नतिजा र एकेडेमिक कुराले दिन नसक्ने उत्कृष्ट शिक्षा सुदेशाले दिन सफल

ललितपुर/२८ माघ –ललितपुर महानगरपालिका उप प्रमुख मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा नख्खु, ललितपुर स्थित सुदेशा स्कूलले अभिभावक दिवस मनाएको छ । माघ २७ गते अभिभावक, विद्यार्थी, विद्यालय कर्मचारी विच अभिभावक दिवस मनाएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले आफुले महानगरपालिका भित्र खाजेको र साँेचेको जस्तो विद्यालय सुदेशा स्कूलमा पाएको बताइन । उनले विद्यालयको प्रशंसा गर्दै विद्यार्थीले प्राप्त गर्ने ग्रेडलाई भन्दा शिक्षण सिकाई र व्यवाहारीक शिक्षामा केन्द्रीत रहेर पठनपाठन गरेको बताइन । अहिलेको समय अनुसार विद्यालयले शिक्षा दिन सफल भएको र अभिभावकले ढुक्क भएर छोराछारीलाई पढाउन आग्रह गर्दै आफ्ना छोराछारी विद्यालयको समयमा खुशी हुन सकेका छन् की छैनन् र खुशी सँगसँगै उनीहरुको आफु भित्र भएको प्रतिभालाई बाहीर निकाल्न सकेका छन् की छैनन् ध्यान दिनुपर्ने भनाई राखिन् ।


त्यसैगरी विद्यालयका प्रिन्सिपल विरङ्गना महर्जनले विद्यालयले विद्यार्थीको ग्रेडमा भन्दा उनीहरुले कति सिक्न सके भन्ने कुरामा केन्द्रीत रहेको बताइन । विभिन्न दश विधाबाट विद्यार्थीलाई अवार्ड गरीएको र त्यो अवार्ड उनीहरुकै प्रतिभा अनुसार नामाकरण गरिएको बताइन । साथै शिक्षालाई जीवनसँग जोड्न विद्यालयले विगतका वर्षहरु देखि नै प्रोजेक्ट बेस्ड लर्निङको अभ्यास गर्दै आएको बताइन ।


अतिथि सिङ्गी लोहोमीले नतिजा र एकेडेमिक कुराले दिन नसक्ने उत्कृष्ट शिक्षा सुदेशा स्कूलले दिन सफल भएको बताए । विद्यालयले प्रतिस्पर्धालाई भन्दा पनि सामुहिक कार्यलाई बढी जोड दिएको बताउँदै बहुआयामिक प्रतिभालाई विशेष महत्व दिएको बताए । प्रत्येकसँग फरक फकर प्रतिभा हुने र त्यो प्रतिभालाई उजागर गर्ने क्रियाकलाप विद्यालयले गरेकोमा खुशी व्याक्त गरे ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु लोहनीले विद्यालयले विशिष्टताका लागि अभ्यास गर्ने संस्थाका रुपमा २०४१ सालमा स्थापना भएको बताए । उनले यो व्यक्तिका रुपमा नभई संस्थाको चरीत्र बोकेकोे विद्यालय भएकोले व्यक्ति परिवर्तन भएर केही फरक नपर्ने तर विभिन्न परिवर्तन सँगै विद्यालयको मुख्य उदेश्यलाई विशिष्टताका लागि निरन्तर प्रयत्न गर्नुपर्नेमा जोड् दिए ।


विद्यालयले धुलोलाई कार्पेटले छोप्ने भन्दा पनि जे छ, जस्तो छ, त्यसैलाई देखाउने मान्यतामा विश्वास राख्नु पर्ने र सुदेशाले त्यसैकोे मान्यतामा विश्वास राखेर अगाडी बढेको बताए ।


उनले अभिभावकसँग आग्रह गर्दै विद्यलय विद्यार्थीको ठेकेदार नभएको र विद्यार्थीको सम्पुर्ण जिम्मेवार लिन नसकिने, कसैले पनि लिन नसक्ने धारणा व्यक्त गरे । अध्यक्ष लोहनीले भने “विद्यालय र विद्यार्थीको असल भविष्यको लागि विद्यालय र अभिभावकले साझेदारी गर्न सकिन्छ । त्यो साझेदारीमा विद्यालयले संस्थाको रुपमा नेतृत्वदायी भुमिका लिन सक्छ । तर, अभिभावकलाई सबै कुरामा ढुक्क भएर रहनुहोस सबै हामी गरिदिन्छौं भनेर भन्न सकिदैन । सहकार्य गर्नुपर्छ । यो पेशामा रहेका कारण हामीसँग केही बढी सूचना रहेछन् भने, केही बढी खोज्न सकेका रहेछौं भने ति कुरा अभिभावकहरुसँग अन्तरक्रिया गर्दै अगाडी बढ्छौं ।”