नवलपरासी/९ बैशाख-सामुदायिक विद्यालयमा २०७४ देखि २०७९ सम्म करिब १० लाख विद्यार्थी घटेको खबरहरु छ्यापछ्याप्ती छापिएका छन् । तर, यो तथ्याङ्क हो, या मिथ्याङ्क कसैले प्रतिवाद गरेको छैन ।
देशको सामुदायिक विद्यालय ध्वस्त पार्न सरकारी निकायहरु नै लागि परेका छन् । २०४६ सालपछि आफ्ना कार्यकर्ताहरुलाई जागीर खुवाउन अन्धाधुन्ध सरकारी स्कुलहरु च्याउ झैँ स्थापना गरीए । २०४६ साल भन्दा अगाडि समुदायको ध्यान सामुदायिक स्कुलमा मात्रै थियो । निजी स्कुलहरुलाई राज्यले मन परी शुल्क असुलेर ब्यापार गर्ने अनुमती दियो ।
हाल केही थान सामुदायिक स्कुलहरुलाई नमूना स्कुल घोषणा गरेर सामुदायिक स्कुलहरु बिचमै विभेद गरेको छ । नमूना बनाइएका स्कुलहरुलाई बर्सेनि करोडौं रुपैयाँ लगानी गरिएको छ भने ग्रामीण क्षेत्रका गरीबका छोराछोरीहरुले पढ्ने स्कुलहरुमा न दरबन्दी छ न भौतिक सुविधा । धनी स्कुलहरु अझै धनी र गरीब स्कुलहरु अझै गरीब हुने अवस्थाको सिर्जना गरीएको छ ।
यसको मुख्य दोषी राज्य नै हो । सामुदायिक विद्यालयमा १७ थरी शिक्षकहरु नियुक्त गरीएका छन् । शिक्षकहरुलाई राजनीतिक दलको कार्यकर्ता बनेर दलको झोला र झण्डा बोक्दा भ्याइ नभ्याइ छ । राजनीतिक दलले नै उनिहरुलाई संरक्षण गरेका छन् । शिक्षकहरुको घर पायक जागीर पनि अभिशाप बनेको छ । पेशागत संगठनहरुलाई सामुदायिक स्कुलको शैक्षिक गुणस्तरमा भन्दा दलको चाकरी गर्न मै भ्याइ नभ्याइ छ । कसरी स्वार्थ पूरा गर्ने भन्ने ध्याउन्नमा उनिहरु तँछाडमछाड गरेका छन् । शिक्षकहरुको सेवा सुविधा कटौती गरीएको छ । दण्ड र पुरस्कारको कुनै व्यवस्था छैन । संघ,प्रदेश र स्थानीय पालिकाहरुका जनप्रतिनिधिहरु निजि स्कुलका लगानी कर्ताहरु छन् ।
निजी स्कुलसँग प्रतिस्पर्धा गर्नका लागि अधिकांश सामुदायिक स्कुलसँग भौतिक पुर्वाधारहरु छैनन् । २०० मिटरको दुरिमा ५÷७ वटा विद्यालयहरु खोल्ने अनुमती दिएर राज्यले नै सामुदायिक शिक्षा ध्वस्त पार्दै छ । कक्षा १० सम्म मात्रैको चासो दिएर कक्षा १२ पछिको विद्यार्थीहरुको अवस्था के छ भन्नेतिर कसैको ध्यान गएको छैन । देशमा राजनीतिक अस्थिरताको कारण शिक्षा क्षेत्र नराम्रो संग प्रभावित भएको छ । हालसम्म पनि २०२८ सालकै शिक्षा ऐन र २०५९ सालकै शिक्षा नियमावली सक्रिय छन् ।
शिक्षा कुनै पनि राजनीतिक दलको प्राथमिकतामा परेको छैन । सामुदायिक विद्यालयहरु चोर र राज्य संयन्त्र प्रहरी बनेर प्रतिद्वन्द्वी बनाइएको छ । न विद्यालयमा अनुगमन छ न कुनै सहजीकरण । राज्यको सामुदायिक विद्यालयको लगानी बालुवामा पानी बनेको छ । निजी स्कुलका लगानीकर्ताहरुले आफू पनि सामुदायिक स्कुलकै उत्पादन हो भन्ने बिर्सेर चरम ब्यापारीकरण गरेर आम्दानी गर्न कस्सिएका छन् । निजी स्कुलहरु बन्द नगरे सम्म सामुदायिक स्कुलहरु सुध्रनेवाला छैनन् । हाल जति पनि दक्ष जनशक्ति कार्यरत छन् ती सबै सामुदायिक स्कुलका उत्पादन हुन् भन्ने कुरा राज्यले बुझ्न ढिला नगरी देशमा रहेको दुई थरी शिक्षालाई एकै थरी बनाउन ढिला गर्नु हुँदैन ।
हाल सामुदायिक स्कुलमा रहेका १७ थरी शिक्षकहरु र तिनको पेशागत संरक्षण नगर्दा सम्म सामुदायिक स्कुलमा न त विद्यार्थीहरु वृद्धि हुन्छन् न त गुणस्तर वृद्धि हुन्छ । कक्षा १० उत्तीर्ण हुनु मात्रैलाई उपलब्धि ठानीएको छ । सामुदायिक स्कुलबाट उत्पादन गरीएका जनशक्तिहरु दिगो जनशक्ति बनेको कुरा बिर्सनु हुँदैन । सामुदायिक स्कुललाई गाली होइन, दरबन्दी र पुर्वाधार विकासमा लगानी गरौं । निजि स्कुलहरु बन्द गरौं । राज्यले शिक्षा क्षेत्रमा देखाएको उदासिनता नै सामुदायिक स्कुलको असफलताको मुख्य कारण हो । अब ढिला नगरी राज्यको ध्यान त्यतातिर जान जरुरी छ ।
कुसुम न्यौपाने (शिक्षक)
जनता मा वि मंगलचौर,अरुणखोला,नवलपरासी (पुर्व)



