विभिन्न प्रकारका शिक्षकहरू रहने अवस्थाको अन्त्य हुन्छ : शिक्षामन्त्री

काठमाडौँ /१० असार – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विभिन्न प्रकारका शिक्षकहरू रहने अवस्थाको अन्त्य हुने बताएका छन् । असार ९ गते प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकमा उठेका विषयहरूका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै शिक्षक अभाव पूर्ति गर्नका लागि ल्याइएका राहत, शिक्षण सिकाइ अनुदान, उच्च माध्यमिक अनुदान जस्ता अस्थायी व्यवस्थापनका तरिकाको अन्त्य हुने बताएका हुन् ।


उनले भने ‘विद्यालय शिक्षासम्बन्धी प्रस्तावित विधेयकमा पनि दरबन्दी थप हुने प्रावधानहरू राखिएका छन् । उक्त विधेयकले ऐनको रूप ग्रहण गरेपछि विद्यालय शिक्षाका लागि आवश्यक दरबन्दी प्राप्त हुने छ र आवश्यकताका आधारमा वितरण गरी लामो समयदेखि बल्झिएको दरबन्दीको समस्या समाधान हुने छ । शिक्षक अभाव पूर्ति गर्नका लागि ल्याइएका राहत, शिक्षण सिकाइ अनुदान, उच्च माध्यमिक अनुदान जस्ता अस्थायी व्यवस्थापनका तरिकाको अन्त्य भई विभिन्न प्रकारका शिक्षकहरू रहने अवस्थाको अन्त्य हुने छ ।’


यसैगरी तल्ला कक्षाहरूमा विद्यार्थी सङ्ख्या र माथिल्ला कक्षाहरूमा विषय र विद्यार्थी सङ्ख्याका आधारमा दरबन्दी व्यवस्थापन गर्नुपर्ने, कतिपय स्थानमा विद्यार्थी न्यून भएपनि दरबन्दी अर्को स्थानमा सार्न नसकिएको, तराई र अन्य क्षेत्रमा विद्यार्थी र शिक्षक अनुपात नमिलेको बताउँदै हाल प्राथमिक तहमा बढी रहेको दरबन्दीलाई माथिल्लो तहमा रूपान्तरण गर्ने कार्य आगामी आर्थिक वर्षमा गरिने र त्यसरी प्राप्त हुने दरबन्दी विद्यार्थी सङ्ख्याका आधारमा वितरण गरिने उनको भनाई छ ।


पुराना शिक्षकलाई गोल्डेन ह्यान्डसेक दिएर नयाँ पुस्तालाई शिक्षामा भित्र्याउने सुझाव मननीयबाट आएकोले छलफल गरेर निक्र्यौलमा पुग्ने बताए । साथै नेतृत्वले सुधारमा उल्लेख्य भूमिका खेल्ने भएकाले प्रधानाध्यापकको छुट्‍टै दरबन्दी सिर्जना गर्ने सुझावका सम्बन्धमा समितिमा छलफल गरेर निष्कर्ष निकालिने बताए ।


‘विद्यालयहरूमा व्यवस्था गरिएको प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीका लागि आवश्यक बजेटको व्यवस्थापनमा साझेदारीमा हुनुपर्छ । त्यसका लागि स्थानीय तहहरूले पनि बजेट विनियोजन गर्नुपर्छ र त्यस्ता दरबन्दी स्थानीय तहबाट स्वीकृत हुनुपर्छ’ मन्त्री पन्तले भने ।


सांसदहरूले विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दीको व्यवस्था, विभिन्न प्रकारका शिक्षक हुने अवस्थाको अन्त्य गरी दीर्घकालीन समाधान, अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको व्यवस्थापन लगायतका विषय उठान गरेका थिए ।


मन्त्री रघुजी पन्तको जवाफ जस्ताको त्यस्तै :

प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकमा उठेका विषयहरूका सम्बन्धमा माननीय मन्त्रीज्यूको जवाफ

सम्माननीय सभामुख महोदय, सर्वप्रथम म मिति २०८२ असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको छलफलमा सुझाव दिनुहुने र जिज्ञासा राख्नुहुने सम्पूर्ण माननीयज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । कतिपय माननीयज्यूहरूले मन्त्रालयको नाम नलिइकन पनि जिज्ञासा तथा सुझाव राख्नुभएको छ भने अधिकांश माननीयज्यूहरूले शिक्षा, विज्ञान तथा प्रविधि शीर्षकका विभिन्न विषयवस्तुहरूमा सुझाव तथा जिज्ञासा राख्नुभएको छ । ती विषयहरूको सम्बोधनका लागि प्रारम्भमा म आगामी आवका लागि प्रस्तावित बजेट तथा कार्यक्रमको सारांश प्रस्तुत गर्ने छु । त्यसपछि खर्च कटौतीको प्रस्ताव राख्नुहुने माननीयज्यूहरूले उठाउनुभएको विषयहरूमा मेरो जवाफ प्रस्तुत गर्ने छु र अन्त्यमा विनियोजन शीर्षकमा उठेका विषयहरूलाई समूहीकृत गरी जवाफ दिने प्रयत्न गर्ने छु ।

