीर्ण प्रतिशत बृद्धि हुने सैद्धान्तिक आधार : विद्यालय तहको सार्वजनिक परीक्षाको नतिजामा विद्यार्थी सम्बन्धित तत्वहरू (पढाईलाई दिने समय, पढाईप्रति उत्प्रेरणा, साथीहरू सँगको छलफल, स्वास्थ्य,आदि); विद्यार्थीको घरायसी वातावरण सम्बन्धित तत्वहरू (परिवारको आर्थिक अवस्था, बालबालिकाको अध्ययनमा सहयोग, घरमा पढ्ने वातावरण,आदि); विद्यालयसँग सम्बन्धित तत्वहरू (शिक्षकको व्यवस्था, विद्यालय प्रशासन, अतिरिक्त कक्षा, शैक्षिक सामग्री, शिक्षण–सिकाई विधि,आदि); देशकै शिक्षा प्रणाली सम्बन्धित तत्वहरू (पाठ्यक्रम, अनुगमन, परीक्षा प्रणाली, आदि)ले प्रत्यक्ष रूपमा असर पारेको हुन्छ ।

यी तत्वहरूले पार्ने असरको कारण सार्वजनिक परीक्षाको नतिजामा परिवर्तन आउँछ । यी तत्वहरूको सकारात्मक असर जति बढी हुन्छ त्यति नै सार्वजनिक परीक्षामा विद्यार्थीहरूको उत्तीर्ण प्रतिशत बृद्धि हुन्छ ।

यी तत्वहरूले पार्ने असरको कारण सार्वजनिक परीक्षाको नतिजामा परिवर्तन आउँछ । यी तत्वहरूको सकारात्मक असर जति बढी हुन्छ त्यति नै सार्वजनिक परीक्षामा विद्यार्थीहरूको उत्तीर्ण प्रतिशत बृद्धि हुन्छ । त्यसैले सार्वजनिक परीक्षाको नतिजाको उत्तीर्ण प्रतिशत कहिले कम र कहिले बढी आउँछ । तर मूल्याङ्कनको सिद्धान्त अनुसार यथास्थितिमा एक वर्ष र अर्को वर्षको सार्वजनिक परीक्षामा विद्यार्थीहरूको उत्तीर्ण प्रतिशतमा बढी भिन्नता आउँदैन भने उक्त दुई वर्षको नतिजा बराबर पनि हुँदैन । तर माथि उल्लेखित तत्वहरूको प्रभाव उल्लेखनीय रूपमा बढी भएको खण्डमा नतिजाको मात्रामा आउने बृद्धि नियमित रूपमा आउने नतिजाको तुलनामा असामान्य तथा अपत्यारिलो लाग्न सक्छ । यस प्रकारकोे असामान्य बृद्धिबारे अध्ययन– अनुसन्धान हुनु भने जरुरी छ । किनकी यस प्रकारको अध्ययन–अनुसन्धानबाट सार्वजनिक परीक्षामा विद्यार्थीहरूको उत्तीर्ण प्रतिशत बृद्धि हुनमा प्रभाव पार्ने लगानी तथा प्रक्रिया पहिचान भई सो लगानी तथा प्रक्रियालाई निरन्तरता दिन सकिन्छ र अन्य स्थानमा पनि यसलाई हुबहु लागु गर्न सकिन्छ ।


नेपालमा एसएलसी परीक्षाको नतिजाको स्थिति


नेपालमा परीक्षा नियन्त्रण कार्यालय सन् १९३४ मा स्थापना भई सोही वर्षदेखि एससलसी परीक्षा सञ्चालन हुँदै आएको छ । उक्त परीक्षाको हरेक वर्षका नतिजाहरूलाई हेर्दा कुनै समयावधिमा कुनै वर्ष विद्यार्थीको उत्तीर्ण प्रतिशत अघिल्लो वर्षको तुलनामा अलिकति बढी आएको देखिन्छ भने अर्को वर्ष केही प्रतिशतले तल झरेको पाइन्छ । तर कुनै कुनै समयावधिमा उत्तीर्ण प्रतिशत अघिल्लो वर्षको तुलनामा ह्वातै बढेको र कुनै बेला ह्वातै घटेको पनि पाइएको छ । उदाहरणको लागि वि.सं. २०५९ को परीक्षामा उत्तीर्ण प्रतिशत ३२ थियो भने सो अङ्कमा १४ प्रतिशत बृद्धि भई वि.सं. २०६० को परीक्षामा उत्तीर्ण प्रतिशत ४६ पुगेको थियो । त्यस्तै २०६४ को परीक्षामा उत्तीर्ण प्रतिशत ५५ रहेकोमा २०६५ मा ६८.४७ प्रतिशत पुगेको थियो । एकै वर्षमा उत्तीर्ण प्रतिशत १३.४७ प्रतिशतले बृद्धि भएको थियो । यसको ठिक उल्टो एसएलसीमा पहिलो वर्षको तुलनामा दोस्रो वर्ष विद्यार्थीहरूको उत्तीर्ण प्रतिशतमा एकै पटक घटेको स्थिति पनि छ । उदाहरणको लागि वि.सं. २०६६ सालमा एसएलसी परीक्षामा ७२.०३ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएकोमा २०६७ सालमा उक्त प्रतिशत झरेर ५५.५ प्रतिशतमा पुगेको थियो । यसरी विगतका वर्षहरूमा एसएलसी परीक्षामा विद्यार्थीहरूको उत्तीर्ण प्रतिशतको अङ्कमा धेरै उतार चढाव आएको छ, तर यसबारे अध्ययन–अनुसन्धान भने गरेको देखिँदैन ।


