सर्लाही/९ बैशाख-सर्लाहीको बागमती नगरपालिकाले स्तरीकृत प्रश्न निर्माण तथा मूल्याङ्कन सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको सहजीकरणमा अंग्रेजी, विज्ञान तथा गणित विषयका माध्यमिक तथा निम्न माध्यमिक तहका सबै शिक्षकलाई सहभागी गराएर कार्यशाला संचालन गरिएको हो ।
कार्यशालामा बागमती सहित हरिवन, मलंगवा, लालबन्दी तथा बरहथवा नगरपालिकाका प्रतिनिधि शिक्षकको समेत सहभागिता रहेको थियो । कार्यशालामा पचास जना प्रशिक्षार्थी शिक्षकको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपालमा माध्यमिक तहमा गणित, विज्ञान तथा अंग्रेजी विषयमा विद्यार्थीको नतिजा कमजोर देखिनुको कारण सम्बन्धित विद्यार्थीको मात्र कमजोरी नरहेर उनीहरुको क्षमता मापन गर्न निर्माण गरिने प्रश्न पनि उत्तिकै जिम्मेवार रहेको औंल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले देशैभरिका शिक्षकलाई रोस्टर मोडलमा यसै गरी प्रशिक्षण गर्ने र उनीहरूलाई प्रशिक्षक रुपमा क्षमता अभिवृद्धि गर्दै बाँकी शिक्षकलाई सहजीकरण गर्ने मोडल विकास गरिएको जनकारी दिए । सर्लाहीको बागमती नगरपालिका शैक्षिक सुधारको अभियानमा देशकै अगुवा बन्दै गएको कारण मधेश प्रदेशको पहिलो कार्यक्रम नै यहाँ गरिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बिमल पोखरेलले नगरपालिकाले शैक्षिक सुधारका लागि चेकलिस्ट नै बनाएर काम गरिरहेको बताउंदै स्तरीकृत प्रश्न निर्माण तथा मूल्याङ्कन कार्यशाला बागमतीको शैक्षिक सुधारको लागि कोशेढुंगा सावित हुन सक्ने भनाइइ राखे । त्यस्तै वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले तीन घण्टे परीक्षाले विद्यार्थीको समग्र पक्षको मूल्याङ्कन गर्न नसक्ने जनाउंदै प्रश्न निर्माण तथा मूल्याङ्कन र त्यसको समीक्षा वैज्ञानिक हुनुपर्ने भएकोले राष्ट्रिय परीक्षा बोर्डको उक्त अभियान प्रशंसनीय रहेको बताए । उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुभएकी नगरपालिका उप प्रमुख लीला कुमारी मोक्तानले सिकेको कुरा कक्षाकोठामा देखिनुपर्ने बताउंदै हामीले बोलेर नभई अब गरेर नै शिक्षामा सुधार गर्नु पर्नेमा जोड् दिइन । त्यस्तै, नगर शिक्षा संयोजक राजकुमार विश्वकर्माले बागमतीको शिक्षा सुधारको अभियानमा यस्ता धेरै कार्यक्रम आवश्यकता रहेकोले शिक्षकको क्षमता विकास तथा मनोवल उच्च बनाउनु पर्ने बताए ।
“हामी अहिलेसम्म धेरै तालिममा सहभागी भए पनि यस्तो प्रभावकारी तालिम अहिलेसम्म लिएको थिएनौं“, कार्यशालामा सहभागी श्री जनबाल कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले भने । “मैले त अहिलेसम्म केही जानेकै रहेनछु, हामीले अहिलेसम्म परीक्षामा जे प्रश्न बनायौं, त्यो त गलत रहेछ । हामीले परीक्षा र उत्तरपुस्तिका जाँचका नाममा विद्यार्थीमाथि अन्याय गरेका रहेछौं” उनको भनाई थियो ।
कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका विषयगत विज्ञ अंग्रेजीका रमेश ढकाल, गणित विषयका प्रो. डा. रमेश अवस्थी तथा विज्ञान विषयका हरि प्रसाद रेग्मीले सहजीकरण गरेका थिए ।
कार्यक्रमको समापनमा बोल्दै मलंगवा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेनाथ गौतमले कुनै पनि विद्यालय समाजको उज्यालो छर्ने दीप भएका कारण विद्यालयलाई निभ्न दिन नहुने बताए । विद्यार्थी कहिले पनि फेल नहुने बताउँदै हामी शिक्षक, पाठ्यक्रम तथा परीक्षा प्रणाली पनि उत्तिकै दोषी रहेको उल्लेख गरे ।
नगर शिक्षा अधिकृत मीन प्रसाद उपाध्यायले विद्यार्थीको सिकाइ सुधारको लागि सबैभन्दा महत्वपूर्ण भूमिका नै शिक्षकको हुने भएको कारण शिक्षकको पेशागत विकासका लागि शिक्षा शाखाले आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नगरपालिका मेयर भारत थापाले आफ्नो दोस्रो कार्यकाल शैक्षिक सुधारको लागि समर्पित भएको कारण शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
बागमती नगरपालिकाले यस अघि नै प्रधानाध्यापकको नेतृत्व क्षमता विकास तालिम, सबै शिक्षकका लागि दश दिने आधारभूत कम्प्युटर तथा डिजिटल लिटरेसी तालिम आयोजना गरिसकेको छ ।



