विज्ञहरूको धारणा : कम विद्यार्थी भएका क्याम्पसहरू मर्जमा जानुपर्छ

काठमाडौँ /१३ जेठ – विज्ञहरूले नेपालका उच्च शैक्षिक प्रतिष्ठानको स्वायत्तता प्राज्ञिक कार्यमा मात्र रहेको तर अन्य क्षेत्रमा नरहेकोले विभिन्न समस्याहरू उब्जिने गरेको बताएका छन् । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नेपाल पब्लिक क्याम्पस संघ केन्द्रीय समिति र नेपाल हाइयर एजुकेशन फाउण्डेशनले संयुक्त रूपमा आयोजना गरेको ‘सामुदायिक क्याम्पसहरूको स्वायत्तता संवर्धनमा एकीकृत विधान तर्जुमाका लागि आयोजित नीति संवाद’ कार्यक्रममा सो कुरा बताएका हुन् ।


कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष तथा त्रिविका पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाले उच्च शिक्षाको वैश्विक विकासको इतिहासबारे प्रकाश पार्दै सन् १९९० बाट मात्र शुल्क उठाउने गरिएको बताए । उनले वैश्विक परिभाषा अनुसार नेपालमा रहेको बुझाई विपरीत पब्लिक भनेको सरकारी हो भन्ने जानकारी गराउँदै हार्वर्ड र अक्सफोर्ड सबै युनिवर्सिटिहरू सरकारी संस्था नरहेको स्पष्ट पारे । स्वायत्तताका विभिन्न स्वरुपहरू पाठ्यक्रम निर्माणमा, नयाँ प्रोग्राम, प्राध्यापकलाई भर्ना गर्ने, स्वयं अर्थोपार्जन गर्ने आदिमा हुन्छन् भन्दै नेपालमा हामी नयाँ विश्वविद्यालय पहिला खोल्छौँ अनि मात्र बनाउँछौँ जुन उल्टो अभ्यास भएको उनको भनाई थियो ।


राष्ट्रिय योजना आयोगकी शिक्षा हेर्ने सदस्य गीता पौडेल अधिकारीले कम विद्यार्थी भएका क्याम्पसहरू मर्जमा जाने मोडेल अपनाउन र तोकिएको शीर्षकमै खर्च हुनुपर्र्ने बताइन । त्यस्तै, विश्वविद्यालय अनुदान आयोगका सदस्य कपिल रिसालले पब्लिक क्याम्पसको एकीकृत विधान तर्जुमा गर्न समस्या नरहेको, बरु विद्यालयमै अध्यापन गर्नेले पनि उच्च शिक्षामा प्राध्यापन गराउँदा समस्या भएको बताए ।


सामुदायिक क्याम्पसहरूको चासोबारे व्यवस्थापन संकायका डीन डा। महानन्द चालिसेले एकीकृत विधान बनाएर दिगोपनको लागि अब मर्जमा गएर ठाउँ अनुसार स्थानीय वस्तुलाई समेटेर कार्यक्रम ल्याउँदा आफ्नो सहयोग हमेशा रह्ने बताउँदै अबको त्रिविको नयाँ भीसीमा त्रिविको स्वायत्तता बुझेका र सक्षम डा। तीर्थराज खनियालार्ई एक मौका पुनः दिनुपर्ने बताए ।


त्रिवि शिक्षा संकायका डीन प्राडा वेद आचार्यले नेपालका २४ वटै विश्वविद्यालय सबै एकै खाले भएको भन्दै सेमेष्टरमा शिक्षक नै सबै थोक रहेकोले स्वायत्तता भएको र कम विद्यार्थी भएका विषय मिल्ने क्याम्पसहरू मर्जमा जान उदार हुनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयका निवर्तमान भीसि डा. प्रेमनारायण अर्यालले नेपालमा कहीँ नभएको संयुक्त आङ्गिक क्याम्पस हुने विडम्बना रहेको भन्दै कार्यकारीले दिएको म्यान्डेट अनुसार सेवा आयोग खुलाउन बाध्यता रहेको बताए ।


संघको तर्फबाट अध्यक्ष शत्रुधनप्रसाद गुप्ताको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रम उनले अवधारणापत्र तथा उच्च शिक्षाको समग्र तस्विरमा सामुदायिक क्याम्पसको योगदान, सफलता, जम्मा सङ्ख्या आदिबारे संघका महासचिव तथा कार्यक्रमका सञ्चालक गोविन्दबहादुर कार्कीले प्रस्तुत गरेका थिए ।