काठमाडौँ /६ जेठ – राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छड्के अनुगमन गरेको छ । मन्त्रालयका कर्मचारीले समय पालना गरे/नगरेको, तोकिएका पोसाक लगाए/नलगाएको लगायत विषयमा अनुगमन गरेको हो ।
सतर्कता केन्द्रका अनुसार अनुगमनका क्रममा शिक्षा मन्त्रालयमा सात कर्मचारी अनुपस्थित देखिएका छन् । त्यसैगरी अनुगमनका क्रममा तोकिएको कार्यालय समयभन्दा ढिला आउने कर्मचारीको सङ्ख्या ७ जना भेटिएको थियो । अनुगमनका क्रममा शिक्षा मन्त्रालयका चारजना कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिएको पनि सतर्कता केन्द्रले जनाएको छ ।
अनुगमनका क्रममा मन्त्रालयमा तोकिएको पोसाक नलगाईकन कार्यालयमा उपस्थित हुने कर्मचारीको सङ्ख्या ९ रहेको सतर्कता केन्द्रले जनाएको छ । साथै शिक्षा मन्त्रालयमा सेवाग्राही सहायता कक्ष, अपाङ्गमैत्री कार्यस्थल, प्रतीक्षालय, चमेनागृहको सरसफाइ राम्रो नदेखिएको लगायत कैफियत सतर्कता केन्द्रले भेटाएको छ ।



