काठमाडौँ /२५ माघ – पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ संकायको डिनको हैसियतले चार वर्षे कार्यकाल पूरा भएको छ । इन्जिनियरिङ संकायको पहिलो डीनको रूपमा कार्यरत रहँदा यस संकायले सम्पन्न गरेका, हाल सम्पन्न गर्ने योजनामा रहेका र गर्न वाँकी रहेका शैक्षिक उन्नयनका गतिविधिलाई प्रस्तुत गर्न चाहन्छु ।
विज्ञान तथा प्रविधि संकायबाट इन्जिनियरिङ संकायलाई छुट्याइए पछि केन्द्रीय कार्यालय गोठगाउँ भित्र संकाय अफिस स्थापना भइ पहिलो डीनको रूपमा कार्यभार सम्हाल्दा जति खुसी महसुस भएको थियो त्यो भन्दा बढी चुनौतीहरू थिए । ति चुनौती भित्र अवसर पनि देखिन्थे जसलाई क्रमशः समाधान गर्ने दिशामा कामहरू भएका छन । २०७९ साउन महीना देखी डीन कार्यालय पुष्पलाल चोक विराटनगरमा व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको छ । गत ४ वर्षमा मेरो नेतृत्वमा इन्जिनियरिङ संकायमा भए गरेका कार्य र आगामी दिनमा सम्पन्न गरिने कार्ययोजनाहरूलाई निम्न रूपमा प्रस्तुत गर्न चाहन्छु ।
सम्पन्न कार्यहरू :
१. इन्जिनियरिङ संकाय अन्तर्गत स्नातक तहका विभिन्न ७ वटा कार्यक्रमका १० वर्ष पुराना सिलेवसलाई विषय समिति मार्फत संशोधन तथा पुनर्लेखन गराई राष्ट्रिय तहका कार्यशालाहरूमा छलफल र संशोधन सहित प्राज्ञिक परिषद्बाट अनुमोदन भइ उक्त संशोधित सिलेवसलाई पाठ्यक्रममा लागु गरिएको छ ।
ईण्डष्ट्रि र एकेडेमियाबिच को सम्बन्ध स्थापित गर्न स्नातक तहको अन्तिम वर्ष ८ औँ सेमेस्टरमा ३ महिने इन्र्टनशिपलाई अनिवार्य रूपमा सिलेवसमा समावेश गरिएको छ ।
२. स्नातकोत्तर तहका पाठ्यक्रमलाई समेत संशोधन गरि गत २ वर्षदेखी नयाँ तथा संशोधित पाठ्यक्रम लागु गरिएको छ ।
३. आंगिक क्याम्पस विराटनगरमा Earthquake Engineering, Construction Management तथा Eectrical Power System Engineering का स्नातकोत्तर तहका नयाँ कार्यक्रम सञ्चालन भएका छन् । त्यस्तै काठमाण्डौँ उपत्यकास्थित अन्य २ वटा सम्बन्धन प्राप्त कलेजले समेत स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न आवश्यक प्रक्रिया पु¥याई अनुमति प्राप्त गरि अध्यापन कार्य सञ्चालन गरेका छन । यी कार्यक्रमहरू अध्ययन गर्न पहिलो र दोस्रो ब्याचको प्रवेश परीक्षामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो ।
४. मूल्याङ्कन पद्धतिलाई स्वस्थ, स्तरीय र क्षेत्रीय/अन्तर्राष्ट्रिय मापदण्ड सरह बनाउन आन्तरिक तथा फाइनल मूल्याङ्कन पद्धतिलाई परिमार्जन गरि विद्यार्थीको continuous evaluation system लाई लागु गरिएको छ, जहा विद्यार्थी र विषय शिक्षकलाई बढी जिम्मेवार बनाइएको छ ।
५. आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पस/कलेजको स्थलगत रूपमा निरीक्षण गरी आवश्यकता अनुसार भौतिक पूर्वाधार, प्रयोगशाला र पठन पाठन कार्यको स्तर उन्नयन गरी स्तरीय सेवा दिन पटक पटक निर्देशन तथा अनुगमन गरिएको छ ।
६. पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय तथा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान र मनमोहन टेक्निकल विश्वविद्यालयबिच मानवीय संसाधन तथा प्रयोगशाला र अनुसन्धान कार्यमा एक अर्काबिच पारस्परिक सहयोग समन्वय गर्ने सम्बन्धमा डिनको तहबाट सम्झौता सम्पन्न भएका छन् । र सोही सम्झौता अनुरूप हाल मास्टर्स तथा ब्याचलर तहमा केही कार्यक्रममा शिक्षकहरूको सहभागिता हुँदै आएको छ ।
७. युरोपियन युनियनद्वारा आर्थिक सहयोग गरिएको एराजमस एक्सेस प्रोजेक्टमा आफै संयोजक रही कलाईमेट चेन्ज एण्ड सस्टनेबलिटी प्रोजेक्ट सुरुवात भई कार्य भई रहको ।
८. पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय तथा काठमाडौँ विश्वविद्यालयबिचRenewable and Sustainable Energy Laboratory (RSEL) प्रदेश नं १ का लागि Solar & Renewable Energy focusing in Province–1 मार्फत सहकार्यको कार्य सुरुवात गरिएको छ ।
९. कक्षा सञ्चालनलाई व्यवस्थित बनाउन र समयमै कोर्स सम्पन्न गर्न नियमित रूपमा एकाडेमिक क्यालेन्डर प्रकाशन गरि त्यसलाई कडाइका साथ पालना गर्न सम्बन्धित स्कुल/कलेज/क्याम्पसलाई निर्देशन प्रदान गरिएको छ ।
१०.परीक्षा व्यवस्थापन कार्यालयमा इन्जिनियरिङ संकायको नतिजालाई छिटो छरितो र प्रभावकारी बनाउन डेपुटी कन्ट्रोलरको व्यवस्थापन भएको छ ।
११. विश्वविद्यालय अन्तर्गतका सबै कलेजबिचको मास्टर्सको थेसिस रिपोर्टको स्ट्रक्चरमा एकरूपता कायम गरिएको छ । साथै थेसिसको डिफेन्स वर्षमा ३ पटक (भाद्र, माघ र जेठ महीना) तोकिएको छ ।
१२. प्रवेश परीक्षाको लागि अनलाईन विधिबाट प्रवेश परीक्षाको आवेदन फाराम र दस्तुर र डकुमेन्ट बुझाउने कार्य सञ्चालनको सुरुवात भएको छ ।
१३. विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेज व्यवस्थापनसँग शैक्षिक गुणस्तर उकास्न नियमित बैठक गरी समस्याको पहिचान र आवश्यकता अनुसार समाधानका उपायबारे छलफल सहित क्रमशः कार्यान्वयन गर्ने गरिएको छ ।
१४. प्रवेश परीक्षा विनियमावली तथा छात्रवृत्ति विनियमावलीमा देखिएका त्रुटि तथा कमजोरीलाई संशोधन तथा परिमार्जन गरी नयाँ विनियमावली लागु गरी सोही अनुरूप कार्य सञ्चालन गर्न थालिएको छ ।
१५ इलेक्ट्रोनिक्स एण्ड टेलकम्युनिकेशन इन्जिनियरिङ विषयको नाम परिवर्तन गरी इलेक्ट्रोनिक्स टेलकम्युनिकेशन एण्ड अटोमशन इन्जिनियरिङ राखि एकाडेमिक काउन्सिलबाट अनुमोदन गराउने कार्य भएको छ । यस विषयमा बढी रोजगारमुखी तथा अत्याधुनिक विषयहरू समावेश गरिएको छ ।
