शिक्षकले सबै माग यही कानुनले सम्बोधन गर्नुपर्छ भने सरकारलाई गाह्रो पर्छ : शिक्षामन्त्री

काठमाडौँ /७ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकका सबै माग यही कानुनले सम्बोधन गर्नुपर्छ भनिए सरकारलाई गाह्रो हुने बताएका छन् । शिक्षकका कतिपय माग सरकारले पुरा गरिसकेको बताउँदै सरकारलाई शिक्षकहरूले पनि सहयोग गर्न आग्रह गरे ।


उपसमितिले बुझाएको प्रतिवेदन नै अन्तिम नभएको र कानुन बनाउँदा आजको यथार्थमा उभिएर भोलिसम्मलाई हेरेर मुलुकको संविधान, कानुन, र मुलुकको अर्थतन्त्रलाई ध्यानमा राखेर बनाउनु पर्नेमा जोड् दिए ।


उनले भने ‘हामीले निर्णय गर्दा खेरि हाम्रो मुलुकको संविधान कानुनलाई ध्यानमा राख्नु पर्यो, मुलुकको अर्थतन्त्रलाई ध्यानमा राख्नु पर्यो र आजको यथार्थमा उभिएर कानुन बनाउनु पर्यो । कानुन भनेको भोलिसम्मलाई हेरेर बनाउने हो, तर त्यसको ग्राउन्ड भनेको आज नै हो । आजको यथार्थबाट हामी कति अगाडि जान सक्छौँ ? कति टाढासम्म सोचेर हामीले कानुन बनाउन सक्छौँ ? मुलुकका सबै कुराले त्यसलाई धान्छ कि धान्दैन ? मुलुकको चेतना स्तर, मुलुकको इन्फ्रास्ट्रक्चर, मुलुकको अर्थतन्त्र, मुलुकका जनताको मनस्थिति यी सबै कुरा कानुनमा व्यक्त वा अव्यक्त रूपले प्रतिलक्षित हुन्छन् ।’


मन्त्री पन्तले उपसमितिको प्रतिवेदन फाइनल प्रतिवेदन नभएको उल्लेख गर्दै समितिको प्रतिवेदन अन्तिम हुने भएकोले त्यस विषयमा शिक्षकहरु आपत्ति जनाउन नहतारिन आग्रह गरेका छन् । कतिपय टुङ्गिएका कुराहरूमा पनि अब फेरि रिभ्यु गर्ने अधिकार समितिमा रहेको उनको भनाई छ ।


उनले सम्बोधन गर्न सकिनेसम्म गर्न सकिने र सम्बोधन गर्न मन्त्रीको रूपमा कन्जुसाई नहुने दाबी गर्दै के गर्न सकिन्छ र के गर्न सकिन्न भन्ने कुरा दुवै पक्ष टेबुलमा बसेर छलफल गर्नुपर्ने बताए ।


‘शिक्षकका कतिपय माग त हामीले पूरा गरिसक्यौँ । त्यसैले सबै माग यही पालि पूरा हुन्छ । यही कानुनले सम्बोधन गर्नुपर्छ भनेर जानुभयो भने सरकारलाई गाह्रो पर्छ । सरकारलाई उहाँहरूले पनि सहयोग गर्ने हो । तर कतिपय कुराहरू सम्बोधन गर्न सकिनेसम्म गर्न सकिने कुराहरू के के छन् त्यसमा सम्बोधन गर्न मन्त्रीको रूपमा कन्जुसाई गर्नुपर्छ भन्ने म ठान्दिनँ । के गर्न सकिन्छ ? के गर्न सकिन्न भन्ने कुरा त हामी दुवै थरी टेबुलमा बसेर छलफल गर्नुपर्छ’ पन्तले भने ।


उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल गर्ने समय लाग्ने बताउँदै कमिटमेन्ट गरे अनुसार असार १५ सम्ममा प्रतिनिधि सभाबाट पारित गर्ने कुरालाई ध्यानमा राखिएको उनको भनाई छ । त्यो भन्दा अगाडि सहमतिका लागि वार्ताका ढोकाहरू खुला रहेको समेत मन्त्री पन्तले बताए ।


यसैगरी ट्रेड युनियनको सवालमा नेपाली जनतामा ठूलो प्रश्न रहेको बताउँदै कानुन निर्माताहरूले शिक्षकहरूको मात्र नभई जनताको प्रश्न र चासोलाई पनि ध्यानमा राख्नुपर्नेमा जोड् दिए ।


ट्रेड युनियन मुभमेन्टमा लाग्नुभएका विभिन्न साथीहरूलाई मेरो आग्रह के हो भन्दा उहाँहरूले ट्रेड युनियनलाई जसरी अगाडि बढाउनु भएको छ । त्यसलाई लिएर नेपाली जनतामा ठूलो प्रश्न छ है । त्यसैले हामीले कानुन बनाउँदा जनताको त्यो प्रश्न र चासोलाई पनि ध्यानमा राख्नुपर्छ । कानुन निर्माताहरूले शिक्षक साथीहरूको मात्र होइन ।


शिक्षाको कानुन बनाउँदा केन्द्रमा विद्यार्थीहरूको भविष्य, उनीहरूको शैक्षिक स्तरसँगै सामुदायिक विद्यालयहरूको पढाइ सुध्रिनु पर्नेम मुख्य चिन्ता रहेको बताए । उनले भने ‘यो कानुनले उनीहरूको शिक्षाको स्तरलाई अगाडि बढाउने काम गर्नुपर्छ । शिक्षकहरूको मात्रै मागको विषय होइन । त्यसैले सरकारको पनि शिक्षकको पनि जनताको पनि मूल चिन्ता भनेको सामुदायिक विद्यालयहरूको पढाइ सुध्रिनु पर्यो । ती विद्यालयहरू व्यवस्थित हुनुपर्यो र पढाइको स्तर राम्रो हुनु पर्यो भन्ने जनताको मुख्य चाहना हो । त्यसैले विधेयकले सम्बोधन गर्नुपर्ने कुरा यो हो । यो कुरामा चाहिँ सरकारको पनि शिक्षक साथीहरूको पनि र जनताको पनि चासो छ ।’