काठमाडौं/३० साउन – चिकित्सा शिक्षा आयोगले सूचनाबमोजिम तोकिएकै दिन र समयमा उक्त चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा हुने जनाएको छ । सामाजिक सञ्जालमा स्नातक तहको परीक्षा सारिएको भ्रामक समाचार आएको जानकारी दिँदै तोकिएकै दिन र समयमा परीक्षा सञ्चालन हुने जनाएको हो ।
भदौं १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा सार्ने सम्बन्धमा सामाजिक सञ्जालमा तथ्यहीन, कपोकल्पित तथा भ्रामक सूचनाप्रति आएको आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
“नियामक निकायको रुपमा स्थापित आयोगको गरिमा घटाउने तथा आयोगको कर्मचारीहरूको हस्ताक्षर दुरूपयोग गरी स्नातक तहको परीक्षा सारिएको व्यहोरा सहित सामाजिक सञ्जालमार्फत आयोगको नाममा प्रकाशित भ्रामक सूचनाको आयोग खण्डन गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।
साथै त्यस्ता तथ्यहीन, कपोकल्पित र भ्रामक सूचना सम्प्रेषित गर्ने गराउने व्यक्ति उपर प्रचलित कानून बमोजिम सख्त कारवाही गर्न सम्बन्धित निकायलाई समेत आग्रह गरेको छ ।



