काठमाडौँ /३ जेठ – विश्वमा थुप्रै भाषा छन् । तीमध्ये संस्कृत भाषा विश्वकै प्राचीन र समृद्ध भाषा हो । पूर्वीय वाङ्मयका थुप्रै कृति/ग्रन्थ संस्कृत भाषामा छन् । विश्वको प्राचीन ग्रन्थ वेद हो । यो संस्कृत भाषामा छ । संस्कृत भाषा पनि वैदिक र लौकिक गरी दुई प्रकारका छन् । वेदमा रहेको संस्कृति भाषा वैदिक हो । उपनिषद्, रामायण, महाभारत, अठार पुराणलगायत जति पनि संस्कृत साहित्यमा कृतिहरू रचना भएका छन्, ती सबै लौकिक संस्कृतमा छन् । आज हामीले अध्ययन गर्ने कालिदासका रचना हुन् वा वाल्मीकि रामायण हुन्, यी सबै लौकिक संस्कृतमा रचना गरिएका छन् ।
संस्कृत भाषा केवल भाषा मात्र होइन । यसभित्र संसारकै पुरानो वाङ्मय छ । संसारका भाषाको मूल भाषा पनि हो । यसभित्र मानव सभ्यताको इतिहास पनि छ । नेपालको इतिहासलाई हेर्ने हो भने लिच्छविकाल जसलाई स्वर्ण काल भनिन्छ । यस समयमा राजकाजको भाषा संस्कृत थियो भन्ने कुरा विभिन्न लिच्छवि कालीन शिलालेख र ताम्रपत्रबाट थाहा हुन्छ । भाषा अलग हो र वाङ्मय अलग हो भन्ने कुतर्क गरिँदै आएको छ । यो बडो गम्भीर र षड्यन्त्रपूर्ण छ भनेर बुझ्न जरुरी छ । संस्कृत भाषा मात्र नभई वाङ्मय पनि हो । वाङ्मयभित्र दर्शन, इतिहास, कला साहित्य, सङ्गीत, चिकित्साविज्ञान अनि भाषा पनि पर्छ ।
संस्कृत भाषाले केवल भाषाको मात्र प्रतिनिधित्व गर्दैन । यसले सिङ्गो पूर्वीय वाङ्मय एवं सभ्यताको नै प्रतिनिधित्व गर्दछ । यस्तो समृद्ध भाषालाई आज जाति, सम्प्रदाय, वर्ग, क्षेत्र एवं विशेष एउटा धर्मसँग सम्बन्धित भन्दै यसको गौरव, गरिमा, गहनता र महान्तालाई साँगु¥याउने काम हुँदैछ । इतिहास साक्षी छ । कहिले धर्मका नाममा संस्कृत भाषामाथि प्रहार भए । कहिले राजनीतिका नाममा यसमाथि प्रहार भए । कहिले शिक्षानीतिका नाममा यसमाथि प्रहार भए । अझै पनि संस्कृतकै विद्वान् कहलिएकाले साँघुरो घेराभित्र संस्कृत भाषालाई कैद गरका छन् । यसलाई कर्मकाण्ड र पूजापाठको क्षेत्रमा मात्र सीमित पार्ने काम भएको छ । यसको अर्थ पूजापाठ र कर्मकाण्डको विरोध भने गरिएको होइन । यसमा कसैको भ्रम नपरोस् ।
यसभित्र आयुर्वेद, ज्योतिष जस्तो ग्रहविज्ञान, योगजस्तो शरीरविज्ञान तथा मनोविज्ञानको कुरा कता हराए । केवल सिग्मन्ड फ्रायड, एड्लग, कार्ल पुस्तक मनोविज्ञान पढेर विद्वान् भइटोपलेकाले संस्कृत ग्रन्थको मनोविज्ञान पढेका छैनन् । उनीहरूका लागि संस्कृत वाङ्मयको ज्ञान स्याललाई अङ्गुर अमिलो लागेजस्तो भएको छ । बुद्धका दर्शन, चाणक्यका दर्शन अनि मनुस्मृतिका दर्शनमा मनोविज्ञानको कति गहन चिन्तन भएको छ ? मानवजीवनका आदर्शका बारेका कस्ता अध्ययन र अनुसन्धान भएका छन् ? यसलाई आजसम्म कसैले गम्भीर भएर अध्ययन गरेको छैन । जाहे बुद्धका पञ्चशील र चार आर्यसत्यका कुरा हुन्, चाणक्यका राजनीति दर्शन र चरित्रनीतिका कुरा हुन्, मनुस्मृतिका समाजीकीकरण र नैतिक शिक्षाका उपदेश हुन्, यी कुरामा कसैको गहन अध्ययन छैन । उल्टै यस्ता महान् चिन्तकका उपदेशलाई जातीय, धार्मिक, साम्प्रदायिक एवं लैङ्गिक विभेदको आरोप लगाइन्छ । आज आफ्नो सतही बौद्धिकताको वकालत गर्दै हिँड्नेको भिड देखेर अचम्म लाग्दछ ।
