काठमाडौं/४ जेठ-पोखरेल शिक्षा भनेकै धर्म, आत्मज्ञानको मर्म, परानुभूति र सहानुभूतिको संयोजन तथा त्याग र निस्वार्थको सेवा जन्य वस्तु हो , व्यवसाय होइन भन्ने मान्यता राख्ने व्याक्ति हुन् । संविधान, ऐन कानून र राजनीति नारामा एउटा कुरा लेख्ने तर, व्यहारमा ठीक उल्टो गर्ने राज्यको राजनीतिक प्रगती तथा राजनीतिक पार्टिहरु प्रति तीब्र प्रहार र पश्न नै प्रश्न उठान सक्ने र आफ्ना कुरामा अडिग रहने व्याक्ति पनि हुन । उनले हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा विगात १६ महिनादेखि मुलुकको जनशक्ति विकास नीति, योजना, विषय क्षेत्रगत जनशक्ति आवश्यकता पहिचान, प्रक्षेपण र कार्यान्वयन मापदण्ड र कार्यविधि निर्माण र कानूनी मान्यता स्थापित गर्न, गराउन संघर्षशील व्याक्ति पनि हुन । उनै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव इश्वरी प्रसाद पोखरेलसँग खबर एजुकेशनले गरेको संवाद । साथै यो तेस्रो भाग हो भने बाँकी भागहरु क्रमशः आउनेछन् ।
विद्यालयको अध्ययनमा निरन्तरता दिन प्रधानाध्यापक स्वीकानु भयो ?
सर्वप्रथम यो माध्यमिक विद्यालयको स्थापनाबाट प्रत्यक्ष लाभ उठाएका सबै भूगोल क्षेत्रको भ्रमण गर्ने निर्णयमा पुगेँ । सुर्खेतका मेहेली, गर्पन, पाम्का, रतु तथा ती सम्बद्ध आसपासका सबै गाउँटोल, बस्तीमा पुगेँ । दैलेखको लालीकाँडा, डाँडा पराजुल, जोरेबाँझ आदि क्षेत्रमा पुगी वैयक्तिक र सामूहिक भेला आदिमा विद्यालय सञ्चालनमा सिर्जित समस्या प्रकट गर्ने र समाधानका लागि रायसुझाव र आर्थिक स्रोतको लागि अनुरोध गर्ने कार्यमा तीव्रता दिएँ ।
शिक्षकहरुले कार्तिकदेखि तलब नपाएका, राम्रा तथा क्षमताशील विद्यार्थीहरु बाहिरिएका, आमजनसमुदायमा आशंका नै आशंका भएको बेला विद्यालयलाई पुनर्जीवन दिने प्रतिवद्धताका साथ नेतृत्व सम्हाल्नु कम चुनौतीपूर्ण थिएन ।
गाउँगाउँका समाजसेवी, जनप्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरु सबैको न्यानो माया र सत्कारले छिटै धेरै आत्मबल बढाइदियो । फलतः जागिर नै छोडेर काठमाण्डौँ पढ्न जाने विचारलाई तत्कालका लागि स्थगित गर्दै तलबभत्ता र भविष्यको सुनिश्चितता नभएको विद्यालयको प्रधानाध्यापकको पदमा २०४५ फाल्गुण ५ गते बहाली गरेँ । शिक्षकहरुले कार्तिकदेखि तलब नपाएका, राम्रा तथा क्षमताशील विद्यार्थीहरु बाहिरिएका, आमजनसमुदायमा आशंका नै आशंका भएको बेला विद्यालयलाई पुनर्जीवन दिने प्रतिवद्धताका साथ नेतृत्व सम्हाल्नु कम चुनौतीपूर्ण थिएन ।
प्रधानाध्यापक भएपछि के कदम चाल्नु भयो ?
