काठमाडौं/२० बैशाख – कक्षा–१२ को परीक्षा हलमा मोबाइल फोन लगायत अन्य ‘इलेक्ट्रोनिक्स डिभाइस’ प्रयोग गरे कारबाही गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बैशाख २१ गतेबाट सञ्चालन हुने परीक्षामा मोबाइल फोन तथा स्मार्ट घडी लगायत ‘इलेक्ट्रोनिक्स डिभाइस’ लैजान निषेध गरिएको हो ।
त्यस्ता मोबाइल जफत, कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने परीक्षा नियन्त्रक कार्यालयले शनिबार जारी गरेको सूचनामा भनिएको छ ।
“परीक्षालाई मर्यादित एवं व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलभित्र मोबाइल फोन तथा स्मार्ट घडीलगायतका अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजान पूर्ण रूपमा निषेध गरिएको बेहोरा सम्पूर्ण केन्द्राध्यक्ष एवं परीक्षार्थीहरूमा अनुरोध छ । सूचनालाई अवज्ञा गरी परीक्षाहलमा मोबाइलको प्रयोग गरेको पाइएमा त्यस्ता मोबाइलहरू जफत गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनुका साथै सम्पूर्ण विषयको परीक्षा रद्द हुने बेहोरा समेत विद्यार्थी, अभिभावक एवं सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराइन्छ” सूचनामा भनिएको छ ।



