तुलसीपुर/११ कार्तिक – तुल्सीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरूले गडयौले मल उत्पादनको सुरुवात गरेका छन् । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले उत्पादन गर्ने तरकारी, फलफुल र अन्य बालीका लागि उपयोग गर्ने उद्देश्यले उनीहरूले गडयौले मल उत्पादन गर्न थालेका हुन् ।
माटोका लागि उपयुक्त हुनुका साथै आफ्नै ठाउँमा उत्पादन हुने भएकाले यसतर्फ विद्यार्थीहरूलाई अग्रसर बनाइएको बाली विज्ञानका प्रशिक्षक समर्पण आचार्यले बताए । उनले भने, ‘गड्यौला मल सस्तो हुन्छ, उत्पादन बढाउँछ, जग्गाको माटो बिग्रिदैन त्यसैले गड्यौला मलको प्रयोग बढेको छ ।’
सुरुवातमा विद्यार्थीहरूले ५ किलो गड्यौला राखेर मल उत्पादनको थालनी गरेका छन् । ’रासायनिक मलले उत्पादन पनि घटाउने, महंगो पनि हुने, मल अभाव पनि हुने भएकाले गड्यौला मल उत्पादन गर्न थालेका हौ’ विद्यार्थी संगिता न्यौपानेले बताइन् । विद्यालयमा बाली विज्ञान र वन विज्ञान अध्ययनरत विद्यार्थीहरूले सामुहिक रुपमा गड्यौला खेतीको सुरुवात गरेका छन् ।
गड्यौला खेती गर्नका लागि तालिम र आवश्यक सामग्रीको व्यवस्थापन ग्रीन फाउन्डेशन नेपालले गरेको हो । हाललाई विद्यार्थीहरूले आफूले लगाएको बालीनालीमा प्रयोग गरेपनि विस्तारै व्यावसायिकरुपमा नै उत्पादन थालिने कार्यक्रम संयोजक कल्पना वलीले बताइन् ।
गड्यौला मल उत्पादनलाई गाउँ गाउसम्म पुर्याउनका लागि विद्यार्थीहरूलाई परिचालन गरिने कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।



