साहित्य प्रति रुची जगाउन अक्षरा स्कुलमा बाल साहित्य महोत्वस

काठमाडौं /१ चैत-काठमाडौंको कागेश्वरी मनोहरा स्थित अक्षरा स्कुलले एक दिने बाल साहित्यिक महोत्सव सम्पन्न गरेको छ । बालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सोमबार ‘अक्षरा बाल साहित्य महोत्वस’ आयोजना गरिएको हो ।


२४ विद्यालयका करिब ७ सय विद्यार्थी सामेल भएको ‘अक्षरा बाल साहित्य महोत्वस’मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, चर्चित साहित्यकार अमर न्यौपाने लगायतका विभिन्न लेखक तथा व्यक्तिहरुको सहभागिता रहेको थियो ।


३ सत्रमा विभिन्न १३ वटा भाषा एवम् साहित्य शिक्षणसम्बन्धी भएको कार्यशालामा ४ हजार बढी दर्शकले अवलोकन गरेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरुले “लेखकसँग साहित्य संवाद”कार्यक्रम अन्तर्गत आफ्ना जिज्ञासा राखेका थिए । साथै जीवनमा साहित्यको महत्व, साहित्य प्रति रुची जगाउने, आफूलाई कसरी अभिव्यक्त गर्ने लगायतका विषयमा चर्चा गरीएको थियो ।


‘विद्यालयमा साहित्यिक कार्याक्रम हरेक हप्ता गर्दै आए पनि यसरी साहित्यक महोत्सव पहिलोपल्ट आयोजना गरिएको अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराईले बताइन । विद्यार्थी र अभिभावकमा साहित्य प्रतिको रुचि बढोस् र अध्ययनको संस्कार विकास होस् भन्ने चाहनाले विद्यार्थी अभिभावकसँग साहित्यिक महोत्सव मनाएको उनले बताईन ।


‘पाठ्यक्रममा आधारित पुस्तकले पेशालाई चाहिने सीप सिकाउँछ भने साहित्यले जीवन जीउने कला सिकाउँछ’उनले भनिन् । कार्यक्रममा अन्य विद्यालयका विद्यार्थी तथा अभिभावकहरुलाई पनि सहभागी गराइएको थियो ।