जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित सडक बालबालिका

काठमाडौँ /२० चैत – जन्मदर्ता नहुँदा सडक बालबालिकाले अहिले पनि शिक्षा पाउने अधिकारबाट वञ्चित हुन परेको बताएका छन् । उनहरूले आफुहरूको पहिचान राज्यले नदिँदा माथिल्लो कक्षामा पुगेपछि विद्यालय नै छाड्नुपर्ने दुःख व्यक्त गर्दै शिक्षाबाट वञ्चित हुन परेको बताएका हुन् ।


बालबालिका क्षेत्रमा काम गर्ने संस्था ‘साथसाथ’ ले मंगलबार आयोजना गरेको ‘बालिकाको जन्मदर्ता सम्बन्धी पैरवीपत्र प्रकाशन’ सार्वजनिक कार्यक्रममा तीन पुस्तासम्म कानुनी पहिचान नभएका बालबालिकाले जन्मदर्ता बनाउन नसक्दा राज्यबाट पाउने कुनै पनि सुविधा तथा शिक्षाबाट वञ्चित भएको जनाएको छ ।


कार्यक्रममा जन्मदर्ता नहुँदा नागरिकता विहीन सञ्जय राई र राजेश ठकुरीले अभिभावकको पहिचान नहुँदा नागरिकता बनाउन नसकिएको र आफ्ना छोराछोरीलाई पहिचान दिन नसक्दा शिक्षामा असर परेको बताए । उनिहरूले राज्यबाट पाउने सुविधा र जीविकोपार्जनका लागि काम पाउनसमेत कठिनाइ भएको दुःख व्यक्त गरे ।


साथसाथ संस्थाकी स्रोत व्यक्ति कविता शाहले संस्थाले २७ वर्षदेखि जोखिममा परेका सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र त्यसक्रममा ५२ जिल्लाका बालबालिकाले जन्मदर्ता नहुँदा नागरिकता बनाउन कानुनी र व्यावहारिक चुनौती रहेको उल्लेख गरिन् ।


पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले घटना भएको स्थानमा स्थानीय वडाका सचिवले घटना दर्ता र बाबुआमाको ठेगाना नभएका बालबालिकाले पनि वडा अध्यक्ष, संस्था र व्यक्ति संरक्षक भएको अवस्थामा पनि जन्मदर्ता गर्न सकिने व्यवस्था रहेको बताए । यस्ता बालबालिकालाई स्थानीय तहबाट नै जन्मदर्ता गराएर अन्य कामकारबाही गर्न सकिने भन्दै उनले त्यसका लागि विभागले पनि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।


राष्ट्रिय बाल परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालबालिकाको जन्मदर्ता प्रक्रिया सरल, सहज बनाउने र कुनै पनि बालबालिका राज्य विहीन नहुने अवस्था बनाउनुपर्नेमा जोड् दिइन ।


कार्यक्रममा सार्वजनिक वकालत पत्रमा तीन पुस्तासम्म कानुनी पहिचान नहुँदा सडक बालबालिकाको नागरिकता बनाउन नसकिएको र नागरिकता बनाउन नसक्दा पढ्ने, मोबाइलको सिम लिने, बैँक खाता खोल्नेजस्ता राज्यबाट प्राप्त हुने धेरै सुविधाबाट वञ्चित भएको उल्लेख छ । आयोजक संस्थाले हाल एक सय पाँच सडक बालबालिकालाई संरक्षण दिइरहेको जनाएको छ ।