  • सर्वप्रथम म आगामी आवका लागि प्रस्तावित शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटको सारांश प्रस्तुत गर्न चाहन्छु । २०८२/८३ को कुल राष्ट्रिय बजेट १९ खर्ब ६४ अर्ब ११ करोडमध्ये शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा २ खर्ब ११ अर्ब १६ करोड ६९ लाख विनियोजन गरिएको छ । यो कुल राष्ट्रिय बजेटको १०.७५ प्रतिशत हो ।यस क्षेत्रको बजेट चालु आवको तुलनामा ३.६४ प्रतिशतले बढी हो ।शिक्षाका पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयबाट समेत ७ अर्ब ४७ करोड विनियोजन समेत भएको छ ।सरकारसँग उपलब्ध स्रोतका आधारमा अधिकतम् बजेट शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका लागि छुट्टयाइएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको यो बजेट अन्य सबै क्षेत्रको भन्दा बढी भएकाले यसबाट के पुष्टि हुन्छ भने शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्र सरकारको उच्च प्राथमिकतामा नै रहेको छ ।
  • सङ्‌घीय तहबाट आगामी वर्षका लागि विनियोजन भएको बजेट १०.७५ प्रतिशत रहेको भए तापनि विगतमा जस्तै प्रदेश सरकारहरूबाट विद्यालय नर्स, शिक्षण अनुदान कोटा, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ल्याब र पूर्वाधार निर्माण तथा स्थानीय तहहरूबाट विद्यालय पूर्वाधार र स्थानीय कोटाका शिक्षक आदिमा उल्लेख्य रकम विनियोजन हुने नै छ ।
  • शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटको ठूलो अंश विद्यालय शिक्षामा खर्च हुने र विद्यालय शिक्षाका क्रियाकलापको कार्यान्वयन स्थानीय तहबाट हुने भएकाले यस क्षेत्रको कुल बजेटको ६८.९९ प्रतिशत स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ । त्यसै गरी प्रदेश तहमा २.३३ प्रतिशत वित्तीय हस्तान्तरण गरिएको छ । सङ्‌घीय तहका विभिन्न निकायहरूबाट कार्यान्वयन हुने बजेटको अंश भने २८.६८ प्रतिशत रहेको छ । कार्यविधि तयार भैनसकेका कार्यक्रम लगायत शिक्षकका लागि नपुग हुनसक्ने तलब जस्ता शीर्षकमा सङ्‌घीय तहमा समेत बजेट राखिएको र पछि स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत बजेट थप हुने भएकाले स्थानीय तहको बजेटको अंश आर्थिक वर्षको अन्त्यमा अझै बढ्ने छ ।
  • उपक्षेत्रगत रूपमा हेर्दा तीनवटै तहका लागि शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा विनियोजित बजेट निम्न बमोजिम रहेको छ ।यस अनुसार विद्यालय शिक्षामा सबैभन्दा बढी ७३.३७ प्रतिशत बजेट विनियोजन गरिएको छ । साथै उच्च शिक्षातर्फ पनि १३.१७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा २.७८ प्रतिशत, विज्ञान तथा प्रविधि क्षेत्रमा ०.२९ प्रतिशत र व्यवस्थापनमा १०.३९ प्रतिशत बजेट विनियोजन गरिएको छ । विद्यालय शिक्षा उपक्षेत्रमा विनियोजित बजेट १ खर्ब ५४ अर्ब ९३ करोड ३२ लाखमध्ये पूर्वाधार निर्माण जम्मा १० अर्ब २४ करोड ६० लाख (सङ्‌घमा ७ अर्ब २० करोड १७ लाख, प्रदेशमा ४५ करोड ६ लाख र स्थानीय तहमा २ अर्ब ६८ करोड ४७ लाख) विनियोजन गरिएको छ ।
  • उच्च शिक्षाका लागि विनियोजित बजेट २७ अर्ब ८० करोड ३४ लाख मध्ये ५ अर्ब ८६ करोड २३ लाख चिकित्सा शिक्षामा वितरण हुने छात्रवृत्तिमा खर्च हुन जान्छ जुन चालु आवको विनियोजनभन्दा ६९ करोड १२ लाखले बढी हो ।
  • प्रदेश तहमा वित्तीय हस्तान्तरण भएको ४ अर्ब ९२ करोड ६४ लाखमध्ये सबैभन्दा धेरै बजेट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्तर्फ ३ अर्ब ७७ करोड २४ लाख छ । यसमा परिषद् अन्तर्गत रहेका ६६ वटा आङ्‌गिक शिक्षालयका साधारण खर्च र कार्यक्रम खर्च समेत समावेश गरिएको छ ।  तालिम, छात्रवृत्ति जस्ता नियमित कार्यक्रमका अलावा आगामी आवमा नमुना TVET शिक्षण संस्था विकासका लागि सहयोग शीर्षकमा ४ करोड २० लाख बजेट विनियोजन भएको छ । यसबाट अन्य TVET संस्थाहरूका लागि अनुकरणीय कार्यहरू उपलब्ध भई TVET क्षेत्रमा घट्दै गएको विद्यार्थी आकर्षणमा वृद्धि भई गुणस्तरीय जनशक्ति उत्पादनमा सहयोग पुग्ने छ ।  त्यस्तै कक्षा १० को एसइइ परीक्षा सञ्चालनको कार्य प्रदेश तहबाट गर्ने गरी ३४ करोड विनियोजन गरिएको छ । उक्त रकमबाट उत्तरपुस्तिका छपाइ तथा ढुवानी र परीक्षा सञ्चालनको कार्य गरिने छ । विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत प्रदेश तहका लागि विनियोजन गरिएको ८१ करोड ४० लाखमध्ये भौतिक पूर्वाधारमा ४५ करोड ६ लाख ६२ हजार रहेको छ ।
  • स्थानीय तहका लागि वित्तीय हस्तान्तरण भएको जम्मा १ खर्ब ४५ अर्ब ६७ करोड ८८ लाखमध्ये १ खर्ब १४ अर्ब ६६ करोड १० लाख ७४ हजार बजेट तलब भत्तामै खर्च हुन्छ ।जुन स्थानीय तहका लागि विनियोजन भएको जम्मा बजेटको ७८.७१ प्रतिशत हुन आउँछ । तलब, दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति, सञ्चालन खर्च, निःशुल्क स्यानिटरी प्याड र द्वन्द्वपीडित परिवार शिक्षा कार्यक्रममा विनियोजित बजेटलाई अनिवार्य दायित्वमा पर्ने भएकाले स्थानीय तहमा विनियोजन गरिएको जम्मा बजेटको ९२ प्रतिशत बजेट अनिवार्य दायित्वमा पर्छ । बाँकी ८ प्रतिशत बजेट भौतिक पूर्वाधार, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका कार्यक्रम र अनिवार्य तथा निःशुल्क शिक्षा समेतका कार्यक्रम खर्चका लागि विनियोजन गरिएको छ । स्थानीय तहमा विनियोजित बजेटका विशेषताहरू निम्नानुसार रहेका छन् :
  • प्रारम्भिक बाल विकास सहजकर्ताहरू, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि साविकमा सङ्‌घीय तहबाट प्रदान गर्ने अनुदान रकम क्रमशः १० हजार, १३ हजार ५ सय र ८ हजारबाट वृद्धि गरी १२ हजार, १५ हजार र १० हजार पुर्याइएको छ । यसका लागि १० अर्ब १६ करोड १५ लाख ५९ हजार खर्च हुन जान्छ ।
  • गोरखा भूकम्प र पश्चिम नेपाल भूकम्पबाट प्रभावित ४७ जिल्लाबाहेकका ३० जिल्लाका३३० वटा पालिकामा १ वटा कोटा देखि ४ वटा कोटा सम्म (विद्यालय सङ्‌ख्याका आधारमा) ५५ लाख देखि २ करोड २० लाखसम्म गरी २ अर्ब ६८ करोड ३० लाख रकम निर्मित गुरुयोजनाका आधारमा स्थानीय तहको साझेदारीमा विद्यालयको भौतिक निर्माण अनुदानका लागि २ अर्ब ६८ करोड ८४ लाखछुट्टयाइएको छ ।
  • विद्यालय दिवा खाजाका लागि साविक कर्णाली अञ्चलका जिल्लाहरूमा प्रतिदिन रु २५ र अन्य जिल्लाहरूमा रु ५ प्रतिदिन प्रतिविद्यार्थी थप गरेर रु २० पुर्याइएको छ ।
  • अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कार्ययोजना कार्यान्वयन गर्न विद्यालय बाहिर रहेका वालवालिकाहरूलाई विद्यालय भर्ना, सिकाइ निरन्तरता र Equity Index वृद्धिका लागि मधेश,लुम्बिनी र कर्णाली प्रदेशका स्थानीय तहमा ३ लाख ५० हजार र अन्यमा २ लाख ५० हजारका दरले रकम विनियोजन गरिएको छ । यसबाट विद्यालय बाहिर रहेका विद्यार्थीहरूको प्रोफाइल तयार हुने र सोहीबमोजिम हस्तक्षेपकारी कार्यक्रमहरू तय गर्न मद्दत पुग्ने छ ।
  • स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा  प्रारुप २०८१ कार्यान्वयनका लागि १०० वटा स्थानीय तहमा गाउँपालिका र नगरपालिकामा क्रमशः ३ लाख र ४ लाखका दरले रकम प्रस्ताव गरिएको छ । यसबाट दिवा खाजालाई स्थानीय उत्पादनमा आधारित बनाउनका लागि स्थानीय तहको परिवेश अनुरूपको प्रारुप तयार हुने छ ।
  • अङ्‌ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको व्यवस्थापनका लागि माध्यमिक तहमा सुन्य दरबन्दी भए ३ जना, १ दरबन्दी भए २ जना र २ दरबन्दी भए १ जना र आधारभूत तहमा सुन्य दरबन्दी भए १ जना शिक्षक हुने गरी माध्यमिक तहमा ७७१९ जना र आधारभूत तहमा २७२८ जना शिक्षक व्यवस्थापन गर्ने गरी बजेट प्रबन्ध गरिएको छ ।
  • विद्यालय सुपरीवेक्षण तथा शिक्षकको निरन्तर पेशागत सहयोगका लागि मेन्टरिङ पद्धतिको कार्यान्वयनका लागि सबै स्थानीय तहमा न्यूनतम् १ लाख २५ हजार, २५ वटा सम्म विद्यालय भए १ लाख थप, ५० वटा सम्म विद्यालय भए १ लाख २० हजार थप, १०० वटा सम्म विद्यालय भए १ लाख ५० हजार थप, १५० वटा सम्म विद्यालय भए २ लाख  थप र १५१ भन्दा बढी विद्यालय भए २ लाख ५० हजार थप हुने गरी बजेट व्यवस्था गरिएको छ । स्थानीय तथा प्रदेश तहबाट समेत थप बजेट व्यवस्थापन गरी विद्यालय सुपरीवेक्षण र शिक्षकको निरन्तर पेशागत सहयोगका कार्यक्रम सञ्चालन गरी गुणस्तर सुधारमा सहयोग पुर्याउन सकिन्छ ।

