काठमाडौँ/२८ जेठ – केही दिनदेखी बढेको अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या आएपछि झापाका ६ वटा पालिकाहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै विद्यालय बन्द गरिएको हो ।
कमला गाउँपालिका, बिर्तामोड नगरपालिका, दमक नगरपालिका, भद्रपुर नगरपालिका, गौरादह नगरपालिका र बाह्रदशी गाउँपालिकाले विद्यार्थीको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएका छन् ।
कमला गाउँपालिकाले जेठ २८ र २९ गते, बाह्रदशी गाउँपालिका, बिर्तामोड, दमक, भद्रपुर, गौरादह नगरपालिकाले २९ र ३० गते पठनपाठन स्थगन गरेका छन् ।
साथै तापक्रममा गिरावट आएमा वा वर्षत भई विद्यालय सञ्चालन गर्न अनुकूल भएमा विद्यालयको नियमित पठनपाठनको व्यवस्था मिलाउन विद्यालयलाई भनिएको छ ।