संस्कृत भाषा एवं पूर्वीय वाङ्मयको गहनतालाई अक्षरा स्कुलले राम्ररी मनन गरको छ । विगत लामो समयदेखि अक्षरा स्कुलमा शिशुकक्षादेखि नै संस्कृति भाषामा रहेका गुरुभक्ति, मातापिताका भक्ति, नीतिशिक्षाका कुरा सिकाएर बालबालिकामा पूर्वीय ज्ञानको संस्कार दिने काम निरन्तर भइरहेको छ । आजका किशोर किशोरी नैतिक शिक्षाबाट वञ्चित भएको कुराले अक्षरा स्कुललाई बढी चिन्तित तुल्याएको छ । शिक्षाले ज्ञान मात्र होइन, सिप र संस्कार दिनुपर्छ भन्ने अक्षरा स्कुलको दर्शन हो । आफ्ना सभ्यता, संस्कृति, मूल्यमान्यता, मौलिक पहिचान एवं नेपालीपन आदिलाई शिक्षण सिकाइमा जोडिनुपर्छ भन्ने कुरामा अक्षर स्कुल स्पष्ट छ । यही कुरालाई मनन गरी यस वर्षदेखि माध्यमिक तहका बालबालिकालाई गीता कक्षाको थालनी भएको छ । शिशु कक्षादेखि कक्षा सातसम्म संस्कृत अध्यापन गराइँदै आएकामा माध्यमिक तहका लागि गीता कक्षाको आरम्भ भएको छ ।
गीतमा रहेका ज्ञानयोग, कर्मयोग, भक्तियोग तथा ध्यानयोगका मुख्य सिद्धान्तलाई कथा र व्याख्यानको शैलीबाट सरल रूपमा बालबालिकालाई बुझाउँदै विस्तारै अध्यात्म विज्ञानतर्फ उनीहरूलाई आकर्षित गराई यसतर्फ रुचि जगाउने उद्देश्य लिइएको छ । आज भन्दा पाँच हजार वर्ष पहिले यस धर्तीमा भगवान् श्रीकृष्णले आफ्ना शिष्य अर्जुनलाई दिएको ज्ञान आज पनि उत्तिकै सान्दर्भिक छ । गुरु र शिष्यको आदर्शमय संवाद नै गीताको प्रमुख विषय हो । कृष्णजस्तो गुरु र अर्जुन जस्तो शिष्य आज हरेक विद्यालयमा हुनुपर्छ भन्ने आदर्शको शिक्षा गीताबाट प्राप्त हुन्छ । कृष्ण जगत् गुरु हुन् भने अर्जुन एउटा आत्मज्ञानको प्यासी हुन् । आज हरेक शिक्षकमा कृष्णजस्तो गुरुत्व हुन आवश्यक छ भने अर्जुनजस्तो सिक्न र जान्न खोज्ने जिज्ञासु शिष्य वा विद्यार्थी हुन आवश्यक छ । जसरी कृष्णले अर्जुनकै तहमा पुगेर ज्ञान दिएका छन्, त्यसरी नै आज हरेक शिक्षकले आफ्नो ज्ञान र क्षमतालाई शिष्यकै तहमा पुगेर सिकाउनुपर्ने आवश्यकता भएको छ ।
गुरुशिष्यको आत्मीय, प्रेममय र हार्दिकताले भरिएको शिक्षण सिकाइको सिद्धान्त र शास्त्र गीताभन्दा अर्को हुनै सक्दैन । गीतालाई नै आदर्श मानेर प्रतिपादन गरिएका साधारण सिकाइ सिद्धान्तलाई रटेर शिक्षाविज्ञ र तालिमकर्ता बनेकाले गीताको सिकाइ सिद्धान्तलाई अनुकरण गर्न सके सुनमा सुगन्ध हुन्छ । मूलतः म को हुँ ? म यस संसारमा किन आएँ ? मानिसको जीवन किन दुःख र व्याकुलताले भरिएको छ ? म कसरी खुसी हुन सक्छु ? ईश्वर के हो ? ईश्वर कहाँ पाउन सकिन्छ ? ईश्वरसम्म कसरी पुग्न सकिन्छ ? ईश्वरसम्म पुग्न अथवा आत्मज्ञानका लागि मैले के गर्नुपर्छ भन्ने प्रमुख प्रश्नहरूको उत्तर गीतमा पाइन्छ ।
यिनै उत्तरहरूको खोजीलाई केन्द्रमा राखेर गीताको अध्यायन गराइने छ भने यससँग सम्बन्धित श्लोकको सस्वर वाचन गराई बालबालिकाहरूलाई संस्कृति भाषा, लय र छन्दको ज्ञान पनि गराइनेछ । आधा दशकभन्दा बढी विद्यालयमा संस्कृत शिक्षकका रूपमा कार्यरत योगराज सापकोटाले नै गीताको अध्ययन गराउँदै छन् । विद्यालयले गरेको यस प्रयासलाई अभिभावक, शिक्षक, विद्यार्थी एवं सम्पूर्ण शुभचिन्तकको साथ, सहयोग र हौसला अवश्य पनि प्राप्त हुने कुरामा विद्यालय ढुक्क छ ।



