तिलगंगा नेत्र विश्वविद्यालय विधेयक प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौँ /९ साउन – प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।


शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरिएको हो ।


विधेयकको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले पछिल्लो समय नेपालमा आँखा उपचार क्षेत्रमा क्रान्ति भएको बताए । साथै सांसद भट्टराई, ज्ञानेन्द्रबहादुर कार्कीले नेत्र विशेषज्ञ डा सन्दुक रूइतले नेत्र उपचारको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । सांसद विमला सुवेदीले तिलगङ्गा नेत्र विश्वविद्यालय खोलेर दक्ष जनशक्तिको उत्पादनमा जोड दिनुपर्ने बताइन् ।


सांसद वासुदेव घिमिरेले विधेयकको समर्थन गर्दै नेपाललाई नेत्र स्वास्थ्यको आकर्षक हबका रूपमा विकास गर्न जरुरी रहेको बताए । सांसद रामप्रकाश चौधरी, अम्मरबहादुर रायमाझी, मैना कार्की, देवेन्द्र पौडेल, ज्ञानु बस्नेत सुवेदी, दुर्गा राई, नारायणी शर्मा, हितराज पाण्डे, प्रेम सुवाल, रन्जुकुमारी झा, कालुराम राई, भगवती चौधरी, सरिता भुसाल, जनार्दन शर्माले छलफलमा भाग लिएका थिए ।


छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले दक्षिण एसियामा नेत्र उपचारको सम्भावना नेपालमा देखिएको भन्दै तिलगङ्गा नेत्र विश्वविद्यालयले आँखा रोगीहरूलाई छिटोछरितो, सरल, सस्तो, सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।


२०८१ असार १० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा विधेयक पेस गरेकी थिइन् ।