झापा/२३ बैशाख – झापाको दमक नगरपालिकामा सोही नगरमा रहेको सामुदायिक विद्यालय सरस्वती माविले अनिश्चितकालीन तालाबन्दी गरेको छ । सरस्वती माविको नाममा दमक ८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन रहँदा पनि दमक नगरपालिकाले नहटाएको भन्दै सरस्वती माविले आज मंगलबार तालाबन्दी गरेको हो ।
विद्यालयको नाममा रहेको जग्गामा बिगत केही वर्षदेखि गडमदर एकेडेमी एण्ड टेक्नोलोजी नामक निजी विद्यालय सञ्चालन भइरहेको छ । उक्त निजि विद्यालयलाई नयाँ शैक्षिक सत्र २०८२ देखि हटाउने दमक नगरपालिकाले २०८१ सालको भाद्र महिनामा निर्णय गरेको थियो ।
उक्त निर्णयको बेवास्ता गर्दै हाल नयाँ शैक्षिक सत्र २०८२ को बैशाख महिना पनि अन्तिम हुनलाग्दा समेत नहटाएको भन्दै नगरपालिका कार्यालयको मुख्य प्रशासनिक भवनमा अनिश्चितकालीन तालाबन्दी गरिएको सरस्वती मावि व्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरी ( गगन पुरि) ले जानकारी दिए ।
पुरिको टोलिले दमक नगरपालिकामा बैशाख ३ गते एक हप्ता भित्र उक्त निजि विद्यालय हटाउन दिएको ज्ञापनपत्रको बेवास्ता गर्दै विद्यालय सञ्चालन गरेपछि नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरिएको जनाएका छन् ।
नगरपालिकाले प्रतिबद्धता पूरा नगरेपछि अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको हो,’ पुरिले भने । ‘नगरपालिकालाई पटक पटक लिखित र मौखिक अनुरोध गर्दा पनि विद्यालयको जग्गाबाट निजी विद्यालय नहटाएपछि हामी बाध्य भएर अनिश्चितकालीन तालाबन्दी गर्न पुग्यौँ ।’
गडमदर नामक निजी विद्यालयले सुरुवातमा सरस्वती माविसँग सम्झौता गरेर विद्यालय सञ्चालन गरिरहेको थियो । तर, २०७३ मा पाँच वर्षे सम्झौता सकिएपछि सरस्वती माविले सम्झौता गरेको छैन । २०७३ सालदेखि नै अनधिकृत रूपमा सामुदायिक विद्यालयको जग्गामा निजी विद्यालय सञ्चालन गरिरहेको सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरीले जानकारी दिए । तालाबन्दीपछि दमक नगरपालिकाको दैनिक कामकाज अवरुद्ध भएको छ ।



