सरकार जिम्मेवार नबन्दा सार्वजनिक शिक्षामा गम्भीर संकट पैदा

झापा/८ जेठ – पछिल्लो समय सरकार जिम्मेवार नबन्दा सार्वजनिक शिक्षा क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको छ । देशमा शिक्षक, विद्यार्थी , कर्मचारी , पत्रकार , पूर्व प्रहरी , प्रशासन, व्यापारी, युवा, दलित, आदिवासी, उत्पीडित, सबै वर्गका संगठन निर्माण भएका छन् । त्यसैगरी विद्यालयहरूमा पनि राजनीतिक दल सम्बद्ध संगठन निर्माण भएको पाइन्छ । राज्यका हरेक संयन्त्रमा कार्यरत कामदार कर्मचारीहरूलाई आफ्नो पार्टीको पक्षमा निरन्तर लाग्न अभिप्रेरित गर्दै सत्ता र सक्तीको चरम दुरुपयोग हुँदै आएको सर्वविदितै छ ।


कर्मचारी वर्गलाई दलगत नेताहरूले आफ्ना अनुकूलका निर्णय गर्दै उनिहरूलाई खुसी पार्दै सदैव आफ्नो अनुकूल मतदान गर्न र गराउनमा लगाइएको पाइन्छ । सबै क्षेत्रमा दलगत भात्री संगठन निर्माण भएको अवस्था रहेता पनि समाज र जनताको भविष्य प्रति हालसम्म कोही गम्भीर रहेको देखिदैन । जन्मदै जातका आधारमा मानिस धनी र गरिब हुने अवस्था नेपालमा व्याप्त रहदा गरिबीको रेखामुनिका जनताको जीवनस्तर माथि उठ्न सकेको छैन । हरेक नागरिकको सामाजिक , राजनीतिक र आर्थिक अवस्था कस्तो हुँदैछ यस विषयमा एक पटक दलभन्दा माथि उठेर कसैले सोचेकोसम्म पाइदैन । शिक्षा र स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषय सामान्य नागरिकको पहुँच भन्दा बाहिर गईसकेको छ ।


एउटा गरिब परिवारको सदस्य आफ्नो कमजोर आर्थिक अवस्थाका कारण पढन सक्ने अवस्थामा छैन । पछिल्लो समय शिक्षामा ठूलो राजनीति खेलिएको छ । अथवा सरकार जिम्मेवार नबन्दा सार्वजनिक शिक्षामा गम्भीर संकट उत्पन्न भएको छ । किन कि शिक्षामा सबैभन्दा ठुलो व्यापारीकरण भएको छ । तथ्यांक अनुसार २०५८ को जनगणनामा नेपालको जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो । त्यस पछि २०६८ मा जनसङ्ख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ पुग्यो । यो दस वर्षको गणना गर्दा जनसङ्ख्या ३४ लाख ६९ हजार ३सय ८६ वृद्धि भएको देखिन्छ । यो एउटा उदाहरण मात्र हो । तथ्यांक अनुसार २०४६ सालको राजनीतिक परिवर्तन पश्चात् नेपालको जनसङ्ख्या लगभग १ करोड वृद्धि भएको देखिन्छ । यति धेरै जनसङ्ख्या वृद्धि हुँदा पनि राज्यले नयाँ सार्वजनिक विद्यालय एउटा पनि स्थापना गरेको देखिदैन ।


राजाका पालामा पढ्न पाईन्नथ्यो भन्नेहरूले देशमा एक करोड जनसङ्ख्या वृद्धि हुँदासम्म सरकारले नयाँ एउटा सार्वजनिक विद्यालय खोलेको देखिदैन । यति ठूलो सङ्ख्यामा वृद्धि भएको जनसङ्ख्याले कहाँ बाट शिक्षा प्राप्त गरिरहेको छ ? किन राज्य जनताप्रति जिम्मेवार बन्न नसकेको हो ? आम नागरिकको चाहना महँगो निजि शिक्षा नै हो त ? कि निजि शिक्षा नागरिकको बाध्यता हो ? यी यावत् प्रश्नहरूको जवाफ हालसम्म अनुत्तरित छ । यस्ता प्रश्नहरू जवाफ दिने दायित्वबाट सरकार पन्छिनु हुन्न । जनसङ्ख्या वृद्धिको अनुपातमा सामुदायिक विद्यालय थप नगर्नुलाई सरकार सार्वजनिक शिक्षाप्रति उदासीन रहेको अवस्था भन्दा फरक नपर्ला ।


संविधानमा व्यवस्था भएबमोजिम आधारभूत तहसम्म अनिवार्य र निशुल्क शिक्षा भनिएता पनि विभिन्न बहानामा सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूबाट शुल्क लिइरहेको अवस्था छ । अर्को तर्फ संस्थागत विद्यालयहरूले चर्को शुल्क असुली रहँदा राज्य संयन्त्र बेखबर जस्तै बनेको देखिन्छ । नागरिक प्रति जिम्मेवार राज्यले जनतालाई सर्वसुलभ शिक्षा प्रदान गर्नुपर्ने दायित्व रहन्छ । पछिल्लो समय शिक्षक महासङ्घले विभिन्न माग राखी गरिएको २०८१ र ०८२ को आन्दोलन लाई सरकारले नयाँ शिक्षा ऐन मार्फत कसरी सम्बोधन गर्ला ?


यो विषय पछिल्ला दिनमा अझ पेचिलो बन्दै गएको छ । गृह कार्य अनुसार शिक्षा उपसमितिले टुङ्गोमा र्पुयाएको प्रतिवेदनमा शिक्षक महासङ्घ असन्तुष्ट रहेको खबर आएको छ । साथै उक्त सुझाबमा संस्थागत विद्यालयहरूलाई गुठीमा रूपान्तरण गरिनुपर्छ भन्ने महत्त्वपूर्ण विषय समावेश नगरिएकोले नागरिकहरू महँगो शिक्षा लिन बाध्य हुनुपर्ने अवस्था यथावत् रहेको अवस्था छ । अन्तत् अनिवार्य र निशुल्क भनिएको शिक्षामै चरम व्यापारीकरण गरिएको यस्तो व्यवस्थाको पछि कुद्नु नागरिकहरूकै कमजोरी रहने ठहर्छ । शिक्षा र स्वास्थ्य जस्तो विषयमा राज्य गम्भीर नबने देश अस्थिरतातर्फ जानसक्ने प्रबल सम्भावना देखिएको छ । तसर्थ संविधानमा उल्लेख भएअनुरुप अनिवार्य र निःशुल्क शिक्षा सर्वसाधारणको पहुँचभित्र रहनुपर्छ, तबमात्र राज्य समृद्ध तर्फ उन्मुख बन्नेछ ।


खेमराज तिम्सिना, कृषी क्याम्पस मोड, गौरादह नगरपालिका झापा ।