काठमाडौँ /३० बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श संस्थाहरूको रोकिएको नविकरण प्रक्रिया खोल्ने तयारीमा रहेको जनाएको छ । नविकरण प्रक्रिया बारे मन्त्रालयमा छलफल भइरहेको जानकारी दिँदै छिटै नविकरणका लागि आवेदन मागिने जनाएको हो ।
मन्त्रालय स्रोतका अनुसार यसबारे शाखाबाट फाइल उठाएर मन्त्रालय आएको र शिक्षा मन्त्री सुमना श्रेष्ठसँग छलफल गरेर शैक्षिक परामर्श संस्था नविकरण प्रक्रियालाई खोलिने बताएको हो । तर कहिलेदेखि नविकरण प्रक्रिया सुरु गर्ने भन्ने विषय भने तय नभएको स्रोतले जनाएको छ ।
स्रोतले भन्यो यसबारेमा शिक्षा मन्त्री सुमना श्रेष्ठसँग कुराकानी गर्दा छिटै निर्णय गरेर यसलाई खोल्नुपर्छ भन्नु भएको छ । फाइलपनि मन्त्रालयमा आईसकेको छ । अब छलफल गरेर छिटै खोल्छौँ । साथै शैक्षिक परामर्श संस्थाहरूलाई नविकरणका लागि नयाँ आवेदन माग्ने वा पुरानैलाई नविकरण गरेर जाने भन्ने विषयमा समेत छलफल अगाडि बढाइएको जनाएको छ ।
शैक्षिक परामर्श संस्था प्रदेशमा रहने वा सङ्घीय सरकार मातहतमा रहने भन्ने विषयमा अन्योल भएपछि २०७४ सालदेखि मन्त्रालयले सूचना जारी गर्दै नविकरण प्रक्रिया रोकेको थियो । अहिले शैक्षिक परामर्श संस्थाहरू नविकरण विना सञ्चालनमा छन् ।



