आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग सहित राहत शिक्षकले आन्दोलन गर्ने


काठमाडौं/२० साउन-नेपाल राहत शिक्षकको केन्द्रीय समितिको बैठकले शिक्षा ऐनको मस्यौदा विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । राहत शिक्षकहरुलाई विना विस्थापित आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग सहित आन्दोलन गर्ने निर्णय गरेको हो ।


नेपाल राहत शिक्षकको केन्द्रीय समितिको आज बसेको पूर्ण बैठकले आन्दोलन गर्ने निर्णय गरेपनि नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलनमा जान आग्रह गरेपछि आन्दोलनको मिति भोलि मात्रै तय हुने जनाएको छ ।


तर,नेपाल शिक्षक महासंघले आन्दोलको नेतृत्व नगरेपनि राहात शिक्षकहरु आन्दोलनमा जाने र महासंघ विरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल राहत शिक्षकको केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकका परिवार सहित आन्दोलनमा जानु बाहेक बिकल्प नरहेको बताए । उनले आन्दोलनमा गोली खान पनि तयार रहेको बताउँदै माग पुरा गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।


नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले सबै एक भएर आन्दोलनमा जानुपर्ने बताउँदै आन्दोलनको नेतृत्व महासंघले गर्ने बताएकी छन् । उनले सरकारले तानाशाही तरीकाले शिक्षकहरुलाई पेलेर लान खोजेको बताउँदै सरकार नै ढाल्ने गरी आन्दोलन गर्ने चतावनी दिएकी छन् ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले कुनै पनि शिक्षकलाई विस्थापीत नहुनेगरी आन्दोलनमा जाने बताए । उनले शिक्षक महासंघको भेलि बैठक बसेर आन्दोलनको मिति घोषणा गरिने बताए ।


त्यसैगरी नेपाल शिक्षा संघका अध्यक्ष सोमनाथ गरी र नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारीले राहत शिक्षकको साथमा रहेको बताउँदै आन्दोलनको नेतृत्व महासंघले गनुपर्ने धारणा राखे ।