१६. पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायको आफ्नै वेबसाइट तथा इमेल बनाई सोही माध्यमको प्रयोग गरि आवश्यक सूचना सम्प्रेषण वा आदान प्रदान गर्ने गरिएको छ ।
१७. गत वर्ष आंगिक क्याम्पसमा अत्यावश्यक रहेका सहायक प्राध्यापकका रिक्त करार पदहरूमा लिखित, मौखिक तथा प्रयोगात्मक विधि अपनाई खुल्ला प्रतिस्पर्धाबाट ९ जना योग्य शिक्षकको नियुक्तिको लागि कार्यकारी परिषद्मा सिफारिस पठाइएको र सोही अनुसार नियुक्ति भएको छ ।
१८. पूर्वाञ्चल विश्वविद्यालय र इन्जिनियरिङ संकायले हाल गरिरहेका काम तथा भावी योजना/कार्यक्रमबारे समय समयमा विभिन्न संचार माध्यमबाट जानकारी गराउने गरिएको छ ।
१९.जेहन्दार छात्रवृत्ति पाउने विद्यार्थीको सुविधा पनि आरक्षित छात्रवृत्ति पाउने विद्यार्थी सरह बनाउने प्रक्रिया अगाडी बढाईको छ ।
२०.अध्ययन/अनुसन्धानलाई प्रोत्साहन तथा अगाडी बढाउन डीन कार्यालय अन्तर्गत रिसर्च युनिट गठन गर्ने अगाडी बढाइएको छ । शिक्षकहरूलाई उच्च अध्ययन तथा अनुसन्धान तथा पिएचडी डिग्रीको निमित्त अभिप्रेरित गर्ने योजना रहेको छ ।
सञ्चालनमा रहेका योजनाहरू :
१. इन्जिनियरिङ संकाय अन्तर्गत स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालन गर्ने उद्देश्यले यसै आर्थिक वर्षसम्ममा सफ्टवेयर तथा हार्डवेयर जडान गर्ने कार्य सम्पन्न गरिनेछ ।
२. पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय अन्तर्गतका आंगिक कलेज र डिन कार्यालयबिच गतवर्ष गरेका कामको समीक्षा र आगामी योजनाबारे अन्तरक्रिया कार्यक्रम गरिनेछ ।
३. आंगिक क्याम्पसमा आउँदो शैक्षिक सत्रसम्ममा सिभिल तर्फ २ र कम्प्युटर र इलेक्ट्रनिक्स तर्फ १/१ गरि थप ४ विषयमा स्नातकोत्तरका थप कार्यक्रम सञ्चालन गरिनेछ ।
४. परीक्षालाई थप व्यवस्थित बनाउँदै परीक्षा सकिएको ३ महीना भित्रमा नतिजा प्रकाशन गर्न परीक्षा व्यवस्थापन कार्यालयलाई आवश्यक सहयोग तथा कोअर्डिनेसन गरिनेछ ।
५. आंगिक क्याम्पसमा स्नातक तहमा बायोमेडिकल र आर्कीटेक्चर जस्ता कार्यक्रम सन्चालन गर्न पहल गरिनेछ ।
६. आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा स्मार्ट क्लास रुमको व्यवस्थापन र सञ्चालन गर्न अभिप्रेरित गिरिनेछ ।
७. विषय सम्बन्धित व्यवस्थित पुस्तकालय तथा साईन्टिफिक जर्नलमा विद्यार्थी शिक्षकको पहुँचलाई सुनिश्चित गर्न पहल गर्ने ।
