एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने समय थप

काठमाडौं/११ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने समय थप गरेको छ ।


एसईईमा समावेश हुन चाहने परीक्षार्थीहरुका लागि रजिस्ट्रेसन फाराम भर्ने भराउने अन्तिम म्याद २०८२ जेठ ११ गतेसम्म तोकिएकोमा विद्यालय, विद्यार्थी र अभिभावकहरुको माग बमोजिम उक्त फाराम भर्ने अन्तिम म्याद २०८२ जेठ ३० गतेसम्म कायम हुने गरी समय थप गरेको हो ।


विद्यालयहरुले उक्त फाराम रुजु गरी राजस्व शीर्षक नं १४२२३ मा तोकिएको राजस्व रकम जम्मा गरेको भौचरसहित २०८२ असार ८ गते आइतबारसम्म शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ ।


साथै रजिस्ट्रेसन फारामसम्बन्धी अन्य कार्यतालिका पूर्व सूचनाअनुसार नै कायम गरिएको र विद्यार्थीको उमेर हदको सम्बन्धमा जेठ १ गतेको सूचनामा स्पष्ट पारिएको बोर्डको भनाई छ ।