मोरङ् /१४ बैशाख-एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका नक्कली परीक्षार्थीहरूलाई जिल्ला अदालत मोरङले जनही ४० हजार रूपैयाँ धरौटी माग गरेको छ । गत चैत २३ गते मोरङको ग्रामथान गाउँपालिका–२ सरस्वती नमुना मावि, सुन्दरहरैंचाको जनता माविको परीक्षा केन्द्रबाट पक्राउ परेका नक्कली परीक्षार्थीलाई ४० हजार रूपैयाँ धरौटी माग गरेको हो ।
मोरङको ग्रामथान गाउँपालिका–२ सरस्वती नमुना मावि, केराबारी–७ स्थित सार्वजनिक मावि र सुन्दरहरैंचाको जनता मावि परीक्षा केन्द्रबाट १९४ जना नक्कली परीक्षार्थी एकैदिन पक्राउ परेका थिए ।
ग्रामथान गाउँपालिका–२ सरस्वती नमुना मावि, सुन्दरहरैंचाको जनता माविको परीक्षा केन्द्रबाट पक्राउ परेका नक्कली परीक्षार्थीको अभियोग दर्ता बयान भइसकेको र केराबारी–७ स्थित सार्वजनिक माविको फैसला आज आउने जिल्ला अदालत मोरङ्का सूचना अधिकारी हेम बहादुर बुढाथोकीले खबर एजुकेशनलाई जानकारी दिए ।
उनका अनुसार एसईई परीक्षामा नक्कली परीक्षार्थीलाई ४० हजार रूपैयाँ धरौटी माग गरेको बताएका छन् । साथै नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई एक लाख धरौटी माग गरिएको छ ।
उनीहरूले विभिन्न ट्युसन सेन्टर र इन्स्टिच्यूटको आर्थिक चलखेलमा परेर सक्कली परीक्षार्थीको प्रवेश पत्रमा आफ्नो फोटो टाँसिएको प्रवेश पत्रसहित परीक्षा केन्द्रबाट परीक्षा दिएको अनुसन्धानमा खुलेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले चैत २२ गते बुधबारको अनिवार्य विज्ञान विषयको परीक्षामा ग्रामथान गाउँपालिका–२ सरस्वती नमूना मावि परीक्षा केन्द्रबाट सुनसरीको धरान उप–महानगरपालिका–५ की २८ वर्षीया कल्पना लिम्बूलाई पक्राउ गरेपछि नक्कली परीक्षार्थीको संजाल नै परीक्षामा सहभागी भइरहेको सूचना पत्ता लागेको थियो ।
नक्कली परीक्षार्थीलाई धरौटी मागा गरिए पनि अहिले सम्म सक्कली परीक्षार्थी सबै फरार रहेका छन् । ४० हजार रुपैयाँसम्म लिएर सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले नक्कली परीक्षार्थीहरूलाई भाडामा परीक्षा दिन लगाएको पाइएको छ ।



