काठमाडौं/२० कार्तिक – काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन हुने छात्रावास (होस्टल )लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरुपता कायम गर्ने भएको छ ।
छात्रावासमा बस्ने छात्रा तथा छात्रहरुको अधिकतम् हितलाई सुनिश्चित गराउनका लागि र छात्रावासको नियमन व्यवस्थापन गर्नका लागि काठमाडौं महानगरपालिकामा अभिलेखीकरण हुन भनिएको छ ।
काठमाडौं महानगरपालिका छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा (३) मा छात्रावास सञ्चालन गर्न काठमाडौं महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने साथै दफा (८) बमोजिमको अनुगमन समितिले स्थलगत अध्ययन तथा अवलोकन र सुपरीवेक्षण गरी मापदण्ड पूरा भएको वा हुने अवस्था देखिएमा छात्रावास सञ्चालन गर्न अनुमति दिने व्यवस्था रहेकाले छात्राबास (होस्टल)ले अभिलेखीकरण हुन कागजात पेश गर्न सूचना जारी गरेको छ ।
साथै महानगरपालिकाभित्र तत्कालिन जिल्ला शिक्षा कार्यालयसमेतबाट छात्रावास (होस्टल) सञ्चालन अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी छात्रावास सञ्चालन गरिरहेका संस्थाहरुले गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिनभित्र काठमाडौं महानगरपालिका छात्रावास (होस्टल ) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बमोजिम अभिलेखीकरणका लागि निवेदनमा उल्लिखित फाराम भरी कागजात संलग्न गरी अभिलेखीकरणका लागि यस विभागमा कागजात पेश गर्नु सूचित गरेको छ । प्रचलित कानुनबमोजिम अनुमति नलिई सञ्चालन भएको पाइएमा कानूनबमोजिम कडा कारबाही हुने सूचनामा उल्लेख छ ।