सम्माननीय सभामुख महोदय, अब म खर्च कटौतीको प्रस्ताव गर्नुहुने माननीयज्यूहरूले राख्नुभएका विषयहरूका सम्बन्धमा जवाफ प्रस्तुत गर्न चाहन्छु ।

  • माननीय हित बहादुर तामाङले सङ्‌घीयताको मर्म र भावना विपरित स्थानीय तहलाई कमजोर बनाउने गरी बजेट विनियोजन गरिएको र सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा सुविधाको सम्बोधन गर्ने भनी नीति तथा कार्यक्रममा भने तापनि बजेटले सो कुराको सम्बोधन नगरेकोले खर्च कटौतीको प्रस्ताव गर्नुभएको छ । मैले अघि नै भनिसकेँ कि बजेटको ठूलो अंश स्थानीय तहमा रहेको छ । मन्त्रालयले कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन गरेको छैन र जुन तहको कार्य जिम्मेवारी जे हो त्यही बमोजिम बजेट विनियोजन गरिएको छ । त्यसैगरी सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहयोगी र लेखा हेर्ने कर्मचारीलाई सङ्‌घीय सरकारले उपलब्ध गराउँदै आएको अनुदानमा क्रमशः २००० र १५०० प्रतिमहिना वृद्धि गरी क्रमशः मासिक १०००० र १५००० कायम गरिएको छ । सो रकममा स्थानीय तहबाट थप गरिने भएकाले कर्मचारीहरूको विषय पनि सम्बोधन गरिएकाले म माननीयज्यूलाई खर्च कटौतीको प्रस्ताव फिर्ता लिन अनुरोध गर्दछु ।
  • माननीय अम्मर बहादुर थापाले आवश्यकता अनुसारको शीर्षक र विषयमा रकम विनियोजन नगरी सरकार जवाफदेही नरहेको, शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत छुट्ट्याउने अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम शिक्षा क्षेत्रमा बजेट विनियोजन नगरी सरकार जवाफदेही नभएकोले खर्च कटौतीको प्रस्ताव गर्नुभएको छ । यहाँ के कुरा ख्याल गर्नुपर्छ भने सरकारले उपलब्ध भए अनुसारको स्रोतमा अधिकतम बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । शिक्षामा सर्वाधिक बजेट विनियोजन गरिएकाले सरकार जवाफदेही नै रहेको छ । सरकारको स्रोत वृद्धि हुँदै जाँदा शिक्षा क्षेत्रको बजेट अवश्य नै बढ्ने छ । बजेट कम हुँदा कटौती गर्ने होइन बरु थप्नुपर्ने भएकाले म माननीयज्यूलाई खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गर्दछु ।
  • माननीय डा. अमरेश कुमार सिंहलाई पनि म के अनुरोध गर्न चाहन्छु भने सरकारले उपलब्ध भएसम्मको स्रोतमध्ये सर्वाधिक अंश शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमै विनियोजन प्रस्ताव गरिएको छ । तसर्थ उहाँलाई पनि म खर्च कटौतीको प्रस्ताव फिर्ता लिन विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु ।
  • माननीय प्रेम सुवालले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्नुभएको छ । माननीयज्यूले उठाउनुभएका ख्वप विश्वविद्यालय विधेयक जारी गर्ने, विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई स्वदेशमा शिक्षा उपलब्ध गराउने, विश्वविद्यालयका उत्कृष्ट उत्पादनलाई विद्यालय र कलेजमा शिक्षकका रूपमा नियुक्त गर्ने, विद्यालय र कलेजको पूर्वाधारको सदुपयोग गर्ने, निःशुल्क शिक्षाको प्रवर्धन गर्ने, विद्यार्थीलाई देशभक्ति र नैतिक शिक्षा उपलब्ध गराउने, drop out घटाउने उपाय अवलम्बन गर्ने र स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गर्ने जस्ता विषय उठाउनु भएको छ । यी विषयहरूमा सरकारको कुनै विमत्ति छैन र यी विषयहरू सम्बोधन गर्ने गरी नै आगामी वर्षको बजेट तथा कार्यक्रम तय गरिएको छ । ख्वप विश्वविद्यालय विधेयक तर्जुमाको क्रममा छ । स्वदेशमै शिक्षाको गुणस्तर वृद्धि गरी विदेश जाने प्रवृत्ति निरुत्साहित गर्ने, निःशुल्क शिक्षाको प्रबन्ध गर्ने जस्ता कार्यक्रमहरू प्रस्ताव गरिएकाले माननीयज्यूलाई खर्च कटौतीको प्रस्ताव फिर्ता लिन हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु ।

सम्माननीय सभामुख महोदय, अब म खर्च कटौतीको प्रस्ताव गर्नुहुने माननीयज्यूहरूले राख्नुभएका अन्य विषय र माननीय अमनलाल मोदी, माननीय प्रभु शाह, माननीय माधव सापकोटा, माननीय ज्ञानु बस्नेत सुवेदी, माननीय उर्मिला माझी, माननीय नारायणी शर्मा, माननीय प्रकाशशरण महत, माननीय योगेश कुमार भट्टराई, माननीय शक्तिबहादुर बस्नेत, माननीय कृष्ण कुमार श्रेष्ठ, माननीय अब्दुल खान, माननीय डा. चन्द्रकान्त भण्डारी, माननीय सुनिता बराल, माननीय देवेन्द्र पौडेल, माननीय रमा कोइराला पौडेल, माननीय भगवती चौधरी, माननीय कान्तिका सेजुवाल, माननीय लालप्रसाद सावाँ लिम्बु, माननीय सूर्यमान तामाङ दोङ, माननीय देवप्रसाद तिमल्सिना, माननीय दिपा शर्मा, माननीय बिमला सुवेदी, माननीय नगिना यादव, माननीय सराज अहमद फारूकी, माननीय हितराज पाण्डे, माननीय नारायणप्रसाद आचार्य, माननीय शान्ति विक र माननीय ह्रदयराम थानीले उठाउनुभएका  विषयहरूलाई समेट्ने गरी समूहीकृत जवाफ प्रस्तुत गर्न चाहन्छु ।

  • विनियोजनको आधार तथा उपयुक्तता

शिक्षाको अधिकांश बजेट स्थानीय तहमै छ । जुन तहको जे जिम्मेवारी हो त्यही बमोजिम बजेट प्रस्ताव गरिएको छ । सङ्‌घबाट कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन गरिएको छैन । स्थानीय तहले आफ्नो प्राथमिकताकै आधारमा बजेट उपयोग गर्न सक्ने भएकाले यो बजेट सङ्‌घीयता अनुकूल नै छ । कतिपय माननीयज्यूहरूले विनियोजन कुनै निर्वाचन क्षेत्र वा जिल्ला केन्द्रित भयो पनि भन्नुभयो र मैले दिएको विद्यालय योजनामा परेन पनि भन्नुभयो । अब सङ्‌घीय संसदका सांसदहरूले कुनै निश्चित योजनाका लागि बजेट माग्ने होइन, विनियोजन भएको बजेट आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी उपलब्ध बजेट सम्बन्धित आयोजनामा खर्च गर्ने गरी नीति तथा कानुन बनाउने हो । मन्त्रालयका लागि उपलब्ध भएको स्रोतको उपक्षेत्रगत विनियोजन पनि प्राथमिकताका आधारमा नै गरिएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेट विद्यालय सङ्‌ख्या, विद्यार्थी सङ्‌ख्या र क्षेत्रगत नीति लगायतका विषयका आधारमा तय गरिएकोले यो कुनै भौगोलिक क्षेत्रलाई बेवास्ता गर्ने वा कुनै जिल्ला वा निर्वाचन क्षेत्र आदिमा केन्द्रित हुने किसिमले ल्याइएको छैन ।

  • शिक्षकहरूसँग भएको सम्झौता र विद्यालय शिक्षासम्बन्धी ऐन

शीर्षकगत छलफलका क्रममा अधिकांश माननीयज्यूहरूले विभिन्न समयमानेपाल शिक्षक महासङ्‌घसँग गरिएको सम्झौता बमोजिम पछिल्लो सम्झौतामा तोकिएको मितिभित्र विद्यालय शिक्षासम्बन्धी ऐन ल्याउन सुझाउनु भएको छ । विभिन्न सरकारका पालामा शिक्षकका सङ्‌घ सङ्‌गठनसँग भएका सम्झौता बमोजिम ऐन ल्याउने विषयमा सबैको एकमत नै छ । उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरू समेट्ने गरी मन्त्रालयले साझा धारणा निर्माण गरेर समितिमा प्रस्तुत गरेको छ । ऐन जारी हुनुपर्छ भन्ने विषय राख्ने माननीयज्यूहरू र उहाँहरूकै पार्टीका माननीयज्यूहरू समितिमा रहनुभएकाले विद्यालय शिक्षासम्बन्धी ऐन जारी गर्ने विषयमा सरकारले समन्वय गरिराखेको छ । यहाँहरू सबैको सहयोग भएमा समयमै ऐन जारी गर्न सकिने छ । शिक्षकको पछिल्लो पेशागत आन्दोलनका क्रममा भएको ९ बुँदे सम्झौता बमोजिम प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र लेखा हेर्ने कर्मचारीको तलबमा सङ्‌घीय सरकारले व्यहोर्ने दायित्व रकम वृद्धि गरिएको कुरा मैले अघि नै उल्लेख गरिसकेको छु । ग्रेड मिलान लगायतका विषयमा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय भैराखेको छ । यस अघि शिक्षकका सङ्‌घ सङ्‌गठनसँग सम्झौता भएका विषय कार्यान्वयन गर्नका लागि हामी सबै जिम्मेवार हुनुपर्छ । सत्ता पक्षमा हुँदा एउटा कुरा प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने प्रवृत्ति त्यागौँ, राज्यसँग उपलब्ध स्रोत साधनलाई समेत ख्याल गरेर उपाय निकालौँ । यो सरकार समस्या बल्झाउनेतर्फ उन्मुख छैन, सरकार त समस्याको दीर्घकालीन समाधान चाहन्छ। प्रस्तावित विधेयकमा समावेश हुने नयाँ विषयहरूले थप स्रोत माग गर्ने र उक्त विधेयक सार्वभौम संसदले स्वीकृत गरेपछि सिर्जित दायित्व सरकारले बहन गर्ने नै छ । ऐनमा समावेश गर्नका लागि प्रस्ताव गरेको आधारमा आगामी आवका लागि प्रस्तावित बजेटमा बजेट समावेश गरिएको छैन ।

