सङ्घीय शिक्षा ऐन तत्काल ल्याउनु पर्छ : मन्त्री चौधरी

काठमाडौँ /२९ वैशाख – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताएकी छन् । शनिवार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै तत्काल शिक्षा ऐन ल्याउनु पर्ने बताएकी हुन् ।


विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन आग्रह गरीन । संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उनले अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताईन । संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक फरक व्यवस्था गर्न पाउने व्यवस्था छ । उनले भनिन्, “राज्यको संरचना अनुसार तिनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनुपर्छ । पाठ्यक्रमहरू पनि जीवन उपयोगी, अहिलेको टेक्नोलोजी अनुसार हुनुपर्छ ।”


“शिक्षण सिकाई अहिलेको समय सापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उनले बताइन । शिक्षण सिकाई बालबालिका केन्द्रित हुनुपर्छ, पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ, त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ । अब हामीले जीवन उपयोगी शिक्षाहरू पनि समावेश गर्न आवश्यक छ”, उनले भनिन् ।


सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उनले विद्यालयमा राजनीतिकरण भएका कारण पनि समस्या उत्पन्न भएको हुन सक्ने धारणा राखिन । उनले भनिन् “सरकारी विद्यालयको स्तर खस्किएको छ ।शिक्षामन्त्रीले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या भएको भन्नुभएको छ । अलिकति राजनीतिकरण बढी भएर त्यस्तो समस्या भएको पनि हुन सक्छ । सरकारी स्कुलमा केही न केही बेथिति छन् । त्यसलाई हामी सबैले सच्याउनुपर्छ ।”