महासंघको प्रचण्डसँग गुनासो : सरकारले शिक्षक सँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखायो

काठमाडौं /९ असार – नेपाल शिक्षक महासंघका पदाधिकारीहरुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेट गरेका छन् । सोमबार बिहान महासंघका पदाधिकारीहरूले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता ‘प्रचण्ड’सँग उनकै निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् ।


भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।


शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेशा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने बताएका थिए ।


‘सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ । हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई शिक्षकका मागहरू पूरा भएनन् भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं,’ उनले भने । अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिए । उनले प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औंल्याए ।


भेटका क्रममा शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयनमा पहल लिइदिन आग्रह गरे ।