शिक्षक सेवा आयोगको पहिलो नम्बरमै नाम निकाल्न सफल दृष्टिविहीन शिक्षक थापा

काठमाडौँ /४ चैत- दृष्टिविहीन शिक्षक सुशील थापाले बझाङबाट शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीमा पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् । बझाङको केदारसिउँ गाउँपालिका मल्लेसी स्थित श्री नवादेउ प्राविका राहत शिक्षक थापाले पहिलो नम्बरमा नाम निकाल्न सफल भएका हुन् ।


अङ्ग्रेजी विषयका शिक्षक उनले २०७१ सालदेखि राहत शिक्षकमा रहेर विद्यालयमा पढाउँदै आएका थिए । थापाले खबर एजुकेशन सँग कुरा गर्दै युट्युब तथा अनलाइन कक्षाहरूबाट तयारी गरेर शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीमा पहिलो नम्बरमा नाम निकाल्न सफल भएको बताए ।


उनले आफू दृष्टिविहीन भएकोले साथीहरूको साहारा विना हिँड्न नसक्ने बताउँदै अबको नियुक्ति दिँदा पायक पर्ने अपाङ्गमैत्री विद्यालय छनोट गर्न दिए सहज हुने र विद्यार्थीहरूलाई राम्रो शिक्षा दिन सकिने बताएका छन् ।


आयोगले फागुन २० गतेदेखि सञ्चालन गरेको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको परीक्षा र अन्तर्र्वार्ता समेतको प्राप्ताङ्कको आधारमा नियुक्ति सिफारिसका लागि योग्यताक्रम सहित फागुन २६ गते नतिजा सार्वजनिक गरेको थियो ।