काठमाडौं/६ जेठ – प्रारम्भिक तहको शिक्षा सुधारका लागि पाँच दिनदेखि उभिएर विरोध जनाइरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईँलाई नेपाल बालविकास शिक्षक सङ्घर्ष केन्द्रीय समितिले ऐक्यबद्धता जनाएको छ । उनले राखेका मागहरू महत्वपूर्ण रहेको भन्दै ऐक्यबद्धता जनाएको हो ।
“सामुदायिक विद्यालयको आधारशिला भनिने बालविकासमा कार्यरत शिक्षकको सेवा सुविधा र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको तलब व्यवस्थापन हुनुपर्ने र बालविकासमा कार्यरत शिक्षकलाई मन्टेश्वरी तालिम दिएर दक्ष बनाउनु पर्ने लगायत शिक्षा क्षेत्रमा सुधार हुनुपर्ने महत्वपूर्ण माग राख्दै समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष नेत्र चापागाई विगत ४ दिन देखि एकल आन्दोलनरत हुनुहुन्छ यी महत्वपूर्ण माग सहितको आन्दोलनलाई हाम्रो नेपाल बालविकास सङ्घर्ष समिति केन्द्रको तर्फबाट सफलताको शुभकामना सहित पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछौ” जारी विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनरत नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईँले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन, विद्यार्थीको खाजा खर्च १५ रहेकोमा ५० बनाउन, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउन, पर्याप्त सिकाई सामग्री, खेल सामग्री र उपयुक्त पाठ्यक्रमको व्यवस्था गर्न माग गरेका छन् ।