  • शिक्षा नीति तथा शिक्षासम्बन्धी अन्य प्रावधान

कतिपय माननीयज्यूहरूले शिक्षा नीति देश अनुकूलको नभएको, पूर्वीय दर्शनमा आधारित नभएको, स्वार्थकेन्द्रित बनाउने, विदेशीने प्रवृत्तिलाई प्रोत्साहन गर्ने र बेरोजगार उत्पादन गर्ने खालको रहेको विषय उठाउनु भएको छ । त्यसैगरी मानवतावादी, नैतिक, अनुभवजन्य सिकाइ दिने शिक्षा नभएको जस्ता विषय पनि उठेका छन् । शिक्षा नीतिमा समसामयिक परिवर्तन जरुरी छ तर हालको शिक्षा नीतिले सबै समस्या सिर्जना गरेको भन्ने विषय सही होइन । अहिलेको शिक्षा नीतिको प्रावधानको कार्यान्वयनमा सुधार गर्नुपर्ने छ । विदेशीने, बेरोजगारी हुने जस्ता विषय शिक्षाबाहेकका अन्य विषयसँग पनि सम्बन्धित छन् । रोजगारीको वृद्धि नभएको र थोरै समयमा उच्च आर्थिक प्रगतिको लालसाले पनि विद्यार्थीका रूपमा विदेशीने प्रवृत्ति बढ्दै गएको छ । अबका विद्यार्थीलाई रोजगारी खोज्ने होइन रोजगारी सिर्जना गर्नका लागि प्रोत्साहन गर्ने किसिमले उच्च शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका कार्यक्रम अगाडि बढाउनुपर्छ । सरकारले त्यसै बमोजिम विद्यार्थीको नतिजाका आधारमा उच्च शिक्षा वा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा आवद्ध हुने गरी बजेट तथा कार्यक्रम ल्याइएको छ । २६९०० जनालाई ६ महिना र सोभन्दा बढी अवधिको तालिम कार्यक्रम प्रस्ताव गरिएको छ । त्यसैगरी सबै तहको पाठ्यक्रममा समसामयिक सुधारको कार्यलाई निरन्तरता दिइने छ । त्यस्तो सुधारका क्रममा माननीयज्यूहरूले राख्नुभएका सुझावहरूलाई समेत ध्यान दिइने छ । पाठ्यक्रमका लागि प्रधानमन्त्रीको अध्यक्षतामा बोर्ड वा परिषद् बनाउने सुझाव पनि प्राप्त भएको छ । हाल विद्यालय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तक स्वीकृत गर्ने र आवश्यक नीति मार्गदर्शनका लागि मन्त्रीको अध्यक्षतामा विभिन्न विज्ञहरू सम्मिलित राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्‌कन परिषद् रहेको जानकारी गराउन चाहन्छु ।

  • विद्यालय समायोजन

धेरै माननीयज्यूहरूले विद्यार्थी सङ्‌ख्या कम भएका विद्यालय गाभ्ने जस्ता विषयहरूमा पनि जिज्ञासा राख्नुभएको छ । मन्त्रालयले सार्वजनिक विद्यालय समायोजन एवम् एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ जारी गरी कार्यान्वयनमा ल्याएको छ । विद्यार्थी सङ्‌ख्या अत्यन्तै न्यून भएका विद्यालयलाई भौगोलिक दूरी र अन्य विभिन्न आधारमा गाभ्ने वा तह घटाउने जस्ता विषयमा आगामी वर्षका लागि प्रस्तावित विद्यालय नक्साङ्‌कन, पुनर्संरचना, एकीकरणसम्बन्धी वृहत् सर्वेक्षणका आधारमा उपयुक्त नीति तय गरी कार्यविधिमा परिवर्तन गरिने छ । भौगोलिक दूरीसमेतलाई ख्याल गरेर न्यून विद्यालय भएका कतिपय विद्यालयलाई साना विद्यालयका रूपमा रूपान्तरण गर्नुपर्छ भने कतिपयलाई गाभ्नुपर्ने हुन्छ । यस्ता कार्यमा सङ्‌घबाट निर्मित मादण्डका आधारमा स्थानीय तहलाई प्रोत्साहन गर्न विद्यालय पुन: नक्साङ्‌कन एवम् शिक्षक दरबन्दी पुनरावलोकन गरी विद्यालय गाभ्ने र गाभिएका विद्यालयलाई प्रोत्साहन अनुदान प्रस्ताव गरिएको छ ।

  • शिक्षक तथा कर्मचारी व्यवस्थापन

माननीयज्यूहरूले विद्यार्थी सङ्‌ख्याका आधारमा शिक्षक दरबन्दीको व्यवस्था, विभिन्न प्रकारका शिक्षक हुने अवस्थाको अन्त्य गरी दीर्घकालीन समाधान, अङ्‌ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको व्यवस्थापन लगायतका विषय उठान गर्नुभएको छ । तल्ला कक्षाहरूमा विद्यार्थी सङ्‌ख्या र माथिल्ला कक्षाहरूमा विषय र विद्यार्थी सङ्‌ख्याका आधारमा दरबन्दी व्यवस्थापन गर्नुपर्ने हुन्छ । कतिपय स्थानमा विद्यार्थी न्यून भएपनि दरबन्दी अर्को स्थानमा सार्न सकिएको छैन । तराई र अन्य क्षेत्रमा विद्यार्थी र शिक्षक अनुपात मिलेको छैन ।हाल प्राथमिक तहमा बढी रहेको दरबन्दीलाई माथिल्लो तहमा रूपान्तरण गर्ने कार्य आगामी आवमा गरिने छ र त्यसरी प्राप्त हुने दरबन्दी विद्यार्थी सङ्‌ख्याका आधारमा वितरण गरिने छ । विद्यालय शिक्षासम्बन्धी प्रस्तावित विधेयकमा पनि दरबन्दी थप हुने प्रावधानहरू राखिएका छन् । उक्त विधेयकले ऐनको रूप ग्रहण गरेपछि विद्यालय शिक्षाका लागि आवश्यक दरबन्दी प्राप्त हुने छ र आवश्यकताका आधारमा वितरण गरी लामो समयदेखि बल्झिएको दरबन्दीको समस्या समाधान हुने छ । शिक्षक अभाव पूर्ति गर्नका लागि ल्याइएका राहत, शिक्षण सिकाइ अनुदान, उच्च माध्यमिक अनुदान जस्ता अस्थायी व्यवस्थापनका तरिकाको अन्त्य भई विभिन्न प्रकारका शिक्षकहरू रहने अवस्थाको अन्त्य हुने छ । पुराना शिक्षकलाई गोल्डेन ह्यान्डसेक दिएर नयाँ पुस्तालाई शिक्षामा भित्र्याउने सुझाव पनि मननीय छ । नेतृत्वले सुधारमा उल्लेख्य भूमिका खेल्ने भएकाले प्रधानाध्यापकको छुट्टै दरबन्दी सिर्जना गर्ने सुझावका सम्बन्धमा हामी समितिमा छलफल गरेर निर्क्यौलमा पुग्नेछौँ । विद्यालयहरूमा व्यवस्था गरिएको प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीका लागि आवश्यक बजेटको व्यवस्थापनमा साझेदारीमा हुनुपर्छ । त्यसका लागि स्थानीय तहहरूले पनि बजेट विनियोजन गर्नुपर्छ र त्यस्ता दरबन्दी स्थानीय तहबाट स्वीकृत हुनुपर्छ ।