पद बहालहुना साथ स्थानीय शिक्षकहरुलाई केही समय धैर्य गर्न, घर पायक नभएका र जिल्ला बाहिरका शिक्षकहरुलाई कम्तिमा खानपिन र पकेट खर्चका लागि तलब भत्ताको एक चौथाई रकम तत्काल भुक्तानी गर्न व्यवस्था मिलाएँ । विद्यार्थीको स्रोतलाई बलियो बनाउन आमजनसमुदायलाई कुनै पनि बच्चा घरमा नराखी विद्यालय पठाउन र सहयोगी हुन अनुरोध गरेँ ।
भूगोलमा दूरीकाअन्यजिल्ला, गाउपञ्चायत र गर्पन र रतुकासमेत आवतजावत गर्न नसक्ने विद्यार्थीहरुलाई छात्रावासमा बसी प्रयोग गर्ने दाउरा मेहेलीका स्थानीयले निःशुल्क उपलब्ध गराउने र सबै कक्षाका भाइबहिनीहरुले घरमा उपलब्ध हुने तरकारी, फलफूल आलो पालो घरबाट ल्याएर सहयोग गर्न दिनहुँ प्रार्थना गरिरहेँ । यसबाट विद्यार्थी भर्ना संख्या र नियमित कक्षा चलाउन सम्भव भयो, स्थानीयको सहयोग सोचेभन्दा बढी सकारात्मक नतिजा दिने गरी हुनथाल्यो । तर स्थायी समाधान कसरी ? आर्थिक व्यवस्थापनको प्रश्नको उत्तर कहीकतैँबाट पाइएको थिएन ।
विद्यालय नियमित सञ्चालन गर्न भएका प्रयासहरु के के रहे ?
विद्यालय सञ्चालनको पिडा र व्यवस्थापनको तनाव दिनहुँ बढेको बढ्यै थियो । स्थानीय हुन् वा बाहिरका सबै शिक्षकहरुको एकहोरो रटान तलब भुक्तानी कहिले हुन्छ ? भोको पेटमा पढाउन जाँगर नै छैन, आदि इत्यादिले २४ सैँ घण्टा सताउँथ्यो । सबै आर्थिक र व्यवस्थापकीय अवस्था सूक्ष्म मनन गरी मुख्य गरी गर्पन क्षेत्र र आवश्यकता भएका आसपासका सबै पञ्चायतका गण्यमान्य तथा समाजसेवी र प्रधानपञ्च, उपप्रधानपञ्च, वडाध्यक्ष, सबै आसपासका विद्यालयका प्रधानाध्यापक, वि.व्य.स. र शिक्षक, स्थानीय कर्मचारीहरु, बुद्धिजिवी र अभिभावकहरुको विशाल भेला २०४६ बैशाख ४ गते आदर्श माध्यमिक विद्यालय मेहेलीको प्रांगणमा आयोजना गरियो ।
विद्यालय सञ्चालनको पिडा र व्यवस्थापनको तनाव दिनहुँ बढेको बढ्यै थियो । स्थानीय हुन् वा बाहिरका सबै शिक्षकहरुको एकहोरो रटान तलब भुक्तानी कहिले हुन्छ ? भोको पेटमा पढाउन जाँगर नै छैन, आदि इत्यादिले २४ सैँ घण्टा सताउँथ्यो ।
प्रधानपञ्च निर्मलप्रसाद ढकाल, उपप्रधानपञ्च……, जिल्ला पञ्चायत इलाका सदस्यहरु गंगाबहादुर ढकाल तथा हरिप्रसाद ढकाल, स्थानीय प्रबुद्ध व्यक्तित्वहरु श्रीप्रसाद ढकाल, थिरबहादुर ढकाल लगायतका दर्जनौँ समाज अगुवा तथा सयौँ अभिभावकहरु बीच दिनभर छलफल चलिरह्यो । तर आर्थिक स्रोत निर्धारणका लागि चन्दा संकलन मापदण्ड निर्माण र उठाउने प्रक्रियाको विषयमा विवाद नै विवाद भयो ।
भेलाबाट कसरी आर्थिक सहयोग जुट्न सक्यो ?
