काठमाडौँ /६ जेठ – प्रारम्भिक तहको शिक्षा सुधारका लागि पाँच दिनदेखि उभिएर विरोध जनाइरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईँलाई शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आइतबार माइतिघर मण्डलामै पुगेर भेटेकी छन् ।
उनले मागलाई ऐक्यबद्धता जनाउँदै अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बताइन । अटिजम काउन्सिलरका लागि इजाजत पत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको र अनुमतिपत्र भएपछि मात्र विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको जानकारी दिइन ।
साथै नेपालमा काउन्सिलरका लागि लाइसेन्सिङ र अटिजम अकुपेसन थेरापी गर्नेको लाइसेन्स नभएको बताउँदै स्कुल खोलेर मात्र नहुने लाइसेन्सिङ प्रभिजन नआउने भएकोले अटिजम काउन्सिलरका लागि इजाजत पत्रको व्यवस्था गर्न लागिएको बताइन ।
त्यसैगरी आन्दोलनरत नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईँले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन, विद्यार्थीको खाजा खर्च १५ रहेकोमा ५० बनाउन, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउन माग गरेका छन् ।



