शिक्षकको काज फिर्ता गर्न इकाइ र स्थानीय तहलाई निर्देशन

काठमाडौँ /२९ बैशाख – सबै शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई शिक्षकहरुको काज फिर्ता गर्न निर्देशन दिइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले परिपत्र जारी गर्दै निर्देशन दिएको हो ।


केन्द्रले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत वैशाख २५ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार शिक्षकहरूको काज फिर्ता गर्न सबै इकाइहरुलाई पत्र मार्फत निर्देशन दिएको छ ।


शिक्षा ऐन २०२८ को दफा १६ च २ को उपदफा (१) अनुसार सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्बन्धी काममा बाहेक अन्य काममा लगाउनु हुँदैन भन्ने व्यवस्था भएकाले काज फिर्ता गर्न भनिएको हो ।


“शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम १ को खण्ड (ज) मा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर कामकाज गर्न नहुने भन्ने व्यवस्था छ ।” उक्त व्यवस्था विपरित कुनै पनि शिक्षकलाई कहीँ कतै काजमा जाने, काजमा राख्ने जस्ता काम कारबाही नगर्नु नगराउनु भनी मन्त्रीस्तरीय निर्णय गरिएको थियो पत्रमा उल्लेख छ ।