आम भेला कुनै निचोडमा पुग्न नसकेपछि, आमअभिभावक र विद्यार्थीलाई यो वर्ष कुनै पनि हातलमा विद्यालय सञ्चालन हुन्छ, म आफू निःशुल्क सेवा गर्दछु र आजसम्म बाँकी रहेको मेरो तलब भत्ता रु ५५ सय विद्यालयलाई चन्दा दिने घोषणा गर्दछुु भनी सभामा उद्घोष गरेँ । फलतःत्यो घोषणाले जादुको कामग¥यो, स्थानीय शिक्षक, बाहिरबाट गएका सबै शिक्षकहरुले आ—आफुले पनि सक्दो र रुचिअनुसारको दुई, एक महिना, १५ दिन जस्ता तलब चन्दा दिने घोषणा गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुरले सुर्खेत देउती बजै मन्दिर निरको आफ्नो वैयक्तिक खेत बेचेर भएपनि शिक्षक कर्मचारीको तलब भत्ता भुक्तानी गर्ने छु भनी तमसुकमा सहीछाप लगाएर विद्यालयमा दिए । सबै सबै अन्य मनिस किंकर्तव्यविमुढ भएर भावुक हुँदै गए ।
आर्थिक मितव्ययिता र सहयोगका आधारहरु के के ठान्नु भयो ?
२०४५ सालमा ५५ सय विद्यालयलाई चन्दा दिने घोषणा चानचुने कुरा थिएन, बुटवलको राम्रो स्थानमा घडेरी र मधेशको कुनै गाउँमा बिघा जमिन किन्न सकिन्थ्यो । त्यतिबेला सरकारले तोकेको माध्यमिक प्रधानाध्यापकको मासिक तलब रु २२३५। थियो । त्यस पूर्वका प्रधानाध्यापकले २०३९ सालदेखि सरकारले तोके बमोजिमको तलब भत्तामा विद्यालयबाट रु ५७५। थप गरी मासिक रु २८१०। बुझ्दा रहेछन् । विद्यालयको आर्थिक सबलीकरण नभएसम्म माध्यमिक शिक्षकको मासिक तलब रु १६९३। मा प्रधानाध्यापकको काम गर्ने वचन दोहोराएँ ।
जिल्ला शिक्षा छनौट समिति सुर्खेतले माध्यमिक शिक्षकका रुपमा जनसेवा माध्यमिक विद्यालय सहारेमा नियुक्तिपत्र पठायो । तर जिल्ला शिक्षा समिति अध्यक्ष तथा जिल्ला पञ्चायत सभापति, जिल्ला शिक्षा अधिकारी हिराप्रसाद ढकाल, जिल्ला स्तरका राजनैतिक व्यक्तित्वको सहमतिमा आदर्श मावि मेहेली र जनसेवा मावि सहारे दुवैतर्फका विद्यालय व्यवस्थापन समितिको सिफारिसमा मलाई अर्को व्यवस्था नभएसम्म आमावि मेहेलीमा काज राख्ने र जसेमाविमा कार्यरत शिक्षक स्थानेश्वर पाण्डेलाई जागीरबाट नहटाउने निर्णय भएअनुसार सञ्चय कोषको सरकारले दिने बाहेकको पचास प्रतिशत कोषको रकम आफ्नै तलबबाट जम्मा गर्ने र विद्यालयलाई कुनै आर्थिक भार नपार्ने घोषणा जनसभाबाट निर्णय पारित गराएँ ।
आर्थिक सहयोगका विधिहरु के के अवलम्बन र जनतालाई आश्वस्त पार्न सक्नु भयो ?