  • भौतिक पूर्वाधार निर्माण

आगामी आवका लागि भौतिक पूर्वाधार निर्माणका लागि जम्मा १० अर्ब २४ करोड ६० लाख (सङ्‌घमा ७ अर्ब २० करोड १७ लाख, प्रदेशमा ४५ करोड ६ लाख र स्थानीय तहमा २ अर्ब ६८ करोड ४७ लाख) विनियोजन गरिएको छ । सङ्‌घमा रहेको ७ अर्ब २० करोडमध्ये पश्चिम नेपाल भूकम्पबाट क्षति पुगेका १५ वटा जिल्लाका विद्यालय निर्माणका लागि केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा रराष्ट्रिय शैक्षिक सुधार कार्यक्रमकोमधेस, पहाड र हिमालमा क्रमशः १५००, ७०० र ३०० जना भन्दा बढी विद्यार्थी भएका विद्यालयलाई विद्यार्थी सङ्‌ख्याका आधारमा भौतिक पूर्वाधार अनुदानशीर्षकमा बजेट प्रस्ताव गरिएको छ । प्रदेशमा भौतिक पूर्वाधारमा ४५ करोड ६ लाख ६२ हजार रहेको छ । उक्त बजेट विगतदेखि नै निर्माणाधिन रहेका वौद्धिक अपाङ्गता भएका वालवालिकाहरूका लागि प्रत्येक प्रदेशमा पुर्वाधारयुक्त आवासीय विद्यालयका लागि ४ करोड र स्थानीय तह र प्रदेशकोसँगको  साझेदारीमा ठूला विद्यालय विकास  गर्न  छनोट भईDPR तयार भएका विद्यालयका लागि पूर्वाधार विकास अनुदानमा १७ करोड १ लाख रविपद्का कारण क्षति भएका विद्यालयको भौतिक सुधार अनुदानमा २४ करोड ५ लाख ६४ हजार विनियोजन भएको छ । स्थानीय तहमा पनि २ अर्ब ६८ करोड रकम रहेको छ । पूर्वाधार निर्माणमा प्रदेश र स्थानीयको स्रोतबाट समेत बजेट विनियोजन हुने गरेको छ । तसर्थ सङ्‌घ, प्रदेश र स्थानीय तह सबैले विद्यालयमा न्यूनतम पूर्वाधार विकास गर्ने लक्ष्यका साथ कार्य अगाडि बढाउनु पर्ने हुन्छ । भौतिक पूर्वाधार निर्माणका लागि सबैको माग रहने गरेको छ । कुन विद्यालयमा के कस्तो पूर्वाधार आवश्यक छ भन्ने कुरा यकिन गर्नका लागि संघ-प्रदेश साझेदारीमा सबै विद्यालयमा पूर्ण भौतिक सुविधाको प्रबन्धका लागि प्रदेशस्तरमा सबै विद्यालयको स्थलगत प्राविधिक सर्वेक्षण र त्यसका आधारमा सङ्‌घबाट सबै विद्यालय पूर्वाधार गुरुयोजना तयारी गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ । यसबाट आगामी दिनमा बजेट तथा कार्यक्रम प्रस्ताव गर्नका लागि सूचना तथा जानकारी प्राप्त हुने छ । त्यसैगरीविद्यालयमा भौतिक पूर्वाधार क्षेत्रमा सङ्‌गठित संस्थाहरूको सहभागिता समेत अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय भौतिक पूर्वाधार विस्तारका लागि विभिन्न क्षेत्रका सङ्‌गठित संस्थाहरूसँग राष्ट्रिय स्तरको समझदारीपत्र गर्ने कार्यक्रम समेत प्रस्ताव गरिएको छ ।

  • शिक्षामा प्रविधि

माननीयज्यूहरूले शिक्षण सिकाइमा ICT को प्रयोग, AI को प्रयोग,smartboard को प्रयोग, ICT ल्याबको व्यवस्थापन लगायतका विषयमा पनि सुझाव तथा जिज्ञासा राख्नुभएको छ । ५४.२ प्रतिशत विद्यालयमा ICT पूर्वाधार र उपकरण रहेको छ भने ५८.६ प्रतिशत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा पुगेको छ ।ICT lab स्थापनाका लागि हरेक वर्ष स्थानीय तहहरूमा बजेट विनियोजन हुँदै आएको छ । हरेक विद्यालयमा ICT स्रोत शिक्षकका लागि तालिम, अन्य विषय शिक्षण गर्ने शिक्षकहरूका लागि समेत तालिमको विषयवस्तुमा ICT सम्बद्ध विषयवस्तु समेत समावेश गरिएको छ । छुट्टै IT शिक्षकको व्यवस्था गर्न कठिन हुने र IT छुट्टै विषय नभई शिक्षण सिकाइमा ICT को प्रयोग गर्नका लागि शिक्षकलाई सक्षम बनाउनु पर्छ ।सरकारले यसैका लागि बजेट तथा कार्यक्रमको व्यवस्था गरेको छ ।

  • सिपयुक्त, गुणस्तरीय र व्यावहारिक विद्यालय शिक्षा

धेरै माननीयज्यूहरूले शिक्षालाई सिपयुक्त, गुणस्तरीय र व्यावहारिक बनाउनु पर्ने कुरामा जोड दिनुभएको छ । शिक्षालाई गुणस्तरीय बनाउने विषय पाठ्यक्रममा एकरूपता, मूल्याङ्‌कन प्रणालीमा सुधार, निरन्तर पेशागत विकासका लागि शिक्षक तालिम, गुम्बा, मदरसा र गुरुकुल शिक्षामा सुधार र मूलप्रवाहीकरणका लागि परम्परागत शिक्षाको प्रवर्धन, विज्ञान प्रयोगशालालगायतका प्रयोगशालाको व्यवस्था लगायतका विषयहरू कार्यान्वयनमा रहेका छन् । विगतमा भन्दा कक्षाकोठामा हुने शिक्षण सिकाइ प्रक्रिया परिवर्तन भएको छ । विद्यालय शिक्षामा Science, Technology, Engineering, Arts, Mathematics (STEAM) प्रवर्धनका कार्यक्रमहरू समावेश भएका छन् । उत्कृष्ट नतिजा भएका विद्यालयसँग साझेदारी र सहकार्य गर्ने कार्यक्रमहरू रहेका छन् । पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समसामयिक सुधारका कार्यक्रमहरू रहेका छन् । मूल्याङ्‌कन प्रणालीमा समेत सामयिक सुधारका कार्यक्रम पनि नियमित रूपमा सञ्चालन भएका छन् । विद्यालय शिक्षामा समावेश गरेका विषयहरूमा नवीन र आधुनिक विषयहरू समेत समावेश गरिएका छन् ।

