काठमाडौँ /३० बैशाख – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा डि २ र डि ४ भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि तत्काल एनओसी दिन बन्द गरेको छ । उक्त भिसामा अध्ययनमा भन्दा रोजगारीमा बढि प्राथमिकता दिएर विद्यार्थीहरू जाने गरेको भन्दै तत्कालका लागि एनओसी दिन बन्द गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै अण्डर ग्य्राजुएट कोर्स अध्ययन गर्न जाने विद्यार्थीहरू सुरुदेखि नै रोजगारीमा बढि प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, पढाईको समय कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालो सूचिमा राखेका विश्वविद्यालयहरूमा समेत विद्यार्थी पठाउने गरेको, जस्ता समस्याहरू देखिएकोले तत्कालका लागि एनओसी दिन रोकिएको जनाएको छ ।
साथै कोरियामा अध्ययन गर्न जाने व्यवस्थामा व्यवस्थित एवं नियमन गर्नुपर्ने आवश्यकता देखिएको सन्दर्भमा, कोरियामा अध्ययन गर्नको लागि प्रदान गर्ने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लाई व्यवस्थित एवं नियमन गर्ने उपायहरूका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न एक कार्यदल बनेको र उक्त कार्यदलको सिफारिसको आधारमा थप निर्णय गर्ने गरी अहिलेका लागि एजओसी रोकिएको जनाएको छ ।




