उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञहरूको खोजी

काठमाडौं/२९ जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञहरूको रोस्टरमा नाम समावेश गर्ने आवेदन माग गरेको छ । उत्तरपुस्तिका परीक्षण केन्द्र इटहरी, सुनसरीले आवेदन माग गरेको हो ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन हुने डिप्लोमा/प्रमाणपत्र र प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमका विषयहरूको उत्तर पुस्तिका परीक्षण गर्न विज्ञहरूको आवश्यकता परेको हुनाले परिषद् अन्तर्गतका आङ्गिक/साझेदारी/टेक्स /निजी स्तरमा सञ्चालित प्राविधिक विषयका कार्यक्रमहरू सञ्चालन गर्ने शिक्षण संस्थाहरूमा कम्तीमा १ वर्षको शिक्षण /प्रशिक्षणको अनुभव भएका प्रशिक्षकहरूले आवेदन दिन सक्ने छन् ।


आवेदन परिषद्को कोशी प्रदेश कार्यालयको वेबसाइट www.ctevtkoshi.org.np मा निर्धारित ढाँचाको निवेदन सहित आफैँले प्रमाणित गरेका आवश्यक शैक्षिक योग्यता र अन्य कागजातहरू संलग्न गरी विज्ञको रोस्टरमा समावेश भई सेवा प्रवाह गर्न सक्ने जनाइएको छ ।


साथै निवेदन तथा कागजातहरू परिषद्, उत्तर पुस्तिका परीक्षण केन्द्र, इटहरी, सुनसरी ( परिषद्, कोशी प्रदेश कार्यालय परिसरभित्र ) मा बुझाउनुपर्नेछ । विस्तृत जानकारी www.ctevtkoshi.org.np र www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।