नियमित पठन–पाठन सुचारु गर्न निर्देशन

तनहुँ/१० बैशाख – तनहुँको आँबुखैरेनी गाउँपालिकाले नियमित पठन–पाठन सुचारु गर्ने सबै विद्यालयलाई निर्देशन दिएको छ । लामो समय सम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरूमा प्रत्यक्ष असर परेको भन्दै शैक्षिक तथा प्रशासनिक कार्यहरू तत्काल सञ्चालन गरी पठनपाठन गर्न निर्देशन दिएको हो ।


विद्यालयमा नियमित पठनपाठनलाई निरन्तरता दिई आफ्ना मागहरू सरकारद्वारा सम्बोधन गराउनका लागि वैकल्पिक तवरले माग उठान पालिकाको अनुरोध छ । साथै सम्पूर्ण विद्यालयहरूले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरू तत्काल सञ्चालन गरी यही बैशाख १४ गते बाट नियमित रूपमा विद्यालय सुचारु गर्न पालिका अन्तर्गतका सबै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरूलाई निर्देशन दिएको छ ।


शिक्षकहरूको जायज मागका लागि हाल चलीरहेको आन्दोलन प्रति ऐक्यबद्धता रहेको भन्दै सूचनामा भनिएको छ ‘लामो समय सम्म विद्यालय बन्द रहँदा भविष्यका कर्णधारका रूपमा रहेका विद्यार्थीहरूमा प्रत्यक्ष असर परेको ब्यहोरा सर्वविदितै छ । नेपालको संविधानले नै बालबालिकाले पढ्न पाउने हकलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको छ । साथै आफ्नो वार्षिक नीति, बजेट तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागि आँबुखैरेनी गाउँपालिका हरदम प्रयत्नशील रही आएको छ ।’