काठमाडौं /९ वैशाख-आजदेखि शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । कोरोना महामारी पछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दे आएको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्न लागेको हो ।
यो वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुनेछन् ।
त्यसैगरी नेपालीले जापानमा सञ्चालन गरेको एभरेस्ट स्कुलबाट २० विद्यार्थी सहभागी हुँनेछन् भने नेपालमा अध्ययनरत् ५ जना विदेशी विद्यार्थी पनि सहभागी हुँदैछन् । साथै प्राविधिक तर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा सञ्चालनका लागि २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ । बोर्डले नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको छ । परीक्षा बिहान ८ बजेबाट शुरू भई ११ बजे सकिनेछ ।