विद्यालय सञ्चालनका लागि मैले गरेको त्यो निर्णयबाट गर्पनका सम्पूर्ण जनसमुदाय म प्रति पूर्ण आश्वस्त तथा विश्वासमा पुगे । तीन चार महिना पछि कतिपय राम्रा विद्यार्थीहरु जन मावि वीरेन्द्रनगर तथा अमर ज्योति मावि नेवारेबाट आदर्श मावि मेहेलीमा फर्किए । त्यसबेलाका कतिपय विद्यार्थीहरु अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत, जर्मन, जापानतिर छन् । नेपालमा पनि मध्यपश्चिम विश्वविद्यालयमा एैश्वर्य ढकाल, रुपलाल ढकाल, सुर्खेत मेडिकल कलेज आयोजनाका विद्यमान प्रमुख हेमकुमार ढकाल, जनमाविका शिक्षक बालानन्द अधिकारी, आदर्श मावि मेहेलीका अंग्रेजी शिक्षक देवीप्रसाद पराजुली जस्ता दर्जनौँ भाइ, बहिनीहरु विभिन्न सरकारी तथा शैक्षिक क्षेत्रमा आज पनि आवद्ध छन् । ती सबैले मलाई साथदिन र सहयात्रा गर्न तयार भए र विद्यालयको पहिलो खम्बा विद्यार्थीको अभावलाई हटाइदिए । विद्यार्थीको विश्वास र अभिभावकको आशाले विद्यालयको भविष्य सुनिश्चित हुने आश्वस्त हुन सकियो ।
आर्थिक संकलनमा सबैको साथ र सहयोग जुटाउन कसरी लाग्नु भयो ?
आफूले त्यागेपछि सबैको साथ र सहयोग जुटाउन पनि सजिलो हुँदोरहेछ । गुल्मीको मान्छे, सुर्खेतको गाउँको विद्यालयको सञ्चालन र सुरक्षार्थ एकातिर दुई तिन महिनाको तलब बराबर रु ५५ सय चन्दा अर्कोतिर प्रत्येक महिना १५ सय, दुई हजारको कम रकममा नेतृत्वदायी काम गर्न तयार को पाइन्छ र ? अझ विद्यालय नियमित सञ्चालन गर्न आर्थिक सहयोग संकलनका विधिहरु धेरै हुँदारहेछन् । अझ पाँच वर्ष सञ्चालन भएर आर्थिक संकटका कारण बन्द हुन थालेको विद्यालय पुनः सुचारु गर्ने चुनौतीको काम थियो ।
मैले डाँडाँको स्कुल भरेंग चढेझैँ माथि उक्लने, ओराली र उकाली गर्दै, भीरपाखा नभनी साझ चार बजेदेखि अर्को दिन बिहान १० बजेसम्म खान,बस्न ठेगान विहिन अवस्थामा विद्यालय सञ्चालनको आर्थिक स्रोतका लागि प्रत्येक गाउँ, टोल, घरमा पुग्दा जनताका आँखामा हर्षका आँसु र सहयोगका हात पाएँ ।
आर्थिक संकलनमा कुनै रोचक घटना छन् कि ?
