एकीकृत पाठ्यक्रमले बालबालिकामा बहुसक्षमता सिपको विकास हुने

ललितपुर/१६ जेठ-एकीकृत पाठ्यक्रमको अवधारणा, महत्त्व, वर्तमान परिवेशमा यसको आवश्यकता र उपयोगिताका बारे छलफल गरिएको छ । गोदावरी रेसिडेन्सियल विद्यालयका प्रधानाध्यापक, संयोजक तथा शिक्षकहरुको सहभागिता छलफल गरिएको हो ।


काठमाडौँ विश्वविद्यालयको समन्वयमा प्रशिक्षक विनोद पन्तले एकीकृत पाठ्यक्रमको आवश्यकता र उपयोगिताका बारेमा जानकारी दिएका थिए । उनले सक्षमतामा आधारित, अन्तरविषयक तथा बहुविषयक थिममा आधारित, व्यवहार कुशल सिपहरु, विद्यार्थीको सहभागिता, कार्य र खोज तथा सिकाइ उपलब्धिमा आधारित मूल्याङ्कनका बारेमा सहभागी शिक्षकहरुलाई जानकारी गराए ।


पन्तले कार्यशालाबाट शिक्षकमा आत्मविश्वास बढ्ने विद्यार्थीको सिकाइमा सकारात्मक परिवर्तन आउनुका साथै जीवनोपयोगि सिपहरु हासिल हुने विचार व्यक्त गरे । कक्षा १ देखि ३ कक्षासम्म एकीकृत पाठ्क्रम निर्माण भई लागू भइसकेको र सोही अनुकूल परिवेशमा बाल बालिकाहरुले सक्षमता हासिल गर्ने जानकारी दिए ।


शिक्षणमा सूचना दिने, शिक्षक र विद्यार्थीबिच छलफल गराउने , विद्यार्थीहरुलाई व्याख्या विश्लेषण, खोज तथा अनुसन्धानमा संलग्न गराउनाले शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा सहयोग पुग्ने उनको भनाइ थियो । साथै विभिन्न चरणमा कार्यशाला आयोजना गरी शिक्षकहरुलाई विभिन्न समूहमा विभाजित गरी प्रस्तुति गर्न लगाएइको थियो । एकीकृत पाठ्यक्रमले विषयगत सक्षमताका साथै जीवनोपयोगी व्यवहारकुशल समेत एकीकृत गरेको छ ।


एकीकृत पाठ्यक्रमबाट बालबालिकामा सोचाइ सिप, वैयक्तिक सिप, अन्तरवैयक्तिक सिप, सूचना प्रविधि तथा बहुसक्षमता सिप र नागरिक सिपको विकास हुने अपेक्षा गरिएको छ । कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्क्रम लागू भई कार्यान्वयनमा आएको तर सोभन्दा माथिलो कक्षामा भाषा ,गणित, विज्ञान तथा प्रविधि, मानवमूल्य तथा समाजशास्त्र विषयमा अन्तरविषय बनाइएको छ । सिर्जना तथा परियोजना कार्यमा एक िवषयलाई अर्को विषयमा सम्बन्ध स्थापित गराइएको छ ।