शिक्षक आन्दोलनमा महासङ्घको माग ४ जनालाई काज सुविधा

काठमाडौं/९ असार – नेपाल शिक्षक महासङ्घले शिक्षक आन्दोलनको समयमा महासङ्घका ४ जना पदाधिकारीले काज पाउनुपर्छ भनेर माग गरेको पाइएको छ । शिक्षकहरू सडक आन्दोलनमा रहेका समयमा मन्त्रालयले शिक्षकहरूका मागका सवालमा छलफल गर्दा महासङ्घले काजका विषयमा अडान राखेको र मन्त्रालयलाई कन्सिडर गर्न बाध्य पारिएको पाइएको हो ।


शिक्षा मन्त्रालयका अनुसार शिक्षकहरूका मागका सवालमा मन्त्रालय गम्भीर भएर लागेको बताउँदै महासङ्घका केही पदाधिकारीहरूले काजलाई बढी महत्व दिएर उठाएको र कन्सिडर गर्न बाध्य पारिए जनाएको छ । स्रोतले भन्यो ‘देशैभरका शिक्षकहरू सडकमा हुनुहुन्थ्यो । उहाँहरूका माग सम्बोधन गरेर शिक्षकहरूलाई विद्यालय कसरी फर्काउने भन्ने विषयमा छलफल भईरहेको थियो । तर महासङ्घका केही पदाधिकारीले काजलाई पनि महत्व दिएर कुरा उठाएपछि शिक्षकहरूका माग सम्बोधन गर्ने सवालमा काजलाई शिक्षा मन्त्रालयले कन्सिडर गर्न बाध्य भएर निर्णय गर्यो । तर त्यो निर्णय केही दिनका लागि मात्रै हो ।’


स्रोतका अनुसार विद्यालय शिक्षा ऐन अनुसार दुई जनाले महासङ्घको सिफारिसका आधारमा काज पाउने व्यवस्था भएपनि आन्दोलनको समयमा महासङ्घले अडान नछोडेको र आन्दोलन स्थगित गर्नका लागि भएपनि मन्त्रालयले त्यस विषयमा निर्णय गरेको जनायो ।


तर कानुनी आधारमा ४ जनालाई काज दिन नमिल्ने भएपनि मन्त्रालयले निर्णय गरेर यसलाई कार्यान्वयनमा कसरी ल्याउने भन्ने सवाल भने शिक्षा तथा मानव विकास स्रोत केन्द्रले निर्णय गर्ने मन्त्रालयको भनाई छ । मन्त्रालय स्रोतले कानुन भन्दा बाहिर गएर कुनै पनि निर्णय गर्ने मन्त्रालयको अधिकार नभएको र कानुन भित्रै बसेर निर्णय गर्ने उल्लेख गर्दै केही दिनका लागि वा क्षणिक रूपमा काजको विषयलाई सहमति गरिएको र आन्दोलन स्थगित गर्नका लागि निर्णय गरिएको बतायो ।


स्रोतले भन्यो ‘आन्दोलनको सिलसिलामा काज पनि उहाँहरूको एउटा माग थियो । सम्बन्धीत विद्यालयबाटै व्यवस्था मिलाएर तलब सुविधा लिने गरी सहमति गरिएको थियो । औपचारिक रूपमा कार्यान्वयनमा ल्याइएको छैन । त्यसलाई शिक्षा तथा मानव विकास स्रोत केन्द्रले आधारहरू हेरे उचित निर्णय गर्छ । तर त्यो क्षणिक रूपमा मात्रै हो । महासङ्घले सिफारिस गरेका व्यक्तिलाई तीन वर्षका लागि दुई जनालाई दिने व्यवस्था छ । कानुनको सिमा भित्र बसेर निर्णय गर्ने कुरा हो । कानुन भन्दा बाहिर निर्णय हुँदैन ।’


संगठनका पदाधिकारी कति समय विदामा बस्न पाउने


विभिन्न संघ संगठनका कुनै पनि पदाधिकारीलाई मन्त्रालयले त्यस्तो कुनै सुविधा नदिएको पनि प्रस्ट पारेको छ । संगठनमा आबद्ध पदाधिकारीले विदामा बस्नुपर्ने भए असाधारण विदामा बस्नुपर्ने र कानुनी व्यवस्था भन्दा बढी बस्न नमिल्ने समेत मन्त्रालयले जनाएको छ ।


स्थायी सेवा अवधि ५ वर्ष पुरा गरेका व्यक्तिले मात्रै शिक्षण अवधिमा पटक पटक गरेर ३ वर्ष भन्दा बढी असाधारण विदामा बस्न नपाउने कानुनी व्यवस्था रहेको मन्त्रालयको भनाई छ । ‘एक पटकमा एक वर्ष नबढाई ३ वर्षसम्म असाधारण विदामा बस्न पाउने व्यवस्था छ मन्त्रालय’ स्रोतले भन्यो ।


तर कुनै शिक्षकको पति वा पत्नी विदेश स्थित नेपाली दूतावासमा वा नियोगमा खटिई गएको प्रमाण सहित शिक्षकले बेतलवि बिदा माग गरेमा एकै पटक वा पटक पटक गरी नोकरी अवधिभर पाँच वर्षसम्म बेतलबी विदा पाउने छन् । साथै असाधारण विदामा बसेको शिक्षकले तलब सुविधा लिन पाउने छैन ।


यस्ता विदाका लागि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाइबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ ।