काठमाडौँ /१० साउन – एसईईको नतिजालाई आधार मानेर विद्यालय तथा प्रधानाध्यापकहरूले ४ जिपिए ल्याउने विद्यार्थीलाई बढी मान्यता दिने र अन्य जिपिए ल्याउने विद्यार्थीलाई कम मान्यता दिने प्रवृत्ति राम्रो नभएको विज्ञहरूको भनाई छ । त्यसरी विद्यार्थी बिच जिपिएका आधारमा वर्गीकरण गर्दा कम जिपिए ल्याउने तथा एनजी आउने विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पर्नुका साथै उनिहरूलाई अन्याय हुने बताएका छन् ।
शिक्षाविद् प्रा.डा. लक्ष्मण ज्ञवालीले विद्यालय तथा शिक्षकहरूले जीपीएमा कम्पिटिसन गर्नु राम्रो नभएको बताउँदै यसले एनजी पाएका विद्यार्थीलाई कुठाराघात गर्ने विचार व्यक्त गरे । उनले भने “विद्यालय तथा शिक्षकहरूलाई मेरो आग्रह जीपीएमा यसरी कम्पिटिसन नगर्नु राम्रो हुन्छ । किनभने तपाईँको विद्यालयमा केही विद्यार्थी यस्ता छन् जसले एनजी पाएका छन् तिनलाई कुठाराघात गर्ने काम नगर्नुहोस् । राम्रो शिक्षा दिनुहोस् जीवनसँग सम्बन्धित शिक्षा दिनुहोस् र उनीहरूलाई पछ्याएर हेर्नुहोस् । कस्ता विद्यार्थी निकाल्दा समाजमा के को असर कस्तो पर्दो रहेछ भन्ने कुराको ज्ञान दिएर फेरि त्यसलाई तपाईँले पाठ्यक्रममा सुधार गर्दै अगाडि बढ्नुहोस् ।”
त्यसैगरी जिपिए भन्दा पनि विद्यालयबाट निक्लेका विद्यार्थीहरूले क्रिएटिभ काम कति गरेका छन ? उनीहरूले इनोभेसन गर्ने, नयाँ खालको नव प्रवर्धन गर्ने, नयाँ नयाँ ज्ञानहरू ल्याउने तथा समाजमा शान्ति ल्याउन सक्ने खालको कति मान्छे विद्यालयले उत्पादन गरेको छ भनेर हेर्नुपर्ने बताए ।
शिक्षाविद् ज्ञवालीले विद्यालयबाट निस्केका ग्य्राजुएटहरूले समाजलाई लिड गर्न सक्छन् की सक्दैनन् ? अर्कोलाई होच्याएर, भ्रष्टाचारमा डुबेर होइन सत्यताको बाटोमा हिँडेर नयाँ कुरा, नयाँ ज्ञान, नयाँ बाटो समाजलाई देखाउन सक्छन् भने त्यसलाई आधार मान्नु राम्रो हुने बताए । विद्यालयहरूले आफ्नो जीपीएलाई काउन्टिङ गर्नु भन्दा आफ्नो विद्यालय कस्तो हो भनेर ट्रेसर स्टडी गर्नुपर्ने उनको सुझाब छ ।
“तपाईँका विद्यार्थीहरूले नेपालमै बसेर वा विदेश गएर पनि सारा मानव जगतका लागि काम लाग्ने खालको काम कति गरे त्यो हेरौँ । कुनै एउटा विकसित देशमा गएर एउटा फ्ल्याट र एउटा कार किनेर सोसल मिडियामा फोटो हालेर देखाएको विषय सफलता होइन । सफलता के हो भने, आफूले पाएको ज्ञानले आफू आफ्नो जीवनस्तर हैन नैतिकताको रूपमा माथि उठेको छ र अरूलाई पनि माथि उठाउन सघाएको छ भने मात्रै त्यो ज्ञान ज्ञान हुन सक्छ नभए त कोरा शिक्षा हुन्छ । शिक्षा पनि सूचना मात्र हुन्छ” उनले भने ।
कालिका मानव ज्ञान माविका पूर्व प्रधानाध्यापक घनश्याम पाठकले जीपीए फोर लेबललाई हाइलाइट गरेर एनजीमा परेका विद्यार्थीलाई निरुत्साहित गराउने प्रवृत्ति प्रति पूर्ण रूपमा असहमति रहेको बताए ।
कालिका मानव ज्ञान माविले राष्ट्रिय रूपमा नेपालको सर्वोत्कृष्ट विद्यालय घोषित हुँदा खेरि पनि कुनै बाजागाजा नगरेको बताउँदै जीपीए फोर यति विद्यार्थीले ल्याए भनेर रिजल्ट आउट गर्ने पर्ने भए पनि जिपिएका आधारमा विद्यार्थीलाई वर्गीकरण गरेर हाइलाइट नगरिएको बताए ।
सर्वोत्कृष्ट अंक लिएर आउने विद्यार्थीलाई पुरस्कार दिन र विद्यार्थीले प्रतिस्पर्धा गरोस भनेर कयौँ अभिभावकले २० लाख रुपैयाँसम्म अक्षयकोष राख्दिएको उल्लेख गर्दै नतिजा सार्वजनिक गरिएपनि कोही विद्यार्थीलाई पनि तलमाथि नगरिकन सबै विद्यार्थीलाई समान रूपमा सम्मान गर्ने गरेको उनको भनाई छ ।
“जीपीए फोर लेबललाई हाइलाइट गरेर एनजीमा परेका विद्यार्थीलाई निरुत्साहित गराउने जुन प्रवृत्ति छ त्यसमा मेरो पूर्ण रूपमा असहमति छ । त्यस्तो गर्न हुँदैन । अहिले एनजीमा परेको विद्यार्थी पास गरिसकेपछि भोलि पढ्दै गएर टप गर्न सक्ने कयौँ उदाहरण हामीले दिन सक्छौँ । हरेक ठाउँमा त्यसरी गर्न सक्छन् । त्यसैले निरुत्साहित गर्नु हुँदैन” उनले भने।
पाठकले ४ जिपिए ल्याउनेलाई जसरी तामझाम गरिएको छ त्यो राम्रो नभएको र जसले जीपीए धेरै ल्यायो भनेर बाजागाजा गरेको छ, विद्यार्थीलाई गाडीमा हालेर टोलमा घुमाएको छ, त्यसले त्यही विद्यालयबाट एनजीमा परेका विद्यार्थीहरूको मनस्थिति के भएको होला भनेर हेक्का नराख्नेहरूले शिक्षा क्षेत्रलाई राम्रोसँग सकारात्मक ढंगले नबुझेको बताए ।