वि.सं. २०८२ सालको एसईईको नतिजाको केही चित्रहरू


यस वर्षको एसईईमा राष्ट्रिय तहमा विद्यार्थी उत्तीर्ण प्रतिशत गत वर्षको तुलनामा १४ प्रतिशतले बृद्धि भई ६१.८१ प्रतिशत पुगेको छ । मुलुकको ७ वटा प्रदेशहरू मध्ये ३ वटा प्रदेशहरू जस्तो कोशी, बागमती, र गण्डकी प्रदेशको उत्तीर्ण प्रतिशत राष्ट्रिय उत्तीर्ण प्रतिशत (६१.८१) भन्दा बढी आएको छ भने लुम्बिनी प्रदेशको उत्तीर्ण प्रतिशत राष्ट्रिय तहको उत्तीर्ण प्रतिशत बराबर नै आएको छ । बाँकी ३ वटा प्रदेशहरू जस्तै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको उत्तीर्ण प्रतिशत राष्ट्रिय तहको प्रतिशत भन्दा कम आएको छ । सबभन्दा बढी उत्तीर्ण प्रतिशत (७८.६३) बाग्मती प्रदेशका रहेको छ भने सबै भन्दा कम प्रतिशत (४१.६६) सुदूरपश्चिम प्रदेशको आएको छ । त्यस्तै प्रदेशगत रूपमा यस वर्षको नतिजालाई गत वर्षको नतिजासँग तुलना गर्दा मधेस प्रदेश एउटालाई छोडेर सबै प्रदेशको उत्तीर्ण प्रतिशत गत वर्षको तुलनामा बढी आएको छ । मधेस प्रदेशको उत्तीर्ण प्रतिशत गत वर्ष ४६.७४ प्रतिशत आएको थियो भने यस वर्षको उत्तीर्ण प्रतिशत ४६.० प्रतिशत रहेको छ ।


मुलुकको ७७ वटा जिल्लाहरू मध्ये सबै भन्दा बढी उत्तीर्ण प्रतिशत (९३.६३) सोलुखुम्बु जिल्लाको रहेको छ भने सब भन्दा कम (२२.३८ प्रतिशत) दैलेख जिल्लाको रहेको छ । ७७ जिल्लाहरू मध्ये ३४ जिल्लाहरूको उत्तीर्ण प्रतिशत राष्ट्रिय उत्तीर्ण प्रतिशत (६१.८१) भन्दा बढी आएको छ भने बाँकी जिल्लाहरूको उत्तीर्ण प्रतिशत राष्ट्रिय उत्तीर्ण प्रतिशत भन्दा कम आएको छ । त्यस्तै जिल्लागत रूपमा अधिकांश (७० वटा) जिल्लाहरूको यस वर्षको एसईईको उत्तीर्ण प्रतिशत गत वर्षको उत्तीर्ण प्रतिशत तुलनामा बढी आएको छ । ६ वटा जिल्लाहरू (सप्तरी, सिराहा, महोत्तरी, पर्सा, डोल्पा र बझाङ )को उत्तीर्ण प्रतिशत कम रहेको छ । रौतहट जिल्लाको गत वर्ष र यस वर्षको उत्तीर्ण प्रतिशत करिब बराबर रहेको छ ।


