इन्जिनियरिङ शिक्षाको पाठ्यक्रममा एकरुपता ल्याउन आवश्यक छ

काठमाडौं/२८ पुस-उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु विदेश पलायन हुने संख्या दिनानुदिन बढ्दै गइरहेको देखिन्छ । स्वदेशका विश्वविद्याल प्रति विद्यार्थीको आकर्षण नहुनु र विद्यार्थीहरु भविष्य निर्माणका लागि विदेशी विश्वविद्यालय जानुले नेपालका विश्वविद्यालयलाई चुनौतिका रुपमा बुझ्न सकिन्छ । राम्रा र उत्कृष्ट भनिएका विषयमा पनि कोटा खालि हुनुले विश्वविद्यालयको आगामी बाटो सहज देखिदैन । यीनै विषय लगाएत पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ शिक्षाका बारेमा इन्जिनियरिङ्ग संकायका डीन प्रा.देवीप्रसाद भट्टराईसँग गरीएको संवाद :


नेपालको इन्जिनियरिङ शिक्षामा प्रयाप्त कोटा हुँदाहँदै पनि विद्यार्थी विदेशमा इन्जिनियरिङ अध्ययनमा जाने गरेका छन्, यसको कारण के हो ?


उच्च शिक्षाका लागि विदेश अध्यायन गर्न जानु एउटा ग्लोवल फेनोमेना नै हो । यसलाई निमिट्ट्यान्न पार्न सकिन्न तर कम गर्न भने सकिन्छ । भारतबाट मात्रै वर्षेनी १५ लाखभन्दा वढी विद्यार्थी पढ्न जान गरेको तथ्याङ्क छ र सन २०२४ सम्ममा १८ लाखपुग्ने अनुमान गरिएको छ । नेपालबाट पनि वर्षेनी हजारांैको संख्यामा भारत र अन्य विकसित मुलुकमा इन्जिनियरिङ पढ्न गएको देखिन्छ । यसका प्रमुख कारणहरु निम्नानुसार छन ।


१. मुख्य कारण विदेशमा शिक्षासँगै विभिन्न रोजगारीका अवसर प्राप्त गर्नु हो र आफ्नो
सामाजिक हैसियतलाई सुधार गर्ने अवसर पनि हो ।


२. आफुलाई मन पर्ने विभिन्न विधाहरु जस्तै एरोनेटिक्, पाइलट, टेक्स्टाइल, रेल्वे जस्ता विषयहरु यहाँ
पढाइ नहुनु पनि हो ।


३. कुनै कुनै विषयमा सिमित सिट उपलब्ध हुनु पनि हो ।


४. विदेशमा अध्यायन गर्दा नयाँ भाषा, अरुको संस्कृति, स्वतन्त्ररुपमा जिवन जिउन पाउने र संसारलाई नजिकबाट बुझ्न पाउने हुनाले ।


५. आफ्ना सिनियर र परिवारका सदस्यहरुले विदेशमा आफुले हासिल गरेको सफलताबाट प्रेरित भएर ।

नेपालको इन्जिनियरिङ शिक्षामा व्यवहारिक ज्ञान भन्दा सैद्धान्तिक पढाई धेरै हुन्छ र अवसर पाइदैन त्यसकारण नेपालको इन्जिनियरिङ शिक्षा प्रति विद्यार्थीको आकर्षण घटेको भनिन्छ, सत्य हो ?


