काठमाडौं/१७ कार्तिक – नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम कुमार घिमिरेले सामुदायिक विद्यालयको आस्थालाई समुदायबाट उठाउन शिक्षकहरूले राजनीति छोड्नुपर्ने बताएका छन् । उपाय नलागे मात्रै अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाएको तर विकल्प रहुँन्जेल कसैले पनि सामुदायिक विद्यालयमा नपढाएको बताउँदै आम जनताको विश्वास जित्न आवश्यक रहेको र त्यसका लागि शिक्षकले राजनीति त्याग्नुपर्ने बताएका हुन् ।
विद्यालय शिक्षा ऐन सम्बन्धी नेपाल शिक्षक महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कुनै समय अङ्ग्रेजी, गणित, विज्ञानका विषय शिक्षक भनेपछि ठुलो मर्यादा रहेको र अहिले कसैलेपनि यो मर्यादा र विषय शिक्षकका नामबाट नचिन्ने तर संघ संगठनको भनेर चिनिने गरेकोले विद्यालय शिक्षामा राजनीति गर्न नहुने बताए ।
उनले भने ‘अहिले संघ, परिषद्, मञ्च के के भनेर शिक्षकका संगठनहरू खोलिएको छ । यसमा हामी पनि जिम्मेवार छौँ । हामीलाई पनि भोट चाहिँदा प्रयोग गर्यौ, हामी त्यसमा दोसी छौँ । तपाईहरूलाई एउटा कुरा भन्छु राजनीति छोड्नोस् । व्यावसायिक शिक्षक बन्नोस, नगर्नुस राजनीति मेरो लागि भोट माग्नु पर्दैन, कसैका लागि पनि भोट नमाग्नोस ।’
घिमिरेले शिक्षकले नेताका लागि भोट माग्ने अनि नेताको पछुवा हौँ र भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै चुनावमा शिक्षक नै पछि लागेर हिड्ने गेरेको र चुनावको समयमा चोर, डाका, फटाहा, कुजा, लफुङ्गा जस्ले भोट दिन्छु भन्यो त्यसैलाई नेताले पक्रिने बताए । तर शिक्षकहरू राजनीतिमा नलाग्न उनको आग्रह छ ।
नेपालको कानुनले पनि सरकारी तलब लिएको मान्छेले कुनैपनि दलको सदस्यता लिन नमिल्लने व्यवस्था गरेको बताए । शिक्षक राजनीतिमा लाग्दा तत्काल मान र सम्मान बढेजस्तो देखिएपनि विद्यार्थीको नजरबाट मान सम्मान घटेको र स्वयम् राजनीतिक दलबाट पनि मान सम्मान घटेको उनको भनाई थियो । शिक्षकहरू राजनीतिमा लागेर व्यवसायी नहुँदा मर्यादा खस्किएको उनले दाबी गरे ।
दल भन्दा बढी शिक्षकहरूका संघ रहेको भन्दै संसदमा १० वटा दल रहेको तर शिक्षकहरूका संघ संगठनहरु त्यो भन्दा धेरै भएकोले शिक्षकहरू रिसाए पनि वा खुसाए पनि यसरी अब नचल्ने र अब कुनै पनि दलका संगठन नराखेर एउटा महासङ्घ भए पुग्ने बताए ।
हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन आउँछ
धेरै सांसद कर्तालाई आफ्नो विचार राख्न दिँदा समय लम्बिएको बताउँदै विद्यालय शिक्षा ऐन आउने हिउँदे अधिवेशनबाट कानुनका रूपमा आउने प्रतिबद्धता जनाउका छन् । संसदले शिक्षा ऐन नअल्झाएको सरकारबाटै आउन ढिला भएको बताउँदै अबको हिउँदे अधिवेशनमा विद्यालय शिक्षा ऐन कानुनका रूपमा आउने उनको भनाई छ ।
शिक्षकले भने अनुसारको ऐन बन्दैन
प्रमुख सचेतक घिमिरेले शिक्षकहरूले आफुहरुले भने बमोजिमको कानुन आउनुपर्छ भनिरहेको उल्लेख गर्दै स्टेकहोल्डर्सले जे भन्यो त्यही नहुने बताए । उनले भने तपाईहरू यो कानुनको एउटा साझेदार हो, साझेदारले जस्तो भन्यो त्यस्तै कानुन आउँदैन, दुनियाँमा कतै पनि छैन ।
उनले देशको आर्थिक अवस्था हेरेर मात्रै विद्यालय शिक्षा ऐन ल्याउनु पर्नेमा जोड् दिए । जम्मा ११ खर्ब राजस्व उठ्ने गरेको र शिक्षकहरूको सङ्ख्या ठुलो भएकोले थोरै सेवा सुविधा थप्दा पनि ठुलो राजस्वमा अन्तर पर्ने भएकोले देशको आर्थिक क्षमतालाई मध्य नजर गरेर सरकारले कानुन ल्याउनु पर्ने र त्यसै अनुसार संसदबाट पास गर्नुपर्ने बताए ।
निजामति कर्मचारी सरह विद्यालय कर्मचारीको सेवा सुविधा हुँदैन
विद्यालय कर्मचारीहरूलाई अहिलेनै निजामती कर्मचारी सरह सेवा सुविधा दिन सक्ने अवस्थामा राज्य नरहेको आफूलाई लागेको बताउँदै त्यो ढंगले कानुन नबनाइएको उनको तर्क छ ।
उनले भने विद्यालय कर्मचारीहरूको सेवा सुविधाको कुराको हकमा पनि टक्क राज्यले अहिलै निजामती कर्मचारी सरह सेवा सुविधा दिन्छ भन्ने कुरा मलाई लाग्दैन । त्यो ढंगले कानुन आउँदैन । तर अहिलेको जस्तै सारै कमजोर अवस्थालाई सुधार गरेर सेवा सुविधामा केही थप गर्नुपर्छ ।