त्यति बेलाको घटना सम्झिन्छु, गर्पन भन्ने स्थानमा एक जना राना परिवारका वृद्ध थिए । उनीसंग आजका मितिसम्म कसैले कुनै चन्दा र सहयोग लिन सकेको छैन । प्रधानाध्यापक पोखरेलले के गर्लान् ? जतासुकैबाट उठ्ने र सुनिने प्रश्न धेरै गम्भीर तथा चुनौतीजन्य लाग्यो । गर्पनका उपप्रधानपञ्चको घरको नजिकमा रानाजीको घर रहेछ । मेरो बसाइका लागि उपज्यूको गहिरो माया र सुमधुर स्वागत हुँदाहुँदै माफ गर्नुहोला आज म रानाजीको घरको पाहुना हुँ । अन्यत्र सहृदयीको घरमा बस्न अनुमति छैन भन्दै, उनै रानाजीलाई उकुस मुकुस पार्ने र लक्ष्य साधना गर्ने सोचमा थिएँ ।
रानाजीको घरको मुख्य सम्पत्ति पाँच छ वटी छोरीहरु तथा उनीहरुको गोठाला गिरीमा पालिएका खोरका ४०/५० बाख्रा रहेछन् । उनै गाउँ ठाउँका गोठाले पशुकाधनी रानाजीको घरमा नै साँझ बास बस्न पुगेँ । रानाजीसँग विद्यालय, शिक्षादीक्षा, सामाजिक चन्दा, सहयोग, मानवीयकाम कर्तव्य र आफ्ना छोरीहरुको शिक्षा प्रतिको उदासिनता आदि विषयमा लामो कुराकानी चल्यो, सवाल जवाफ पनि धेरै नै भयो । राति करीब आठ बजे रानाजीले हातमा टर्च लाइट बाल्दै मलाई आउनु होस् भन्दै बाख्रा खोरमा लैजानु भयो । मेरो श्रीसम्पत्ति यही हो, जुन उपयुक्त ठान्नु हुन्छ, त्यही समाउनुहोस् मैले राजीखुशीले भण्डारको साँचो तपाईलाई दिएँ । यो लग्नुस्, त्यो लग्नुस्, यो नलग्नुस् मैले भनिनँ भन्दै टर्चलाइट मेरो हातमा दिनु भयो ।
सहयोग जुटाउन सबैको स्वार्थले कसरी सजिलो पारिदियो ?
भण्डारको साँचो हातमा परेपछि, म आफू ठूलो संकटमा परेँ । तर अविवेकी निर्णय गरिनँ होला, त्यस घर तथा क्षेत्रको बेठको बोकालाई छाडेर दोस्रो खसीमा मन गरेँ । खुशी साथ रानाजीले अर्पित गर्नु भयो । रातिको खानपिन वहाँकै घरमा गरी उपप्रधान पञ्च ज्यू कहाँ सुतेर एका बिहानै खसी डोहो¥याएर ठिक बिहान ९.४५ बजे विद्यालयमा पुग्दा सफलताको सगरमाथा चढेझैँ भएको थियो । त्यति बेला खसीको मासु रु ५०। मा एक केजी बिक्दथ्यो ।
प्राथमिक शिक्षकको तलब रु ९०२ निम्न माध्यमिक १,०७५ जस्तो लाग्छ र माध्यमिकको १,६९३ शायद रानाजीको घरबाट ल्याएको खसी रु ३१ सयमा बिकेको थियो । पोख्रेलले राना कहाँबाट खसी लगेर ३१ सयमा बिक्री गरे रे ? भन्ने समाचार वनको डडेलोझैँ चारैतिर फैलिएछ ।
प्राथमिक शिक्षकको तलब रु ९०२ निम्न माध्यमिक १,०७५ जस्तो लाग्छ र माध्यमिकको १,६९३ शायद रानाजीको घरबाट ल्याएको खसी रु ३१ सयमा बिकेको थियो । पोख्रेलले राना कहाँबाट खसी लगेर ३१ सयमा बिक्री गरे रे ? भन्ने समाचार वनको डडेलोझैँ चारैतिर फैलिएछ । पोख्रेल गाउँमा नै नपसोस्, गाउँमा पसे पनि आफ्नो घरको तगालो भित्र न आओस् भनी कतिपयले विद्यालयमा नै आएर मेरो हैसियत यत्ति हो भन्दै चन्दा लेखाए, दिए । कति मानिसले गाउँको तगालोमा नै सानासाना पाठापाठी वा चन्दाको रकम दिन भ्याए । कतिपयले घरमा नै स्वागत गरी बसाएर राजी खुशीले सम्झौता गरी खसी, बोका, बच्चाहरु तथा नगद पनि दिए । यसरी दिइएका धेरै साना बाख्राहरुलाई पछि लैजाने गरी आमाकै दुधखुवाउन र पालेर ठूलो बनाएर विद्यालयमा बुझाउन छाडियो । बिरानो ठाउँ, एक्लै हिडेको र थालेको अभियानमा नसोचेको र नजुटेको अद्भूत सहयोग पाइयो । साँच्चै विद्यालय केही नगद धन ५६ हजार तथा एक सय चवालीस खसी, बोका, पाठापाठीको धनी हुन पुग्यो ।
विद्यालयमा बाख्रा व्यवस्थापन पक्ष के कस्तो रह्यो ?