नेपालमा इन्जिनियारिङ शिक्षाको विशेषगरी स्नातक तहको पढाइ सुरु भएका सुरुवातका दशकमा निश्चय पनि व्यवहारिक भन्दा सैद्धन्तिक बारेमा बढी जोड दिएको पाइन्थ्यो । किनकी त्यसवेला साधन र स्रोतको कमि, पुरानो पाठ्यक्रम्, दक्ष र उच्च अध्यायन गरेका जनशाक्तीको अभाव आदी थियो । तर हालका वर्षहरुमा पाठ्यक्रम परिमार्जन भएका छन , परिमार्जित पाठ्यक्रममा सैद्धान्तिक भन्दा प्रयोगआत्मक, कक्षा कोठामा भन्दा फिल्ड को अध्ययन र केस स्टडी जस्ता विषयलाई जोड दिएको छ । तेस्तै ईण्डष्ट्रियल ओरिएन्टेसनको व्यवस्था गरिएको छ । हाल कोरोनाको विश्वव्यापी असार पछी अनलाईन माध्यमबाट पठनपाठन सुरु गरिएको छ । विश्वविद्यालयले पनि शिक्षाको स्तर कायम राख्न नियमित रुपमा अनुगमन गरी रहेको हुन्छ । तर पनि साधन र श्रोतको हिसबमा हामी विदेशी विश्वविद्यालयको दाजोमा निकै नै पछाडी छौं ।


नेपालको इन्जिनियरिङ शिक्षा पढ्न गाह्रो पनि महँगो पनि भन्छन् यसलाई कसरी हेर्नु भएको छ ?


जति बढी व्यवहारिक र प्रयोगात्मक विधि अपनाएर अध्ययन गरायो उति सहज तरिकाले बुझ्नु हुन्छ । सिद्धान्त मात्र रटाएर र त्यसकै आधारमा मुल्यांकन गर्ने परिपाटी रहेमा इन्जिनियरिङ शिक्षा अझ पनि गार्हो हुन्छ । तर पहिलेको तुलनामा हाल प्रयोगात्मक विधि, फिल्ड भिजिट र अनुसन्धान विधिमा बढि जोड दिने गरिएकोले इन्जिनियरिङ शिक्षा तुलनात्मक रुपमा सजिलो भएको छ ।


तर अझै पनि हाम्रो परीक्षा प्रणालीलाई अनवरत मुल्यांकन प्रणालीमा नलगुन्जेल यहाँ उर्तीण गर्न कडै मेहनत गर्नु पर्ने हुन्छ । नियमित रुपमा व्याक पेपर वा बेटरमेन्ट परीक्षाको व्यवस्था गर्न नसक्दा विद्यार्थीको उर्तीण प्रतिशत कमै देखिन्छ । त्यसैले पठन पाठन कार्यमा व्यापक सुधार भएता पनि मुल्यांकन पद्धतिमा सुधार नहुँदा अपेक्षित सफलता हासिल नभएको हो ।


सबै विश्वविद्यालय इन्जिनियरिङ शिक्षाको पाठ्यक्रममा एक रुपता ल्याउन कस्तो नीतिको आवश्यक छ ?


इन्जिनियरिङ शिक्षाको पाठ्यक्रममा एक रुपता ल्याउन विभिन्न विश्वविद्यालयका इन्जिनियरिङ संकायका वीच समन्वय र सहकार्यको आवश्यकता छ । सो सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगले हालैका दिनमा केहि अग्रसरता देखाएको छ र प्रस्तावित डीन फोरम मार्फत नीतिगत सुधार गर्नु पर्ने कुरा आएको छ । यो फोरम बनेर कामगर्न सके पाठ्यक्रममा एकरुपता कायम हुने देखिन्छ ।


त्यसै गरि प्रत्येक विश्वविद्यालयले नियमित रुपमा (प्रत्येक ५ वर्ष मा) आफ्नो पाठ्यक्रमलाई पुनरावलोकन गर्न आवश्यक छ । अन्तर विश्वविद्यालयवीच फ्याकल्टीको आदान प्रदान हुन् सके एकरुपता ल्याउने कार्यलाई मद्दत पुर्याउछ । त्यसै गरि राष्ट्रिय र अन्तराष्ट्रिय बजारको मागलाई ध्यान दिएर नयाँ कार्यक्रम स्थापना गर्न सके स्वदेश मै विद्यार्थीको थप आकर्षण वढने देखिन्छ ।


इन्जिनियरिङ अध्ययन पश्चात विद्यार्थीले आफ्नो करीयरलाई कुन कुन क्षेत्रबाट सुरक्षित गर्न सक्छन् ?


