मन्त्री र विभाग घटाएर भएपनि इसिडी शिक्षकलाई दरबन्दीमा राखौँ

काठमाडौँ /१७ असार – प्रारम्भिक बालविकास विज्ञ मिनाक्षी दाहालले अन्य खर्च कटौती गरेर भएपनि इसिडीलाई विद्यालय संरचनामा राखेर दरबन्दीको व्यवस्था गर्नुपर्ने बताएकी छन् । विद्यालय शिक्षा विधेयक संसदीय समितिमा छलफल भईरहेको अवस्थामा इसिडीलाई विद्यालय संरचनामा नराख्ने तथा दरबन्दी व्यवस्था नगर्ने तयारी भईरहेकोले त्यसो गर्नु गलत रहेको र उनको भनाई छ ।


उनले इसिडीमा गरिने आर्थिक लगानी खर्च नभई लगानी नै भएको बताउँदै बरु मन्त्रीहरू घटाएर, विभागहरू घटाएर तथा अन्य खर्चहरू कम गरेर भएपनि इसिडीमा शिक्षकहरूको दरबन्दी कायम गर्नुपर्ने बताईन ।


इसिडी समग्र शिक्षा सुधारका लागि आधार भएको, अन्तर्राष्ट्रिय स्तरमा सरकारले प्रतिबद्धता जनाएको, विद्यालयको पनि आधार बनिसकेको हुँदा शिक्षकहरूलाई मात्रै व्यवस्थापन गर्न चुनौती मानिएकाले अब शिक्षकको व्यवस्थापन गर्नुको विकल्प नरहेको उनको भनाई छ ।


दाहालले योग्यता पुगेका शिक्षक छैनन् र दुई वर्षको इसिडी बनाउँदा खर्चले पुग्दैन जस्ता भाष्य निर्माण भईरहेको बताउँदै ५७ प्रतिशत शिक्षकहरू कक्षा १० भन्दा माथि मास्टरसम्म गरेका रहेको र उनिहरूलाई अब व्यवस्थापन गरेर विद्यालय संरचना भित्र इसिडीलाई ल्याउनुपर्नेमा जोड् दिइन ।


शिक्षकहरूलाई दरबन्दीमा ल्याउँदा खर्च कहाँबाट ल्याउने भन्ने हाँसो लाग्दो कुरा आउने गरेको र शिक्षा मन्त्रालयले नै प्रारम्भिक बालविकासका लागि भनेर विभिन्न कार्यक्रममा छुट्याएको बजेट फर्कने गरेको उदाहरण दिदै त्यस्ता धेरै अनावश्यक खर्च कटौती गरेर भएपनि दरबन्दीको व्यवस्था गर्नुपर्ने बताइन ।


इसिडीदेखि कक्षा तीनसम्म एउटा तह बनाएर पूर्व आधारभूत कक्षा बनाएर संरचनालाई बलियो बनाउनुका साथै शिक्षकहरूको व्यवस्थापन गर्न सकिनेमा उनको तर्क छ । तर केही विज्ञहरू यसलाई विद्यालय संरचनामा नल्याई परियोजनामा लैजान गलत नियतका साथ लाग्दा इसिडी माथि खेलबाड गरिएको र यसलाई बिगार्न खोजिएको धारणा व्यक्त गरिन ।


उनले भनिन् ‘केही यस्ता विज्ञहरू हुनुहुन्छ । जसले परियोजना बनाउने, खेल्ने र आफूलाई परियोजनामा हुर्काउने गरिरहेको अभ्यासहरू देखिरहेको छु । सायद अहिलेको भाष्यहरू त्यस्ता विज्ञहरूको नियतका कारण निर्माण भईरहेको मलाई लाग्छ । यो गलत नियतले आएको हो । त्यसैले यसलाई परियोजना नबनाउ ।’

यहाँबाट हेर्नुहोस भिडियोमा