  • आवासीय प्रबन्ध

केही माननीयज्यूहरूले आवासीय प्रबन्धसहितको शिक्षाको व्यवस्था गर्नुपर्ने विषय उठाउनु भएको छ ।वौद्धिक अपाङ्गता भएका वालवालिकाहरुका लागि ५ वटा प्रदेशमा पुर्वाधारयुक्त आवासिय विद्यालय सञ्चालन आगामी वर्षको शैक्षिक सत्रबाट कार्यक्रम सञ्चालन हुन्छ ।त्यसैगरी अपाङ्गताको प्रकृति (अटिजम समेत) अनुरूप आवश्यकताको आधारमा  प्रत्येक प्रदेशमा पुर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालय सञ्चालन गर्ने गरी ७ वटा स्थानीय तहमा पूर्वाधार निर्माणको कार्य भैरहेको छ ।मुक्त कम्लहरीका लागि आवासीय छात्रवृत्तिबापत १५ जनाका लागि ७ लाख ५० हजार, अपाङ्‌गता भएका विद्यार्थीका लागि आवासीय छात्रवृत्तिबापत ८०७८ जनाका लागि ४० करोड ३९ लाख र ४०० जनाका लागि फिडर छात्रावास छात्रवृत्तिका लागि २ करोड र हिमाली आवासीय छात्रवृत्तिबापत २२६२ जनाका लागि ११ करोड ३१ लाख गरी ५३ करोड ७७ लाख ९० हजार विनियोजन गरिएको छ । यसरी विशिष्ट अवस्थाका विद्यार्थीका लागि ६१ वटा विद्यालयआवासीय प्रबन्धसहित सञ्चालन गरिएको छ ।विद्यालय समायोजन गर्दा भौगोलिक दुरी टाढा हुन जाँदा समेत आवासीय प्रबन्ध सहितको विद्यालय सञ्चालन गर्नुपर्ने हुन्छ ।आगामी वर्ष विद्यालय शिक्षाका सम्बन्धमा गरिने अध्ययनबाट आएको निष्कर्षका आधारमा आवासीय विद्यालयको प्रबन्ध गरिएको छ । माननीय अमेरश कुमार सिंहज्यूले विश्वविद्यालयहरू समेत आवासीय रूपमा सञ्चालन गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ । विश्वविद्यालयहरूमा छात्रावासको व्यवस्था छ तर पूर्ण रूपमा आवासीय रूपमा सञ्चालन गर्न सकिएको छैन ।

  • प्राविधिक तथा व्यावसायिक शिक्षा

धेरै माननीयज्यूहरूले प्राविधिक शिक्षा, सिपयुक्त शिक्षामा जोड दिनुपर्ने सुझाव दिनुभएको छ । ५३७ वटा सामुदायिक विद्यालयहरूमा कक्षा ९-१२ को प्राविधिक धारको कार्यक्रम सञ्चालन भएको छ भने १०२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌को डिप्लोमा तहको कार्यक्रम सञ्चालन भएको छ । हामी सबैले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिए तापनि विद्यार्थीहरूको रोजाइमा यस्ता कार्यक्रमहरू परेका छैनन् । करिब ६० प्रतिशत सिटमा मात्र विद्यार्थीहरू भर्ना भएका छन् । व्यवस्थापन समिति र स्थानीय तहले स्थापनामा जोड दिने तर दिगो रूपमा सञ्चालन गर्ने सम्बन्धमा दीर्घकालीन सोच तय नगर्ने भएकाले पनि यस्तो हुन गएको हो । प्रशिक्षकको अभाव, सान्दर्भिक कार्यक्रमको सञ्चालन हुन नसक्नु, उच्च लागत आदिका कारणले पनि यस्ता विद्यालयको सञ्चालनमा समस्या हुँदै आएको हुनसक्छ । आगामी वर्ष यस्ता कार्यक्रमको प्रभावकारिता अध्ययन गरी सो को निष्कर्षका आधारमा कार्यक्रम सञ्चालनको उपयुक्त मोडेल तय गरिने छ ।आगामी वर्ष प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा ५ अर्ब ८६ करोड ५८ लाख विनियोजन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌का शिक्षालय र सम्बन्धनप्राप्त निजी गरी ११८२ वटा शिक्षालयबाट छोटो र लामो अवधिको तालिम सञ्चालन हुन्छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌को आफ्नै संरचनामार्फत आगामी वर्ष ३ महिने (३९० घण्टे) सिप विकास तालिम (नयाँ भर्ना) ७६६० जना, कार्यगत अभ्याससहितको १ वर्षे सिप विकास तालिम (हालको निरन्तरता समेत) २९२६ जना, १८ महिने प्रिडिप्लोमा तह (नयाँ भर्ना) १३४० जना, २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम (हालको निरन्तरता समेत) ४१४४ जना, ३६ महिने औद्योगिक प्रशिक्षार्थी तालिम (नयाँ भर्ना) १२० जना र ३ वर्षे डिप्लोमा तह (हालको निरन्तरता समेत) १८४०० जनाको लक्ष्य रहेको छ । यसबाट माननीयज्यूहरूले भन्नुभएजस्तै सिपयुक्त जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । माननीय बिमला सुवेदीले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय र किस्पाङ बहुप्राविधिक शिक्षालयका लागि बजेटको व्यवस्था नदेखिएको भन्नुभएको छ । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय आङ्‌गिक शिक्षालय भएकाले सो शिक्षालयले पूर्ण बजेट प्राप्त गर्ने र सो कार्यक्रम प्रदेशमा हस्तान्तरण हुने बजेट भित्र पर्ने र किस्पाङ बहुप्राविधिक शिक्षालय साझेदारी कार्यक्रम अन्तर्गत पर्ने भएकाले एकमुष्ट अनुदानका रूपमा प्रदेशमा वित्तीय हस्तान्तरण हुने कार्यक्रमबाट रु १० लाख उपलब्ध हुने जानकारी गराउन चाहन्छु ।