८. भारत तथा अन्य विदेशी विश्वविद्यालयसँग सहकार्य र फेकल्टी उन्नयन गर्न सम्बन्धित कलेज तथा निकायहरूसँग सहकार्य समन्वय र अन्तरक्रियालाई निरन्तरता दिइनेछ । आशा तथा विश्वास छ यस्ता कार्यले निरन्तरता पाउनेछ र इन्जिनियरिङ संकायलाई विश्वविद्यालयको एक सम्मानित संस्थाको रूपमा विकास गर्न सकिन्छ र कोशी प्रदेशको राजधानी विराटनगरलाई इन्जिनियरिङ शिक्षाको केन्द्रको रूपमा विकास गर्न सकिनेछ ।
भविष्यमा गर्नुपर्ने कार्यहरू :
१. आंगिक क्याम्पस बलियो नभईकन इन्जिनियरिङ फ्याकल्टि तथा पियु बलियो हुँदैन । आंगिक कलेजमा कार्यक्रम चलाउन अपर्याप्त तथा पुरानो जीर्ण भवनको ठाउँमा साधन सम्पन्न भवन बनाउन हालसम्म कुनै पहल भएको देखिदैन । गत ४ वर्ष देखी भवन निर्माणको बजेट निकासा हुँदा पनि निर्माण सम्बन्धी उल्लेख्य कार्य नभएकोले उक्त कार्य गर्न खास पहल नभएको ।
२.बायोमेडिकल इन्जिनियरिङ र आर्किटेक्चर जस्ता प्रचुर सम्भावना भएका कार्यक्रम सञ्चालन गर्न नसकिएको ।
३. सामान्यत विश्वविद्यालयमा फेकल्टी र स्टाफ (शिक्षक कर्मचारी) को रेसियो १ः१ हुने गर्छ तर पियुमा ३ गुणा बढी कर्मचारी छन, जसले गर्दा प्रशासनिक खर्च अत्यधिक छ , तर सेवा प्रवाहमा सो अनुरूप प्रतिफल देखिदैन ।
४. समयमा परीक्षा, समयमा नतिजा नारामा मात्र सीमित रहेको । सेमेस्टर सिस्टममा परीक्षा तथा नतिजा ६/७ महिना मात्र हुँदा यहाँ विद्यार्थी कसरी आकर्षित हुन्छन ? परम्परागत मेनुअल प्रणालीको सट्टा स्वचालित सफ्टवेयरको प्रयोग गर्ने पहल हालसम्म हुन नसकेको ।
५. अघिल्लो कार्यकारीले स्नातकोत्तर तहको परीक्षाको कार्यक्रम डीन कार्यालयले गर्ने भनि गरेको निर्णय हालसम्म कार्यान्वयन नभएको ।
६. परीक्षा लाई चुस्त, समयानुकूल प्रविधि मैत्री बनाई समयमा परीक्षा समयमा नतिजा गर्न÷गराउन संयन्त्र तयार गर्ने दिशातर्फ अहिलेसम्म पहल भएको देखिदैन । परीक्षामा प्रश्न पत्र बनाउँदा, एन्सर सिट चेक गर्दा पारिश्रमिक अत्यन्त न्यून राखिएकोले शिक्षकहरू ती कार्यहरू गर्न खास आकर्षित देखिदैनन ।
७. रिसर्च, तालिम तथा परामर्श कार्यमा शिक्षक कर्मचारीलाई सक्रिय रूपमा सहभागी गराउन नसकिएको ।
अव नियुक्त हुने डीनले माथि उल्लिखित कार्यहरूलाई प्राथमिकतामा राखी कार्यान्वयन अघि बढाउन सके मात्र विश्वविद्यालयले इन्जिनियरिङ शिक्षामा गुणस्तरीय हासिल गर्न सक्ने छ, नत्र विद्यार्थीको खडेरी प्रत्येक वर्ष खेपी रहनु पर्ने वाध्यता कायम रहनेछ । जय पूर्वाञ्चल विश्वविद्यालय ।
लेखक देवीप्रसाद भट्टराई पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका पहिलो डिन पूर्व डिन हुन् । भट्टराईको चार वर्षे कार्यकाल गत माघ १ गतेदेखि सकिएको छ । उनले चार वर्षमा विश्वविद्यालयमा रहेर सम्पादन गरेका कार्य, सुरु गरेका योजना र अब गर्नुपर्ने काम बारे व्यक्तिगत विचार राखेका छन् ।