साँच्चै लक्ष्मीजी, उत्साह पूर्वक गरिएको बाख्रा संकलन र जम्मा भएका बाख्रा व्यवस्थापन नै विद्यालयका लागि ठूलो समस्या हुन गयो । स्थायी व्यवस्थापन गर्न एक बाख्रा प्रति महिना रु १०। पालन खर्च वर्षको रु १२०। दिने गरी ५÷७ घरमा बाख्रा जिम्मा लगाइयो । पाँच सात महिनामा बाख्रा पालन खर्च १० हजार नाघ्यो । एका तिर तत्काल कुनै आम्दानी भएन, उल्टो खोइरो लाग्यो, बाघले यतिवटा बाख्रा मा¥यो, खायो, यतिवटा बिमार भएर मरे । नूनखान पाएनन् र पोषण पुगेन भन्ने समाचार आइरह्ने अर्कोतिर मासिक रु १०। मा बाख्रा पाल्न सकिन्नँ भन्ने गुनासो आइरहन थाल्यो ।
बाख्राको निरीक्षण गर्दा दुब्लाएर सकिएका, बगाल वृद्धिको सम्भावना नदेखिएको जस्ता अनेकौँ पक्ष सामना गर्नुप¥यो । फलत : केही राम्रा र भविष्यको सम्भावना भएका बाख्राको समूह छुट्याएर राखी, अन्यको हकमा बाध्य भएर वीरेन्द्रनगरबाट मासु व्यापारीलाई झिकाएर आँखाबाट आँसु चुहाउँदै, शायद एक मुष्ट ६५ हजारमा सत्तरी हाराहारीका बाख्रा सुम्पिएको घटना सम्झिन्छु । गाउँमा आमाका साथ छाडिएका र उठाउन बाँकी रहेका बाख्राहरु तथा बुच्चडलाई नदिएर छनौट गरी पाल्न राखिएका बाख्राको इतिहास कहिलेसम्म रह्यो, त्यसबारे आफूले विद्यालय छाडे पछिको घटना मलाई पूर्ण जानकारी हुन सकेन ।
विद्यालय सञ्चालनमा सरकारको जिल्ला शिक्षा नेतृत्वको सहयोग कस्तो रह्यो ?
पञ्चायती व्यवस्थाको मुख्य लक्ष्य एशियाली आधारभूत मापदण्ड हासिल गर्ने र शिक्षा, स्वास्थ्यको आधारभूत सेवा सुविधा वाड वाडमा विस्तार गर्ने प्रयोजनमा जतासुकै वाड, टोलमा प्राथमिक विद्यालयहरु कक्षा १—३, १—५ का धमाधम स्थापना भइरहेका थिए । माध्यमिक, ठूला विद्यालय र धेरै दरवन्दी भएका प्राथमिक विद्यालयहरुबाट दरबन्दी कटौती गरी नयाँ स्थापना हुने विद्यालयहरुमा सरकारले दरवन्दी सहित शिक्षक पठाइरहेको थियो ।
आदर्श माध्यमिक विद्यालय मेहेलीबाट पनि पाँच प्राथमिक दरवन्दी मध्ये विद्यार्थी शिक्षक अनुपातका आधारमा दुई दरवन्दी काटिने परिपत्र थियो । जिल्ला शिक्षा अधिकारी हिराप्रसाद ढकाल मेरो रात दिनको खटाइ, गाउँगाउँको घुमाइ र सबैको सहयोग र साथमा बन्दभएको विद्यालय पुनः सञ्चालन भएको घटनाको समाचारबाट साँच्चै धेरै प्रभावित हुनु भएको रहेछ । भेटघाटमा एक दरवन्दी मात्र काटेर अन्यत्र लगिदिन्छु र चार दरवन्दी यथावत राखी एक प्राथमिक दरवन्दीको सहयोग सरकारका तर्फबाट हुन्छ भन्नु भयो ।