  • निःशुल्क शिक्षा र विद्यार्थी सहुलियत

केही माननीयज्यूहरूले निःशुल्क शिक्षाको प्रबन्ध र छात्रवृत्ति लगायतका विद्यार्थी सहुलियतका कार्यक्रम सञ्चालन गर्ने कुरामा जोड दिनुभएको छ । यस वर्ष अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको कार्ययोजना बमोजिमका कार्य गर्नका लागि सङ्‌घ, प्रदेश र स्थानीय तह सबैमा बजेट तथा कार्यक्रम प्रस्ताव गरिएको छ । यसबाट विद्यालय बाहिर रहेका विद्यार्थीहरूको विवरण प्राप्त गरी सबैका लागि शिक्षाको प्रबन्धका लागि व्यवस्थापकीय कार्यमा सहयोग पुग्ने छ । विद्यालय तहमा निःशुल्क पाठ्यपुस्तक,कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था, छात्रवृत्तिको प्रबन्ध लगायतको व्यवस्था गरिएको छ ।  विद्यालय तहमा मात्र २ अर्ब ५ करोड छात्रवृत्तिको व्यवस्था छ । विपन्न वर्गमा पर्ने सबै समुदायका कक्षा ६-१२ का विद्यार्थीहरूले विपन्न लक्षित छात्रवृत्तिबापत वार्षिक ६००० देखि २४००० रकम प्राप्त गर्ने व्यवस्था रहेको छ । उच्च शिक्षातर्फको चिकित्सा शिक्षामा ५ अर्ब बजेट छात्रवृत्तिका लागि छुट्टयाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्तर्फ दलित, मुसलमान, विपन्न, सिमान्तकृत समुदायका छात्र-छात्रालाई प्राविधिक एसएलसी/एप्रिन्टेसीप/डिप्लोमा तहमा अध्ययन गर्न छात्रवृत्ति र प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका युवाहरूका लागि आवासीय छात्रवृत्तिको व्यवस्था छ । उच्च शिक्षातर्फ पनिअपाङ्गता भएका, दलित र आर्थिक रूपले विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति, सहीद र द्वन्दपिडितका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति, डोम, वादी, चमार मुसहर जातिका विद्याथीलाई एमविविएस र बिइ अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

  • उच्च शिक्षामा सुधार

धेरै माननीयज्यूहरूले विश्वविद्यालयको सङ्‌ख्या, विश्वविद्यालयका शिक्षाको गुणस्तर, उच्च शिक्षालाई उत्पादनमुखी, रोजगारउन्मुख र अनुसन्धानमुखी बनाउने, त्रिभुवन विश्वविद्यालयका अनुसन्धान संस्थाहरूको सक्रियता, पठनपाठनमा अवरोध गर्नेहरूलाई कारवाही, क्यालेन्डरको कार्यान्वयन, कमाउँदै पढ्दै कार्यक्रम जस्ता विषयहरूमा सुझाव तथा प्रश्न राख्नुभएको छ । आगामी वर्ष विश्वविद्यालयहरूलाई उपलब्ध गराइने अनुदानलाई क्यालेन्डरको कार्यान्वयनसँग जोडिने छ । क्यालेन्डरको कार्यान्वयन गर्न नसक्ने वा नगर्ने विश्वविद्यालयहरूलाई अनुदान रोकिने छ । आगामी आवमा उच्च शिक्षाको क्षेत्रमा प्रस्तावित गरिएका विशेष कार्यक्रमहरूमा २० घण्टा कामको न्यूनतम ज्याला सहित कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गर्ने,बजारमुखी शैक्षिक कार्यक्रमहरूको विकास तथा विस्तार, उद्यमशिलता विकास तथा कार्यान्वयनका लागि अनुदान, उच्च शैक्षिक संस्थाहरूलार्इ सूचना तथा प्रविधिमा आधारित शैक्षिक कार्यक्रमहरूको विकास तथा कार्यान्वयन लगायतका विशेष कार्यक्रमहरू प्रस्ताव गरिएका छन् । यी कार्यक्रमहरूको कार्यान्वयनबाट उच्च शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अनुसन्धान संस्थाहरूलाई सक्रिय बनाउने सम्बन्धमा आवश्यक कार्य भैरहेको छ । पठनपाठन लगायतका कार्यमा अवरोध गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई विश्वविद्यालयहरूलाई शैक्षिक गतिविधिमा केन्द्रित बनाउन आवश्यक कार्य गरिने छ ।

  • अन्य विषय

माथि उल्लेख गरिएका विभिन्न समूहहरूमा नपर्ने अन्य केही विषयहरू समेत माननीयज्यूहरूले उठाउनुभएको छ । विद्यालय र विश्वविद्यालयको आम्दानी र खर्चका विषयमा पनि कुरा उठेको छ । सबै विद्यालय र विश्वविद्यालयको आम्दानी र खर्चको वार्षिक रूपमा लेखा परीक्षण गर्ने प्रावधान रहेको छ । शिक्षा र प्रविधिमा मात्र बजेट विनियोजन भएको विषय सही होइन । मन्त्रालयको नाम नै शिक्षा, विज्ञान तथा प्रविधि हो । विज्ञान तथा प्रविधिका क्षेत्रमा मन्त्रालय र सो सम्बद्ध नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा विज्ञान सङ्‌ग्रहालय विकास समिति लागि जम्मा ६१ करोड ६३ लाख बजेट विनियोजन गरिएको छ  जसमा विज्ञान क्षेत्रका कार्यक्रमहरू पनि समावेश गरिएको छ ।त्रिभुवन विश्वविद्यालयलाई विश्वविद्यालय अनुदान आयोगमार्फत अनुदान उपलब्ध गराइने व्यवस्था छ । सरकारले कुनै विशेष faculty का लागि अनुदान दिने व्यवस्था छैन ।SEE मा विद्यार्थी अनुत्तीर्णको प्रतिशत घटाउनका लागि शिक्षक तालिम, श्रव्यदृश्य सामग्री विकास तथा प्रसारण लगायतका कार्य सञ्चालन गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ । कर्णालीका कतिपय जिल्लामा छाना नभएका विद्यालयहरू रहेको भन्ने विषयहरू पनि उठेको छ । पश्चिम नेपाल भूकम्पबाट प्रभावित १५ वटा जिल्ला बाहेकका स्थानीय तहमा विद्यालयमा भौतिक निर्माण अनुदानका लागि स्थानीय तहमा बजेट विनियोजन गरिएको छ । स्थानीय तहले आवश्यकता र प्राथमिकताका आधारमा विद्यालयको निर्माण र मर्मत गर्न सक्ने छन् । भूकम्प प्रभावित जिल्लाका हकमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइका लागि विनियोजित बजेटबाट कार्य सम्पादन गरिने छ ।

  • सम्माननीय सभामुख महोदय,आगामी वर्षका लागि निर्धारित कार्यक्रमहरूको कार्यान्वयनका सम्बन्धमा मन्त्रालय गम्भीरतापूर्वक लाग्ने प्रतिवद्धता जाहेर गर्दै अन्त्यमाविनियोजन विधेयक, २०८२ को मन्त्रालयको शीर्षकको छलफलमा भाग लिई सुझाव दिनुहुने सबै माननीयज्यूहरूलाई धन्यवाद दिन चाहन्छु ।