मुलुकभरको ७ सय ५३ वटा पालिकाहरू मध्ये डोल्पा जिल्लाको से–फोक्सुन्डो गाउँपालिका, मनाङ जिल्लाको नेसाङ गाउँपालिका, ओखलढुङ्गा जिल्लाको मोदी गाउँपालिकाको उत्तीर्ण प्रतिशत शत प्रतिशत रहेको छ भने सब भन्दा कम (५.६८ प्रतिशत) बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको रहेको छ । ७ सय ५३ पालिकाहरू मध्ये ५ सय ९० पालिकाहरूको उत्तीर्ण प्रतिशत राष्ट्रिय उत्तीर्ण प्रतिशत भन्दा बढी आएको छ । यसैगरी १ सय ६३ पालिकाहरूको उत्तीर्ण प्रतिशत राष्ट्रिय उत्तीर्ण प्रतिशत भन्दा कम आएको छ । ७ सय ५३ वटा पालिकाहरू मध्ये ११ पालिकाहरूको विद्यार्थी उत्तीर्ण सङ्ख्या १० प्रतिशत भन्दा कम र ५१ वटा पालिकाहरूको उत्तीर्ण प्रतिशत २० प्रतिशत भन्दा कम रहेको छ ।


राष्ट्रिय परीक्षा बोर्डले तत्काल गर्नुपर्ने कार्यहरू


१) यस वर्षको एसईईको नतिजालाई जिल्लागत, पालिकागत, विद्यालयगत तथा विषयगत रूपमा विश्लेषण गर्नुपर्छ ।


२) गत वर्षमा एसईईमा गणित विषयमा धेरै विद्यार्थीहरू अनुत्तीर्ण भएको कारणले राष्ट्रिय तहमा उत्तीर्ण प्रतिशत कम आएको थियो । यस वर्षको नतिजामा पनि गणित विषयकै कारण विद्यार्थीहरू अनुत्तीर्ण भएका छन् भने गणित विषयको प्रश्न, उत्तर कुञ्जिका तथा अङ्कन योजना विश्लेषण गरी सुधार गर्नुपर्ने क्षेत्रहरू पहिचान गर्नु जरुरी छ र सो आधारमा आगामी वर्षहरूमा ती कमजोरीहरूलाई ध्यानमा राखेर प्रश्नपत्र, उत्तर कुञ्जिका तथा अङ्कन योजना तयार गर्न लगाउनु पर्छ । यही कार्य अन्य विषयहरूमा पनि लागु हुन्छ ।


३) उत्तीर्ण प्रतिशत ज्यादै न्यून आएका पालिकाहरूका जनप्रतिनिधि प्रमुख तथा उपप्रमुख र शिक्षा एकाइका प्रमुखहरूको लागि सम्बन्धित प्रदेशमा छलफल कार्यक्रम आयोजना गर्नु पर्दछ । सो कार्यक्रममा सम्बन्धित पालिकाको विद्यालयगत तथा विषयगत नतिजा विश्लेषण गराउने र आगामी वर्षमा नतिजा सुधार गर्ने उपायहरूबारे छलफल गराई योजना तथा कार्यक्रम निर्माण गर्न लगाउनु पर्छ ।


४) धेरै विद्यार्थी अनुत्तीर्ण भएको विषयमा नमुनाका लागि केही विद्यार्थीहरूको उत्तर पुस्तिकाहरू छनोट गरी ती विद्यार्थीहरूले हरेक प्रश्नमा प्राप्त गरेको अङ्कको आधारमा कठिन पाठ्यवस्तु पहिचान गर्नु अनिवार्य छ । पाठ्यक्रम विकास केन्द्रलाई ती कठिन पाठ्यवस्तुहरू बारे जानकारी दिनुपर्छ । त्यस्तै ती पाठ्यवस्तुहरूकोे लागि अध्ययन सामग्री तयार गरी अनलाइनमा कक्षा सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुपर्छ ।


५) कक्षा १२ मा जस्तै प्रश्नपत्र निर्माण कर्ताहरूको लागि प्रश्नपत्र, उत्तर कुञ्जिका तथा अङ्कन योजना सम्बन्धी प्रयोगात्मक तालिमहरू हरेक प्रदेशमा सञ्चालन गर्नुपर्दछ ।


६) उत्तर पुस्तिका परीक्षकहरूलाई उत्तर पुस्तिका परीक्षण सम्बन्धी आवश्यक सीपहरू प्रदान गर्न हरेक प्रदेशमा प्रशिक्षक तालिम सञ्चालन गर्ने र ती प्रशिक्षकहरूले हरेक जिल्लाका आवश्यक स्थानहरूमा उत्तर पुस्तिका परीक्षण तालिम सञ्चालन गर्नु पर्दछ ।


७) हरेक प्रदेशमा उत्तर पुस्तिका परीक्षण र सम्परीक्षण कार्यलाई सँगसँगै गराउने जसले गर्दा कुनै परीक्षकको उत्तर पुस्तिका परीक्षणमा गल्ती भए समयमा नै सुधार गर्न सकिन्छ ।


८) नतिजा विश्लेषणले औँल्याएको क्षेत्रहरूमा अनुसन्धान गर्ने र गराउनु पर्छ ।


(लेखक प्रा.डा. प्रकाशमान श्रेष्ठ त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका पूर्व डिन हुनुहुन्छ ।)