त्रिविले वार्षिक दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि आवेदन माग

काठमाडौं/७ जेठ – त्रिभुवन विश्वविद्यालयले ६६औँ वार्षिक दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि आवेदन माग गरेको छ ।


विभिन्न दाताहरूद्वारा त्रिविको वार्षिक दिवसको अवसरमा प्रदान गर्नेगरी स्थापित पुरस्कारहरूमध्ये त्रिभुवन विश्वविद्यालयको ६६औँ वार्षिक दिवसको अवसरमा त्रिविका अध्ययन संस्थान र संकाय अन्तर्गत प्रदान गरिने पुरस्कारका लागि आवेदन मागेको हो ।


आव २०८०-२०८१ (२०८० श्रावणदेखि २०८१ असार मसान्तसम्म) को लागि नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएकोले पुरस्कारहरूको नाममा निर्धारित मापदण्डभित्र पर्ने विद्यार्थीहरूले १५ दिनभित्र आइपुग्ने गरी सम्बन्धित क्याम्पस र कार्यालयको पत्रसहित अध्ययनसँग सम्बन्धित डीन कार्यालयमा दुई र दुई प्रति शोधपत्र, व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि (स्नातकोत्तर तहको ट्रान्सकृप्ट र मूल प्रमाणपत्रको प्रतिलिपि) समेत संलग्न गरी आवेदन दिन सक्ने छन् ।


आवेदनसाथ प्राप्त शोधपत्रहरूको मूल्याङ्कनपछि उत्कृष्ट ठहरिएकोलाई पुरस्कृत गरिने विश्वविद्यालयले जनाएको छ । श्री कृष्णचन्द्र रेग्मी पुरस्कार १ जनालाई, श्री महेशचन्द्र मनदेवी रेग्मी पुरस्कार १ एक जनालाई, श्री बालकृष्ण रिजाल पुरस्कार १ जनालाई र बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार भाषा विज्ञानमा १ तथा पत्रकारितामा १ जनागरी दुई जनालाई प्रदान गरिने छ ।