मोरङ/२० चैत – श्री प्यारी अर्धाङ्गिनी,
शारीरिक रूपमा भने म ठिकठाक छु । मानसिक रूपमा भने ममाथि निर्मम प्रहार भैरहको छ । अन्यत्र प्रतिस्पर्धामा कमजोर भएकाको एक मात्र कार्यक्षेत्र शिक्षक हो भनेर सिङ्गो समाजले लाञ्छना लगाएको छ । मेरो स्वाभिमान, इमान्दारीपन, कर्तव्यनिष्ठतामा बारम्बार प्रश्न गरी मेरो हुर्मत लिने काम भइरहेको छ । यो पेसामा रहुन्जेल म हरेकदिन मरी मरी बाँचिरहेको छु । वसन्तको महिनामा सिङ्गो प्रकृति खुसी भइरहँदा म काठमाडौँको खाल्डोको यात्रा गर्दै छु पीडा र वेदना बोकेर मीठो सपनाका लागि, म मेरो पहिचानका लागि, आउने पुस्ताको एक मात्र रोजाइको पेसा बनाउनका लागि ।
प्रिया, तिन महिनामा एक पटक भरिएर आएको तलब तिन दिनमै ऋण तिर्दै सकिन्छ । आजसम्म साहुको तिन तिन महिनामा साँबा व्याजसहित ऋण बुझाउँदा इमान्दार ऋणी भएको छु, पसलेलाई एकमुस्ट खाएको सामलको पैसा तिर्दा छाती गर्वले फुलेको छ । विद्युत् प्राधिकरणको फाइनसहित पैसा तिर्दा खुसीले पुलकित भएको छु । आजसम्म शिक्षक भएर यति सन्तुष्टि मिलेको छ । यस्तै प्रकारका साना साना खुसीले जीवनलाई धन्य बनाउन सफल भएको छु । प्यारी तिमीले पनि आफ्ना कति धेरै रहर र सपना धितो राखेर शिक्षककी सारथी हुँ भन्ने गर्व गर्न पाएकी छौँ । मैले आजसम्म यस्तैमात्र खुसी दिन पाएको छु ।
चैतको २० गते मेरा केही साथीहरूको समूहले विद्रोह गर्न आह्वान गरिरहेका छन् । साथीहरूसँग कैयन् असन्तुष्टि भए पनि पेसाकर्मीका हिसाबले असन्तुष्टिका बाबजुद पनि मैले साथ दिन जानै पर्छ । राज्य कहिले काँही निर्दयी हुन्छ, मेरो छातीमा गोली हानेछ भने तिमी नरुनु । तिम्रो सिन्दूर पुछेर भए पनि हाम्रा सन्ततिले म शिक्षककै हुन्छु भनेर जिद्दी गर्न सक्ने अवस्थाका लागि मैले काठमाडौँ खाल्डो जानै पर्छ । यसले म शिक्षककी पत्नी हुँ । सारथी हुँ भनेर स्वाभिमानका साथ जिउन पाउने छांै ।
म झोले भएँ रे । पढाइन् रे । केही साथीहरूले नेताको झोला बोके होलान् । नेताको छत्रछाँयामा बसेर पढाएनन् होला । केहीले गरे होलान् आज सबै शिक्षक उही हुन् भन्दै तिमीले मेरा लागि गरेको दुःखको अपमान गर्दै छन् । म कसरी सहूँ तिम्रो मिहिनेतको अपमान ? म कसरी चुप बसूँ मैले जीवन समर्पण गरेको पेशाको अपमान ? त्यसैले प्रिया मैले काठमाडौँ जानै पर्छ ।
म कसरी सहूँ अनेकन लाञ्छना, तिरस्कार, अपमान घृणा ? मैले रहरले अपनाएको पेसा, मेरो शैक्षिक र बौद्धिक सामथ्र्यको क्रीडास्थलमा प्रहार गरेको मैले टुलुटुलु हेनै सकिनँ । काँचो माटोमा सुन्दर आकृति खोज्न हमेसा लागेको मान्छेलाई बेढङ्गी भन्दै गिज्याएको मैले सहन सकिनँ । त्यसैले मेरी जीवन सङ्गिनी माफ गर म काठमाडौँ जानै पर्छ । यसलाई मैले अन्तिम सङ्घर्ष मानेको छु । कि जितिन्छ कि बितिन्छ भन्दै आफ्नै ज्यानको प्रवाह नगरी म खाल्डो जाने भएको छु । मेरा नेताले युद्ध मैदानबाट पिठ्युँ देखाएनछन् भने मैले अवश्य जित्ने छु । म खुसी बोकेरै फर्कने छु । पशुपतिनाथले तिम्रो सिन्दूरको रक्षा गर्ने छन् । यसमा म विश्वस्त छु ।
उही तिम्रो पति
प्रशान्त निरौला, शिक्षक, श्री सर्वोदय मावि, धनपालथान ७ मोरङ