इन्जिनियरिङ अध्ययन पुरा गरे पश्चात धेरै प्रकारका अवसरहरु छन । कुन चै अपनाउने भनेर कन्फ्युज पनि हुन् सकिन्छ । इन्जिनियरिङ्ग अध्ययन पश्चात विद्यार्थीहरु लोकसेवामार्फत प्राविधिकतर्फका सरकारी नोकरी, अर्धसरकारी तथा गैरसरकारी संस्थामा नोकरी, प्राविधिक व्यवस्थापक, उद्यमशिलता, विश्वविद्यालयमा प्राध्यापन लगायतमा रोजगारको अवसर प्राप्त गर्न सकिन्छ ।


पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा कुन अर्थमा फरक छ र विद्यार्थीले छिटै अवसर पाउन सक्छन् ?
हामी कहाँ भएका केहि कार्यक्रमहरु अन्यत्र छैनन् वा कम मात्रमा छन्, जस्तै बायोमेडिकल र जियोमेटिक इन्जिनियरिङ । हाम्रो परिमार्जित पाठ्यक्रम अत्याधुनिक छ र हाल विद्यार्थी भर्नादेखि, शैक्षिक सत्र संचालन तथा परीक्षा सञ्चालनसम्म शैक्षिक क्यालेण्डर अनुसार भै रहेकोछ ।


त्यसैगरी परीक्षाको नतिजा समयमा प्रकाशन गर्ने तर्फ विश्वविद्यालय केन्द्रित हुन सकेमा राम्रो विश्वास आर्जन गर्न सकिनेछ । इन्टर्नसिपलाई पाठ्यक्रमको अंगको रुपमा राखिएको छ , त्यसैले क्याम्पसमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सघाउँछ ।
हाम्रा कलेजहरु मध्ये १२ वटा काठमाण्डौं उपत्यकामा र वाँकी ५ वटा तराईका विभिन्न शहरहरु जस्तैः बिर्तामोड, बिराटनगर, जनकपुर र चितवनमा अवस्थित भएकोले नेपालका विभिन्न भागबाट पढन आउने विद्यार्थीका लागि सर्वसुलभ छन् ।

विश्वविद्यालयका आगामि योजना के के छन् ?


आगामी योजनाहरुमा
– स्नातकोत्तर तहका कार्यक्रमलाई परिमार्जन र पुनरावलोकन गर्ने ।


– देश तथा विदेश मा माग रहेका विषयहरुमा स्नातकोत्तर तहमा नयाँ कार्यक्रम सञ्चालन गर्ने ।


– एकेडेमिक क्यालेण्डरलाई थप तदारुकताका साथ् पालना गर्ने गराउने ।


– ३ वर्ष भित्रमा प्रवेश परीक्षालाई कम्प्युटर प्रणालीमा आधारित बनाउने ।


– आंगिक क्याम्पसको पूर्वाधार (भवन, लाइब्रेरी , कम्प्युटर ल्याब)को विकासमा जोड दिने ।


– सम्बन्धन प्राप्त कलेजमा नियमित अनुगमन गरि इञ्जिनियरिङ्ग शिक्षालाई गुणस्तरीय र मर्यादित बनाउन ध्यानदिने ।


– इञ्जिनियरिङ्ग संकाय र औद्योगिक प्रतिष्ठान विच एमओयु गरि सहकार्यको विकास गर्ने ।


– राम्रो नतिजा ल्याउने स्कुल कलेजलाइ पुरस्कारको व्यवस्था गर्ने र परिक्षाफल सुधार्ने कार्यलाई प्राथमिकता दिइने ।

– देश विदेशका विश्वविद्यालयसँग सहकार्य गर्ने तथा फ्याकल्टि एक्स्चेन्ज जस्ता कार्यक्रमलाई अगाडी बढाउने ।


– अनुसन्धानलाइ प्रोत्साहान गर्न जर्नल, वर्कसपको नियमित रुपमा आयोजना गर्ने ।


जय पूर्वाञ्चल विश्वविद्यालय ।