विद्यालयमा दुर्व्यसन विरुद्ध समुदाय-प्रहरी

युवराज रेग्मी
झापा/३० साउन – झापाको गौरादह नगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरूमा नेपाल प्रहरीले दुर्व्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


कार्यक्रम अनुरुप नगरको वडा न २ मा अवस्थित विद्योदय माध्यमिक विद्यालयमा आज बुधवार लागुऔषध तथा दुर्व्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।


निजि तथा आवासीय विद्यालयहरूको संस्था (प्याब्सन) गौरादहको संयोजनमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।


विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक वातावरण, सार्वजनिक स्थानमा हुनसक्ने अभद्र व्यवहार र हैरानी विरुद्ध नेपाल प्रहरीको सुरक्षा जानकारी सम्बन्धि जनचेतनामूलक जानकारी सहित लागुऔषध विरुद्ध सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।


दुर्व्यसनले व्यक्तिको आत्मसम्मानमा ठेस पु¥याउनुका साथै मनोविज्ञानमा नकारात्मक असर पारी लागु औषधबाट गम्भीर दुर्घटना समेत निम्तिन सक्ने भएकाले लागुऔषध तथा दुर्व्यसन विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रहरी नायब निरीक्षक प्रमोद रेग्मीले जानकारी दिए ।


इलाका प्रहरी कार्यालय गौरादहले आफ्नो मातहतमा पर्ने क्षेत्रका विद्यालयहरूमा साप्ताहिक रूपमा यस प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि सोही वडाको ज्ञानज्योती माविमा लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।


विशेष गरी किशोरावस्था अर्थात् कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको इलामा प्रहरी कार्यालयले जनाएको छ ।


इलाका प्रहरी कार्यालय गौरादहका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रमोद रेग्मीको नेतृत्वमा गौरादह नगरपालिकामा रहेका निजि तथा सामुदायिक विद्यालयमा इलाका प्रहरी कार्यालय गौरादहले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमको अवसरमा गौरादह प्याब्सनले उपलब्ध गराएको जनचेतना मूलक ब्रुसर समेत वितरण गरिएको थियो ।


कार्यक्रममा विद्योदय माविका ९० जना विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।