काठमाडौँ /२० चैत – गुणस्तरीय शिक्षा आजको जल्दोबल्दो आवश्यकताभएको र यसले युगबोधलाई समेट्ने उदेश्यका साथ काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र कारखाना नेपालबिच सम्झौता भएको छ ।
विश्वविद्यालयमा रहेको निरन्तर तथा पेसागत शिक्षाकेन्द्र (सिपिइसी) मार्फत कारखानाको शैक्षिक आवश्यकता पहिचान, शैक्षणिक पाठ्यक्रम निर्माणमा सहकार्य, शैक्षणिक कार्यशाला र परामर्श, आवश्यकता अनुसार अनुगमन(मूल्याङ्कन तथा पृष्ठपोषण जस्ता कार्यसम्पादनार्थ कारखानासँग निरन्तर सहकार्य गर्ने र शिक्षकहरूको पेसागत अभिवृद्धि गर्ने हेतुले आरपिएल मोडल (पूर्व ज्ञान स्वीकृति ढाँचा) अन्तर्गत सम्झौता भएको हो ।
आरपिएल मोडल (पूर्व ज्ञान स्वीकृति ढाँचा) भन्नाले व्यक्तिले औपचारिक वा अनौपचारिक रूपमा सिकेका ज्ञान, सीप, र अनुभवलाई औपचारिक रूपमा मान्यता दिने प्रक्रिया हो । यस मोडल अन्तर्गत, व्यक्तिको सिकाइलाई तोकिएको मापदण्ड वा योग्यता अनुसार मूल्याङ्कन गरिन्छ । यसले सिकाइको लचकदार अवसर प्रदान गर्छ, जसले गर्दा व्यक्तिले पहिल्यै सिकेका सीपहरूको मान्यता पाएर औपचारिक प्रमाणपत्र प्राप्त गर्न सक्छन्, जसले समय र खर्च दुवै बचत गर्न मद्दत गर्दछ ।
यस मोडलले व्यावसायिक विकास तथा करियर उन्नतिमा पनि ठुलो योगदान पुर्याउँछ, किनभने यसले अनुभवबाट प्राप्त सीपलाई प्रमाणित गर्ने अवसर प्रदान गर्छ । यसले रोजगारीका अवसरहरू बढाउनुका साथै पेसागत रूपमा व्यक्तिहरूलाई आफ्ना योग्यता प्रमाणित गरेर जागिरमा उन्नति प्राप्त गर्न सहयोग गर्दछ ।
कारखानासँगको यस सम्झौताको मुख्य उद्देश्य विभिन्न सीपमूलक कार्य क्षेत्रमा दक्ष तर औपचारिक प्रमाणपत्र नभएका जनशक्तिलाई मान्यता दिने उदेश्य रहेको छ । जसले उनीहरूको रोजगारको सम्भावना बढाउँछ । विशेष गरी नेपालमा प्राविधिक तथा व्यावसायिक तालिमका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि यो मोडेललाई उपयोगी बनाएर अघि बढ्नु पनि सम्झौता उल्लेख छ ।
आरपिएल मोडेलले जीवनभर सिकाइको अवधारणासँग मेल खाने भएकाले भविष्यमा यसको प्रभावकारिता अझ वृद्धि हुने कुरा पनि सम्झौता समावेश छ । काठमाडौँ विश्वविद्यालयका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुईटेल र कारखानाका तर्फबाट पवित्र बहादुर गौतम र सुनोजदास श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रा. डा.लुइटेलले यस सहकार्यबाट शिक्षकको पेसागत सीप अभिवृद्धि, विद्यार्थीको शैक्षिकस्तर सुधार तथा २१ औँ शताब्दीका सीपहरू एवम् सेवा आदानप्रदान हुने कुरा व्यक्त गरे ।
कारखानाका तर्फबाट सिइओ गौतमले विश्वविद्यालयसँगको यस सहकार्यले शिक्षा आर्जनका निम्ति कारखानाको ढोकासम्म आइपुगेका सम्पूर्ण शिक्षकहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने तथा विद्यार्थी एवम् विद्यालयको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने दृढ विश्वास रहेको बताए ।



