मध्यपश्चिम विश्वविद्यालयलाई उत्कृष्ट बनाउने उपकुलपतिको कार्ययोजना

काठमाडौं/३ असार – कर्णाली प्रदेशको विकास र उन्नयनका लागि मध्यपश्चिम विश्वविद्यालयलाई उत्कृष्ट बनाउन आवश्यक रहेको कर्णाली प्रदेशका मुख्य मन्त्री यामलाल कडेलले बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा बोल्दै विश्वविद्यालयले आफ्नो भूमिका निर्वाह बहन गर्न सके कर्णाली प्रदेशको अवस्था परिवर्तन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयको १४औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको केन्द्रीय प्रशासनिक भवन परिसरमा वृक्षारोपण गरी सुरुवात गरिएको थियो ।


मुख्यमन्त्री कडेलले मध्यपश्चिम विश्वविद्यालयको स्थापनाको मूल मर्म समग्र कर्णाली प्रदेशको विकास र उन्नयन रहेको र सोही अनुरूप विश्वविद्यालयले आफ्नो भूमिका निर्वाह बहन गर्न सके कर्णाली प्रदेशको अवस्था परिवर्तन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।


उनले मध्यपश्चिम विश्वविद्यालय लगायत कर्णाली प्रदेशको शैक्षिक क्षेत्रमा कर्णाली प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि नीति तथा कार्यक्रम मार्फत सम्बोधन भएको समेत जानकारी दिए ।


त्यसैगरी उपकुलपति प्रा. डा. गौतमले मध्यपश्चिम विश्वविद्यालयलाई एक उत्कृष्ट विश्वविद्यालयको रूपमा स्थापित गर्नु नै आफ्नो कार्ययोजनाको मूल मर्म रहेको र सरोकारवाला सम्पूर्णता यस कार्यमा साथ सहयोगका लागि आह्वान गरे । साथै कर्णाली प्रदेश र कर्णाली बासीको गौरवको रूपमा रहेको मध्यपश्चिम विश्वविद्यालय स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार लगायत विकास साझेदार, निजी संस्था सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।


स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ट प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारी र विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।