काठमाडौं/२७ माघ – प्रधानाध्यापक सङ्घ नेपाल (पान)ले देशभरिबाट उत्कृष्ट प्रधानाध्यापक, विद्यालय र स्थानीय तह छनोट गरी पुरस्कार तथा सम्मान प्रदान गर्न आवेदन आह्वान गरेको छ । आगामी २०८२ साल जेठ २६ र २७ गते हुने दोस्रो राष्ट्रिय सम्मेलनमा पुरस्कार तथा सम्मान प्रदान गर्ने जानकारी दिदै आवेदन माग गरेको हो ।
हरेक प्रदेशबाट आधारभूत तहका एक, एक जना र माध्यमिक तहका एक, एक जना उत्कृष्ट प्रधानाध्यापक, साथै देशभरिबाट एक जना आधारभूत तहका महिला प्रधानाध्यापक र एक जना माध्यमिक तहका महिला प्रधानाध्यापक छनोट गरि पुरस्कार तथा सम्मान प्रदान गरिने पानले जनाएको छ । खुला र महिलातर्फ गरी जम्मा १६ जना उत्कृष्ट प्रधानाध्यापक छनोट हुनेछन् ।
त्यस्तै, सातै प्रदेशबाट एक–एक वटा आधारभूत विद्यालय र एक–एक वटा माध्यमिक विद्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरिने जनाएको छ । यसअन्तर्गत देशभरिबाट १४ वटा विद्यालय पुरस्कृत तथा सम्मानित हुनेछन् ।
साथै, हरेक प्रदेशबाट एउटा गाउँपालिका र एउटा नगरपालिका, उपमहानगर तथा महानगरपालिकामध्येबाट एउटा उत्कृष्ट स्थानीय तह लाई पुरस्कार तथा सम्मान प्रदान गरिने छ । देशभरिबाट १४ स्थानीय तह पुरस्कृत तथा सम्मानित हुनेछन् ।
उत्कृष्ट प्रधानाध्यापकलाई प्रमाणपत्रका साथमा नगद पुरस्कार तथा सम्मान प्रदान गरिनेछ भने उत्कृष्ट विद्यालय र स्थानीय तहलाई प्रमाणपत्र प्रदान गरिने पानको भनाई छ । पुरस्कार तथा सम्मानका लागि फागुन २५ गतेभित्र आवेदन दिनुपर्ने छ । आवेदन स्वयं व्यक्ति वा संस्थाले पठाउन सक्ने वा अन्य कसैले सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ ।
आवेदन प्रधानाध्यापक सङ्घ नेपाल (पान) को इमेल [email protected] मा पठाउन सकिनेछ वा पानको कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्नेछ । साथै, httpsM//principalsassociation.org.np/ मा गई अनलाइन फारम भरी आवेदन दिन सकिनेछ ।



