काठमाडौं/१८ माघ – नेपाल शिक्षक महासङ्घले पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै माघ २० गतेदेखि देशै भरका शिक्षकहरूलाई आन्दोलनमा उत्रन निर्देशन दिएको छ । विगतमा सरकारसँग भएका सबै सहमति सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै आन्दोलनमा उत्रन निर्देशन दिएको हो ।
आजदेखि सुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनबाट शीघ्रातिशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै महासङ्घले पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । राज्यले अनेक बाहानामा विलम्ब गरी ऐन जारी हुन नदिने प्रयत्न र नियतमा सक्रिय भएको महासङ्घको आरोप छ ।
माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकले तयार गरेको पहिलो चरणका आन्दोलनका कार्यक्रमहरू आज सार्वजनिक गर्दै विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामा रहेकै बेला ऐनले सम्बोधन गर्नुपर्ने निवृत्तिभरण सम्बन्धी विषयमा आम शिक्षकहरूको भावना विपरीत अध्यादेश जारी हुनुले ऐन जारी हुन नदिने प्रयत्न भइरहेको पुष्टि भएको महासङ्घको निष्कर्ष रहेको छ ।
बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकका लागि उचित तलबमान, शिक्षक ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधिको खारेजी, मासिक तलब भुक्तानी जस्ता सरकारको निर्णयबाटै हुने सामान्य काम समेत नगरिनुले सरकार शिक्षा, शिक्षक कर्मचारी विरोधी सोच रहेको भन्दै यस्तो सोच नराख्न चेतावनी दिएको छ ।
२०७५, २०७८ र २०८० सालमा सञ्चालित आन्दोलनका बलमा नेपाल सरकारसँग महत्वपूर्ण सहमतिहरूलाई कार्यान्वयनमा ल्याउन सङ्घीय संसद्को हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी गर्नुपर्ने महासङ्घको ठहरसहित आन्दोलनमा जाने निश्चित भएको जनाएको छ । माघ २० गतेदेखि गर्ने आन्दोलन विद्यालय शिक्षा जारी नभएसम्म नरोकिने र आन्दोलनबाट पर्न जाने असरबारे सरकार आफै जिम्मेवार हुनुपर्ने महासङ्घको चेतावनी छ ।
महासङ्घको आन्दोलनका कार्यक्रम अनुसार स्थानीय तहमा माघ २० गते २०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस भन्ने नारा लेखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने, माघ २५ गते सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने, माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापनबिच अन्तरक्रिया गर्ने, माघ ३० गते हातमा कालोपट्टि बाधेर पालिका कार्यालयमा खबरदारी जुलुस गर्ने निर्णय गरेको छ ।
यसैगरी जिल्ला स्तरका आन्दोलनका कार्यक्रममा माघ २६ गते आन्दोलन परिचालन समिति गठन गर्ने, फागुन २ गते सबै इकाइमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने, फागुन ११ गते जिल्लाका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित सङ्घीय सांसदलाई ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ । प्रदेश तहमा फागुन ७ गते आन्दोलन परिचालन समिति गठन गर्ने, पाmगुन ९ गते सात वटै प्रदेश मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री समक्ष ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने घोषणा गरको छ ।
महासङ्घले राष्ट्रिय तहको कार्यक्रममा माघ १८ गतेदेखि फागुन १० गतेसम्म विभिन्न दलका सांसद, शिक्षा समितिका सभापति, शिक्षामन्त्री, राजनीतिक दलका प्रमुख तथा महासचिव, सभामुख, प्रधानमन्त्री लगायतलाई भेट गरेर ध्यानाकर्षण पत्र बुझाउने तथा अभिभावक महासङ्घ र विद्यार्थी संगठनहरूसँग अन्तरक्रिया गर्ने जनाएको छ । साथै फागुन १७ गते कालोपट्टी बाधेर काठमाडौँमा वृहत् जुलुस प्रदर्शन तथा खबरदारी सभागर्ने र फागुन १९ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।



