अस्पष्ट रहेका बुँदाहरूमा शिक्षक महासङ्घसँग बसेर छलफल गर्नेछौँ : शिक्षामन्त्री

काठमाडौं /११ जेठ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका नौ बुँदे सहमति कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको बताएका छन् । आईतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सो कुरा बताएका हुन् ।


‘मैले गरेको नौ बुँदे सहमतिलाई कार्यान्वयन गर्न म प्रतिवद्ध छु । सरकारको मन्त्रीको हैसियतले मेरो प्रतिबद्धता हो । यसमा सत्ता गठबन्धन दलहरूको सबैको प्रतिबद्धता छ र स्वयम प्रधानमन्त्रीज्यूको पनि छ । नौ बुँदे सहमतिको हकमा प्रतिबद्धता छ तर अहिले सवाल नौ बुँदेको मात्रै होइन । शिक्षक महासंघमा साथीहरूले नौ बुँदे सहमति भन्दा अगाडि भएका सहमतिहरूलाई पनि छलफलको एजेण्डा बनाएर जोड दिइराख्नु भएको छ । स्वाभाविक रूपमा त्यसमा पनि छलफल गर्छौँ । तर मेरो कमिटमेण्ट भनेको नौ बुँदे प्रतिबद्धता हो । नौ बुँदे प्रतिबद्धतालाई सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म कार्यान्वयन गरेर जाने हो । त्यसमा अस्पष्ट रहेका कतिपय बुँदाहरूमा शिक्षक महासङ्घका प्रतिनिधिहरूसँग बसेर छलफल गर्नेछौँ । र एउटा निक्र्यौलमा पुग्छौँ’ उनले भने ।

यसैगरी आर्थिक बोझ पार्ने मागहरू अहिले नै सरकारले बहन गर्न नसक्ने बताउँदै प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ नरहेको उनको भनाई थियो ।