काठमाडौँ /३ असार – सिभिल र इलेक्ट्रिकल पावर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुलाई रिसर्च र प्रयोगात्मक अभ्यासका लागि हिलसाइड कलेज अफ इन्जिनियरिङ र अरुण कावेली ग्रुपबीच सम्झौता भएको छ ।
हिलसाइड कलेजमा सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्ने आठौँ सेमेस्टरका विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यासका लागि इन्टर्नसिप गराउन, स्नातक तथा स्नातकोत्तर अध्यापन गराउने फ्याकल्टीहरू र एमएस्सी इन कन्स्ट्रक्सन म्यनेजमेन्ट तथा एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूलाई रिसर्च तथा कन्सल्टेन्सीमा उपयोग गर्ने गरी सम्झौता भएको हो ।
एमएस्सी इन कन्स्ट्रक्सन म्यानेजमेन्ट तथा एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङको दोस्रो ब्याचका विद्यार्थीहरूलाई ओरियन्टेसन दिन आज आयोजित कार्यक्रममा हाइड्रो इन्टरप्युनर गुरुप्रसाद न्यौपाने र हिलसाइड कलेज अफ इन्जिनियरिङका अध्यक्ष जनार्दन नेपालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
साथै नयाँ प्रोजेक्ट रिपोर्टहरू तयार गर्न लगाउने, विभिन्न स्थापित हाइड्रोपावरमा आउने प्राविधिक समस्याहरू हल गर्ने, मर्मतसम्भार गर्ने, विदेशी कन्सल्टेन्टहरू हायर गरी यसलाई विश्वसनीय बनाउने उद्देश्यले हिलसाइड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट रिसर्च सेन्टर समेत स्थापना गरिएको कलेजले जानकारी दिएको छ ।
कार्यक्रममा गुरु प्रसाद न्यौपानेले विद्यार्थीहरूलाई रिसर्च गरेर १ सयवटा नयाँ सम्भावित प्रोजेक्ट रिपोर्ट तयार गर्न आफूले फेसिलियट गर्ने बताए । पूर्वाञ्चल विश्वविद्यालयका डेपुटी कन्ट्रोलर मेनुका श्रेष्ठले अहिले विश्वविद्यालयका सबै पदाधिकारीको ध्यान समयमा परीक्षा र तीन महिनाभित्र रिजल्ट गरेर चार वर्षको कोर्स चार वर्षमै, दुई वर्षको कोर्स दुई वर्षमै सकाएर गुणस्तरीय शिक्षा प्रदान गर्न केन्द्रीत भएको बताइन ।
हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रिन्सिपल डा. समित थापाले विद्यार्थी र फ्याकल्टी बीच नङ र मासुको जस्तो सम्बन्ध रहने भएकोले सोही अनुसारको व्यवहार हुनुपर्ने, बिई पढ्ने र मास्टर पढ्ने विद्यार्थीहरूले समेत गाइड गर्नुपर्ने र अनुशासन सहितको गुणस्तरीय शिक्षा प्रदान गर्न आफू प्रतिबद्ध रहेको भनाई राखे ।
कार्यक्रमका प्रमुख अतिथि नष्टका पूर्व उपकुलपति तथा फ्याकल्टी डा. शुनिल बाबु श्रेष्ठले असल नागरिक बनाउन हिलसाइड कलेज अफ इन्जिनियरिङले गरिरहेको प्रयासमा आफू पनि जोडिएर नलेज ट्रान्सफर गर्न पाएकोमा भन्दै खुसी व्यक्त गरे । साथै नयाँ पाठ्यक्रम भएकोले कन्स्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रिकल पावर मेनेजमेण्ट दुबै कार्यक्रम उत्कृष्ट रहेको र समझदारीले प्रोफेसर, विद्यार्थी, डिमाण्डसाइड र मुलुकलाई नै रिसर्च बाट निकै ठूलो सहयोग हुने अपेक्षा गरेको बताए ।
कलेजका एमडी गोपीकृष्ण न्यौपानेले कलेजका विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यास गराउन गरिएको समझदारी पत्रले कोसेढुंगाको काम गर्ने र आगामी दिनहरूमा पनि यसैगरी विभिन्न प्राइभेट तथा सरकारी निकायहरुसँग सम्झौता गरी अघि बढ्ने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा फ्याकल्टी प्रोफेसर डा. सूर्यराज आचार्य, फ्याकल्टी पूर्व उर्जा सचिव दिनेश घिमिरे र फ्याकल्टी पूर्व सचिव रबिन्द्र श्रेष्ठले हामीले अहिलेसम्म हासिल गरेको शिक्षा र अनुभव विद्यार्थीहरूलाई नलेज ट्रान्सफर गरी नेपालमै नेपालीहरूबाटै प्रोजेक्ट रिसर्च गर्ने, कन्सल्टेन्सी दिने, सर्भिस दिने, लगानीमैत्री वातावरण बनाउन सरकारलाई सहयोग गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सेवा निवृत्त पछि अध्यापन गराइरहेको बिचार राखे ।
साथै हिलसाइड कलेज अफ इन्जिनियरिङ र अरुण काबेली हाइड्रो बीच भएको समझदारी पत्रले कलेज र इण्डष्ट्री बीच लिंकेजको काम गरेको र यसलाई विश्वविद्यालयले समेत ओनरसिप लिएर अघि बढ्नुपर्ने भनाई राखेका थिए । समझदारीपत्र कार्यान्वयन हुन सके यो क्षेत्रमा रोजगारी तथा स्वरोजगार बढ्ने मात्र नभई अरबौँ रुपियाँ बिदेशिनबाट जोगिने समेत भएकोले छिटो कार्यान्वयनका लागि जोड दिएका । कलेजका अध्यक्ष जनार्दन नेपालले सबै पक्षको कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेकोले प्राज्ञिक व्यक्तित्वहरूलाई सहयोग गरिदिन आग्रह गरेका थिए ।
कार्यक्रममा प्रोफेसरहरू ईश्वरमान अमात्य, रबिन्द्रनाथ श्रेष्ठ लगायत इन्जिनियरिङ क्षेत्रका बौद्धिक व्यक्तित्वहरू एवं परीक्षा इकाइ कार्यालय इन्जिनियरिङ संकाय हेर्ने अधिकृत कमला ओझाको समेत उपस्थिति रहेको थियो ।