मैले विनम्रता साथ जिशिअलाई दरवन्दी निर्धारण समितिले निर्धारण गरेको मापदण्ड अनुसार दुवै दरवन्दी काटेर लगेपनि लग्नुहोस् तर मलाई प्राथमिक तह एक आइ ए शुुद्ध दरवन्दीको व्यवस्था मिलाइदिनु होस् भन्ने आग्रह गरेँ । जुनसुकै मापदण्डका आधारमा कुनै पनि अर्थमा दुइवटा दरवन्दी तपाईको विद्यालयबाट कटौतीहुने हो । तर ईश्वरी जी, तपाईको त्याग,श्रम र लगाव मात्र होइन आर्थिक लगानी, चन्दा सहयोग गरी बन्द भएको विद्यालयको पुनर्जागरण गरी कक्षा आठ दशको पठनपाठन गर्न, गराउन र आमजनताको साथ, समर्थन पाएर वाहवाहीको निरन्तरको सफलताको सूचनाबाट म धेरै प्रफुल्लित छु ।
तर ईश्वरी जी, तपाईको त्याग,श्रम र लगाव मात्र होइन आर्थिक लगानी, चन्दा सहयोग गरी बन्द भएको विद्यालयको पुनर्जागरण गरी कक्षा आठ दशको पठनपाठन गर्न, गराउन र आमजनताको साथ, समर्थन पाएर वाहवाहीको निरन्तरको सफलताको सूचनाबाट म धेरै प्रफुल्लित छु ।
यसर्थ मापदण्डमा जे भएपनि एक दरवन्दी जिल्ला शिक्षा समितिको निर्णयानुसार विद्यालयलाई राहत दिने निर्णय भएको हो । तपाई प्रधानाध्यापकको हैसियतले सरकारसंग मागेको एक आए ए तहको शुद्ध दरवन्दी हो । सुर्खेत जिल्लामा शैक्षिक योगदानमा खेल्नु भएको पुरस्कार स्वरुप ठान्नु होस् माग बमोजिमको एक दरवन्दी जिल्ला शिक्षा समितिको अनुमोदन हुनेगरी पाउनु भयो । म भोलि नै शिक्षा समितिको बैठकबाट निर्णय गराएर एक आइ दरवन्दी आदर्श माविलाई उपलब्ध गराउने छु । आफ्नो वचन कार्यान्वयन गरी, गराई अर्को दिनको दिउँसो नै शुद्ध दरवन्दीको पत्रसाथ मेरो प्रधानाध्यापक नेतृत्वलाई हौँसला बढाउने जिशिअ ढकाल मेरो स्मरणमा सधैँ रह्ने गरेका छन् ।
आदर्श माध्यमिक विद्यालय, मेहेली, सुर्खेतको स्थीरता र पुनः सञ्चालनमा जिशिअ ढकालको विवेकी नेतृत्वमा सरकारका तर्फबाट ठूलो सहयोग र सद्भाव रह्यो । तर २०४६ साल चैत्र २६ गते एकदलीय पञ्चायती व्यवस्थाको अन्त र बहुदलीय राजनीतिक प्रणालीको प्रारम्भ पछि ………….पोखरेलको नेतृत्व, विद्यालय र मुलुकको शिक्षा क्षेत्रमा के के भयो र शिक्षा पद्धति के कस्ता राजनीतिक घटना र मोडमा फस्यो, फसियो ? आफू राजनीतिक दलको कसरी शिकार हुँदै, देशको विद्यालय शिक्षा राजनीतिक स्वार्थमा ध्वस्त भएको पारिएको घटनाको कसरी भुक्त भोगी साक्षी हुँदै आए , तत्कालीन शिक्षा र दलीय राजनीतिको चर्चा अर्को खण्डमा संवाद गर्नेछौं।



